Logo

सिँचाइ सुविधा पुर्‍याउन पाइप विस्तार

दाङ– आकाशे पानीको भरमा खेती गर्दै आएका घोराही उपमहानगरपालिका–५ धर्नाका स्थानीयले सिँचाइ सुविधा पाउने भएका छन् । करिब एक करोड लागतमा सिँचाइका लागि डिप बोरिङ खन्नेदेखि पाइप विस्तारको काम अन्तिम चरणमा पुगेपछि स्थानीयले सिँचाइ सुविधा पाउने भएका हुन् । बृहत् दाङ उपत्यका सिँचाइ आयोजना अन्तर्गत निर्माण हुन थालेको सिँचाइ आयोजनाले धर्नाको ६० बिगाह क्षेत्रफलमा बाह्रै महिना सिँचाइ हुनेछ ।

यही वर्षदेखि सिँचाइ सुविधा पुर्‍याउने गरी पाइप विस्तारको काम भइरहेको सिद्धपालुङ डिप बोरिङ सिँचाइ आयोजनाका अध्यक्ष भुमबहादुर गिरिले जानकारी दिए । सिँचाइ सुविधा पुगेपछि स्थानीयलाई खेती गर्नसँगै माछापालन र पशुपालनका लागि सहजता हुनेछ । चार वर्षअघि निर्माण कार्य सुरु भएको सिद्धपालुङ डिप बोरिङ सिँचाइ आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको अध्यक्ष गिरिले बताए ।

२०७७ सालमा डिप बोरिङ खन्ने काम गरिए पनि बजेट अभावका कारण काम पूरा हुन सकेको थिएन । अध्यक्ष गिरिले भने, ‘चालु आर्थिक वर्षमा बृहत् दाङ उपत्यका सिँचाइ आयोजनाले ७० लाख रुपैयाँ दिएपछि डिप बोरिङबाट तानिएको पानीलाई किसानको खेतबारीसम्म पुर्‍याउनका लागि पाइप बिच्छाउने काम भइरहेको छ ।’ उक्त बजेटबाट सिँचाइका लागि पाइप विस्तारसँगै १८ वटा भल्प निर्माण गरिएको अध्यक्ष गिरिले बताए ।

६० बिगा जमिनमा पानी पुर्‍याउनका लागि ३० वटा भल्प आवश्यक रहे पनि बजेट अपुगका कारण यो वर्ष १८ वटामात्र निर्माण गरिएको उनले बताए । अध्यक्ष गिरिका अनुसार सिँचाइ आयोजनाका लागि बृहत् दाङ उपत्यका सिँचाइ आयोजनामार्फत २०७७ सालमा २७ लाख रुपैयाँ आएको र चालु आर्थिक वर्षमा ७० लाख रुपैयाँ आएको उनले बताए । सिँचाइ आयोजना सम्पन्न गर्नका लागि स्थानीयले पाँच लाख बराबरको जनश्रम दान गरिएको थियो ।

अध्यक्ष गिरिका अनुसार आयोजना सम्पन्न गर्नका लागि थप ६० लाख बजेट आवश्यक रहेको छ । बृहत् दाङ उपत्यका सिँचाइ आयोजनाले दाङ जिल्लाको ५६ हजार हेक्टर क्षेत्रफलमा खेतीयोग्य जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यअनुसार जिल्लाका विभिन्न ठाउँमा ३५ वटा जलाशय र ६३ वटा डिप बोरिङ खन्ने काम गरेको छ । जलाशय र डिप बोरिङ खन्नका लागि दुई अर्ब बढी बजेट खर्च भएको छ ।

प्रतिक्रिया दिनुहोस्