Logo

खाद्यान्नसँगै बीउमा परनिर्भरता बढ्दो

काठमाडौं– मुलुक कृषिप्रधान भए पनि खाद्यान्नसँगै बीउमा परनिर्भरता बढ्दै गएको छ । चालु आर्थिक वर्षको आठ महिनामा सवा दुई अर्ब रुपैयाँको बीउ आयात भएको छ । खाद्यान्न तथा तरकारी दुवैको बीउ आयात भएको हो ।

बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रका अनुसार पछिल्ला केही वर्षदेखि लगातार बीउ आयात बढ्दै गएको छ । मुलुकलाई आत्मनिर्भर बनाउने भन्दै सरकारले हरेक वर्षको बजेटमा विभिन्न कार्यक्रम ल्याउने गरेको छ । तर, सरकारले बीउ उत्पादन कार्यक्रमलाई प्रभावकारी बनाउन नसक्दा परिणाम भने ठिक उल्टो बन्दै गएको छ । सरकारले बजेटमा ल्याएको नाराअनुरुप न खाद्यान्न आयातमा कमी आएको छ, नत बीउ आयातमा कमी आएको छ ।

केन्द्रको तथ्यांकअनुसार चालु आर्थिक वर्षको फागुनसम्ममा २ अर्ब १३ करोड रुपैयाँको ४ हजार ५ सय ८३ टन बीउ आयात भएको छ । सबैभन्दा धेरै मकैको बीउ आयात भएको छ । आठ महिनामा मकैको बीउ १ अर्ब ३० करोड ४२ लाख रुपैयाँको ३ हजार ४ सय ८८ टन आयात भएको छ । यस्तै, धानको बीउ १६ करोड ५८ लाख रुपैयाँको ४ सय १० टन आयात भएको छ भने हरियो तरकारीको बीउ ६० करोड ७ लाख रुपैयाँको ३ सय १८ टन आयात भएको छ । गत आर्थिक वर्ष २०८०–८१ मा ३ अर्ब २० करोड ५१ लाख मूल्यको ६ हजार ७४० टन बीउ आयात भएको थियो । यसमध्ये ५ हजार ९ सय ८८ टन खाद्यान्न र ५ सय ६९ टन तरकारीको बीउ आयात भएको थियो ।

यसैगरी आर्थिक वर्ष २०७९–८० मा २ अर्ब ६३ करोड ४७ लाख मूल्यको ५ हजार ७ सय ७२ टन बीउ आयात भएको थियो । आव २०७९–८० को तुलनामा २०८०–८१ मा बीउ आयातमा ५७ करोड रुपैयाँ बढी बाहिरिएको छ भने बीउको परिमाण ९ सय ६८ टन बढेको छ । आर्थिक वर्ष २०७८–७९ मा २ अर्ब ६३ करोड ४७ लाख रुपैयाँको ५ हजार ५ सय ५ टन बीउ आयात भएको थियो । यसैगरी २०७७–७८ मा २ अर्ब ६७ करोड ३१ लाख रुपैयाँको बीउ आयात भएको थियो । आव २०७६–७७ मा १ अर्ब ६४ करोड ७२ लाख रुपैयाँको बीउ ल्याइएको थियो ।

उन्नत जातको बीउबिजन उत्पादन गर्न लागत बढी लाग्ने र बजारको सुनिश्चित नहुँदा आयात बढ्दै गएको पूर्व कृषि सचिव राजेन्द्र भारी बताउँछन् । बीउ उत्पादन खर्च धेरै लाग्ने र त्यसमा पनि बजार नपाउने हुँदा पछिल्लो समय बीउ उत्पादन गर्ने व्यवसायीहरु पनि आयाततर्फ लागेको उनले बताए । ‘बीउ उत्पादन गर्न मेहनत धेरै गर्नुपर्छ । पछिल्लो समय किसानले मेहनत गर्न नै छोडिसकेका छन् । सहज र लागत कम कसरी गर्न सकिन्छ, त्योअनुसार कृषकले व्यवसाय गर्छन् । नेपालमा बजारको पनि समस्या छ । सरकारले बजारको सुनिश्चित गरिदिएको भए बीउ उत्पादनमा कृषक आकर्षित हुन सक्थे,’ उनले भने ।

बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रका सूचना अधिकारी प्रकाश आचार्यले पछिल्लो समय कृषकको रोजाइमा हाइब्रिड बीउ पर्ने भएकाले आयात बढ्दै गएको जानकारी दिए । संघीय सरकारले बजेटमा गुणस्तरीय बीउ उत्पादन कार्यक्रम ल्याए पनि प्रदेश र स्थानीय तहको प्राथमिकतामा उक्त कार्यक्रम नपर्ने हुँदा बीउको आयात बढ्दै गएको उनको भनाइ छ । ‘किसानको रोजाइमा बढी उत्पादन दिने बीउ पर्छ । किसानको मागअनुसार स्वदेशमा हाइब्रिड जातको बीउ उत्पादन गर्न सकिँदैन । यहीकारण वर्षेनि बीउको आयात बढ्दो छ । मकै शतप्रतिशत हाइब्रिड जातको बीउ आयात हुन्छ भने धान ९० प्रतिशत हाइब्रिड आयात हुन्छ । धेरैजसो मकै, धान र तरकारीको बीउ आयात हुन्छ,’ उनले भने ।

केन्द्रका अनुसार हालसम्म नेपालमा ३ वटा जातको बीउको हाइब्रिड उत्पादन गर्न सकिएको छ । धान, मकै र गोलभेंडाको बीउ विकास भएको छ । स्वदेशमा विकास भएको हाइब्रिड बीउले किसानको मागअनुसार आपूर्ति गर्न नसक्दा वर्षेनि बीउको आयात बढ्दै गएको केन्द्रका प्रमुख सूचना अधिकारी आचार्यको भनाइ छ । उनका अनुसार नेपालमा गोलभेंडाका ३ वटा जातको विकास भएको छ– सिर्जना, खुमल–१ र खुमल–२ । यस्तै, मकैका ७ वटा हाइब्रिइ बीउको विकास भएको छ । यसमा गौरव, रामपुर १०, रामपुर ८, रामपुर ६, रामपुर ४, रामपुर २ र खुमल २ रहेका छन् । नेपालमा करिब २२ प्रतिशत बीउमात्र औपचारिक क्षेत्रबाट आपूर्ति हुने गरेका छ । कुल बीउको माग करिब ४५ हजार टन छ भने आपूर्ति करिब ३८ हजार टन छ ।

प्रतिक्रिया दिनुहोस्