स्वास्थ्य परीक्षण शुल्क झण्डै ५० प्रतिशत बढ्यो

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क झण्डै ५० प्रतिशतले बढाएको छ । गत साता मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य परीक्षण शुल्क ३ हजार रुपैयाँ बढाइएको हो ।
अब विदेश काम गर्न जाने व्यक्तिले ९ हजार ५ सय रुपैयाँ स्वास्थ्य परीक्षण शुल्क तिर्नुपर्नेछ । मन्त्रालयले सूचना जारी गर्दै स्वास्थ्य परीक्षण सेवा दस्तुर निर्धारण गर्दा नेपाल सरकारले तोकेको शुल्कलाई आधार बनाएर वैदेशिक रोजगारमा जाने कामदारलाई सहुलियत हुने गरी सबै परीक्षणको प्याकेजमा ९ हजार ५०० कायम गरिएको दाबी गरेको छ ।
वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमन सम्बन्धी कार्यविधि, २०७२ को छैटौं संशोधन गरी शुल्क वृद्धि गरिएको हो । यसका साथै स्वास्थ्य परीक्षण कार्यलाई विद्युतीय प्रणालीमा लाने गरी आवश्यक तयारी गर्न विज्ञ समिति गठन गरी एक महिनाभित्र प्रतिवेदन तयार गर्ने व्यवस्था मिलाइएको छ । सूचनामा स्वास्थ्य परीक्षण कार्यविधि बमोजिमको पूर्वाधार तयार नगर्ने स्वास्थ्य परीक्षण संस्थाको सूचीकरण एवं नवीकरण खारेज गरिने जनाइएको छ । यसैगरी सूचनामा तोकिए बमोजिमका परीक्षण सम्पन्न गरी वैदेशिक रोजगार विभागमा अपलोड गरेपछि मात्र वैदेशिक रोजगारमा जाने कामदारको अन्तिम स्वीकृति प्रदान गर्ने व्यवस्था मिलाइने भएको छ ।
गत मंसिरमा श्रममन्त्री शरदसिंह भण्डारीलाई बुझाएको प्रतिवेदनमा सरकारलाई दिइएको सुझावलाई ध्यान नदिई श्रममन्त्री र सचिवले शुल्क वृद्धिको निर्णय गरेको हुन् । गएको मंसिरमा दिपेन्द्ररमण सिंहको अध्यक्षतामा गठन भएको कार्यदलले सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमामार्फत नै श्रमिकको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाउनुपर्ने सुझाव दिएको थियो ।
प्रतिवेदनमा शुल्क वृद्धि गर्नुपर्ने नभनिए पनि स्वास्थ्य परीक्षण शुल्कमा एकरुपता ल्याउनुपर्ने, एक लाखभन्दा बढी नेपाली कामदार भएको मुलुकमा हेल्थ काउन्सिलरको व्यवस्था गर्नुपर्ने, स्वास्थ्य परीक्षणको लागि कम्तिमा बी ग्रेडको प्रयोगशाला हुनुपर्ने सुझाव दिएको थियो । अहिले वैदेशिक रोजगारमा जाने कामदारहरुको ‘सी’ ग्रेडको मेडिकल संस्थाहरुमा परीक्षण हुन्छ । तर, अधिकांशले मापदण्डअनुसार गुणस्तरीय मेडिकल गरेको पाइएको छैन ।