डेढ करोडमा प्रजातान्त्रिक अगुवाको प्रतिमा «

डेढ करोडमा प्रजातान्त्रिक अगुवाको प्रतिमा

हेटौंडा-नेपालको प्रजातान्त्रिक आन्दोलनका चार अगुवालाई एकै पार्कमा उभ्याइएको छ । हेटौंडा–११ स्थित सहिद स्मारकमा प्रथम जननिर्वाचित प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइरालासहितका अग्रजहरुको शालिक निर्माण गरी अनावरण गर्न लागिएको हो ।
स्मारक परिसरमा प्रजातान्त्रिक पार्कमा सर्वमान्य नेता एवम् २०४६ सालको जनआन्दोलनका कमान्डर गणेशमान सिंह, नेपाल कम्युनिस्ट आन्दोलनका अग्रज एवं संस्थापक पुष्पलाल श्रेष्ठ र पूर्वप्रधानमन्त्री एवं तत्कालीन नेकपा (एमाले) का अध्यक्ष मनमोहन अधिकारको पूर्ण कदको सालिक निर्माण गरिएको हो । करिब डेढ करोड रुपैयाँ खर्चिएर निर्माण गरिएको शालिकको राष्ट्रपति विद्यादेवी भण्डारीले आज मंगलबार अनावरण गर्ने भएकी छन् ।
मुलुकको परिवर्तनमा विभिन्न समयमा महत्वपूर्ण योगदान दिएका अग्रजहरुको सम्मनमा पार्क निर्माण गरिएको सहिद स्मारक विकास समितिका कार्यालय प्रमुख रामचन्द्र न्यौपानेले जानकारी दिए । इतिहासमा यागदान गर्ने व्यक्तत्वको स्मरणलाई चिरस्थायी एवम् जीवन्त राख्न पार्क निर्माण गरिएको उनको भनाइ छ । चार प्रजातान्त्रिक नेताको प्रतिमासहित पानीको फोहरा, बगैँचा, विश्रामस्थललगायतका संरचना निर्माण गरिएको छ ।
चारै जनाको पित्तलको सालिक निर्माण गर्न १५÷१५ लाख रुपियाँ गरी ६० लाख खर्च गरिएको छ । प्रजातान्त्रिक पार्कमा पूरै संरचना निर्माण गर्न करिब डेढ करोड खर्च भएको स्मारक विकास समितिले जनाएको छ । संघीय सरकारको सहरी विकास तथा भवन निर्माण विभागबाट ७५ लाख रुपैयाँ र सहिद स्मारकको आन्तरिक स्रोतबाट ७५ लाख गरी डेढ करोड लगानी गरिएको बताइएको छ ।
सहिद स्मारक परिसरमा गत वर्ष नै प्रजातान्त्रिक पार्क निर्माण सम्पन्न भएता गतवर्षको प्रजातन्त्र दिवसको दिन राष्ट्रपतिको समय अभाव भएका कारण यसवर्षको सहिद दिवसको अवसरमा प्रतिमा अनावरण गर्न लागिएको हो । नेपालको प्रजातान्त्रिक आन्दोलनका नेतृत्वकर्ताको सम्मानमा पार्क निर्माणले सहिद स्मारकको गरिमा र ओज बढेको कार्यालय प्रमुख न्यौपानेले बताए । सहिद स्मारकमा विभिन्न आकर्षक संरचना निर्माण गरिएका कारण दैनिकजसो पर्यटकको भीड लाग्ने गर्दछ । स्मारकमा विशेष गरी वनभोजको लागि नेपाली तथा भारतीय पर्यटक आउने गर्दछन् । मकवानपुरको प्रमुख पर्यटकीय सथलमध्ये सहिद स्मारक पनि एक हो ।
स्मारकमा विभिन्न कालखण्डका सम्पूर्ण सहिदलाई एकै थलोमा स्मरण गर्न सहिद स्मृति स्तम्भ निर्माण गरिएको थियो । १९ मिटर डाइको गोलाइमा ६५ फिट अग्लो स्तम्भले स्मारकको सौन्दर्य झल्किएको छ । तीन वर्षअघि करिब एक करोढ ५० लाख रुपैयाँमा स्तम्भ बनाएको हो । यस्तै विभिन्न कालखण्डमा सहिद भएका १२ सहिदको एउटै ढुंगामा मुखाकृति कुँदिएको छ । पर्यटकलाई यसले पनि निकै आकर्षित गर्ने गर्दछ ।
स्मारक परिसरमा जननेता मदन भण्डारीको शालिक पनि निर्माण गरिएको छ । २०४७ साल श्रावण ७ गते हेटौंडा–११ स्थित डाँडोमा वृक्षारोपण गरी सहिद स्मृति बाटिका नामाकरण गरिएको थियो । २०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले सो बाटिकालाई सहिद स्मारकको नाममा उद्घाटन गरेका थिए । त्यसयता स्मारक परिसरमा धेरै संरचनाहरु निर्माण गरिएका छन् । स्मारकमा हरेक वर्ष पाँच लाख जनाभन्दा बढी आन्तरिक र बाह्य पर्यटक आउने गरेको स्मारक विकास समितिले जनाएको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल स्वयम् स्मारक विकास समितिको अध्यक्ष रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्