Logo

३९७ स्थानीय तहमा अझै पुगेन स्वास्थ्य बीमा बोर्डको प्रथम सेवा बिन्दु

नेपाल आउने विदेशी नागरिकलाई समेत स्वास्थ्य बीमा कार्यक्रममा अनिवार्य

काठमाडौं- स्वास्थ्य बीमा बोर्डले वित्तीय जोखिक कम गर्न नेपाल आउने विदेशी नागरिकलाई समेत स्वास्थ्य बिीमामा अनिवार्य आवद्ध हुने व्यवस्था गर्ने भएको छ । आइतबार पत्रकार सम्मेलनमा बोल्दै बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले सबै तहका जनप्रतिनिधि, कर्मचारी, वैदेशिक रोजगारीमा जाने श्रमिक, आम नागरिक र नेपालमा आउने विदेशी नागरिकलाई समेत स्वास्थ्य बीमामा अनिवार्य आवद्ध हुने व्यवस्था मिलाइने बताए ।

यसले ‘युनिभर्सल हेल्थ कभरेज’ भन्ने सरकारको नाराले पूर्णता पाउनुका साथै स्वास्थ्य बीमा बोर्डको वित्तीय जोखिम कम गर्न कोशेढुङ्गा सावित विश्वास व्यक्त गरे । कार्यकारी निर्देशक काफ्लेले छरिएर रहेका स्वास्थ्य सहायता तथा अनुदानका कार्यक्रमहरु समेत एकीकरण गर्दै लैजाने बताए । स्थानीय तहहरुले दिँदै आएको उपचार सहायता तथा स्वास्थ्य सेवाका कार्यक्रमहरुलाई समेत बोर्डअन्तर्गत ल्याइने काफ्लेको भनाइ छ ।

सबै तहका स्वास्थ्य अनुदानका सेवाहरु एकीकरण गर्न बोर्ड र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच कुरा अगाडि बढाइसकिएको समेत उनले बताए । साथै बोर्डले स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न अहिलेसम्म देशभरका ३५६ स्थानीय तहमा प्रथम सेवा बिन्दु पुगेको जनाएको छ । कार्यकारी निर्देशक काफ्लेले ४७.७ प्रतिशत स्थानीय तहमा बोर्डको आफ्नै प्रथम सेवा बिन्दु रहेको जानकारी दिए ।

उनले अहिलेसम्म पनि ३९७ स्थानीय तहमा प्रथम सेवा बिन्दु नपुगेको जानकारी दिँदै ती स्थानीय तहका विमित सेवाग्राहीहरुले नजिकैको अर्को स्थानीय तहमा गएर सेवा लिनुपर्ने बाध्यता रहेको बताए । तुलनात्मक रुपमा शहरी क्षेत्र सुगम क्षेत्रका स्थानीय तहहरुमा बीमा सेवाको प्रथम सेवा बिन्दु धेरै पुगेको जानकारी दिए ।

काफ्लेले प्रत्येक वर्ष बीमा नविकरण नगर्ने विमितहरुको संख्या समेत बढ्दै गएको बताए । उनकाअनुसार वि।स। २०७४/०७५ मा बीमा नविकरण नगर्ने ५४ प्रतिशत, ०७८/७९ मा ६४ प्रतिशत तथा रहेकोमा चालु आर्थिक वर्षको हालसम्मको संख्या ५४ प्रतिशत रहेको छ । एकचोटी बीमा गरिसकेपछि किन बीमा नविकरण गर्दैनन् भन्नबारे विश्लेषण गरेर समाधानको उपाय खोज्न जरुरी रहेको बताए ।

दोहोरोपनाको कारण विमितको यथार्थ विवरण प्राप्त गर्न समेत कठिन भएको उनको भनाइ छ । यद्यपि स्वास्थ्य बीमा गरेका विमितहरुले स्वास्थ्य उपचार सेवा लिने क्रम बढ्दै गएको समेत उनले जानकारी दिए । लक्षित वर्गभन्दा शहर र सुगम क्षेत्रका नागरिकले धेरै स्वास्थ्य उपचार सेवा लिने गरेको बोर्डको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस्