Logo

जोखिम मोलेरै छतमा यात्रा

रोल्पा– जिल्लाका ग्रामीण सडकमा सञ्चालन हुने सवारीसाधनमा जोखिमपूर्ण रूपमा छतमै यात्रा गरिरहेको दृश्य सामान्यजस्तै लाग्छ । रोल्पाका अधिकांश भू–भागका गाउँमा चल्ने सवारीसाधनले प्रहरीको आँखा छलेर जथाभावी रूपमा क्षमताभन्दा बढी र छतमा यात्रु राख्ने गरेका छन् । यातायात व्यवसायीले धेरै पैसा कमाउने लोभमा क्षमताभन्दा बढी यात्रु राख्दा नागरिकले कष्टकर यात्रा गर्नु परिरहेको छ भने यसले गर्दा सवारी दुर्घटनाको जोखिम पनि बढाएको छ ।

लुंग्री गाउँपालिकाकी स्थानीय भावना विक गाउँ जाने प्राय: सवारीसाधनमा जोखिम मोलेरै यात्रा गर्नु परेको अनुभव सुनाउँछिन् । उनी भन्छिन्, ‘गाउँमा सीमित सवारीसाधन सञ्चालनमा हुनाले पनि गाडीमा झुन्डिएर वा छतमा बसेर यात्रा गर्नु हाम्रो बाध्यता नै हो,’ उनले भनिन्, ‘हिँडेर जान टाढा छ, गाडीमा झुन्डिएर भए पनि जानुको विकल्प छैन् । ‘गाउँ जाने बाटोमा चेकपोष्ट हुँदैन गाडीवालाले गाउँबाट आउँदा बजारनजिक पुग्न लागेपछि छतमा बसेका यात्रुलाई झार्ने गर्छन् ।’

एकातर्फ रोल्पाका जीर्ण सडक त्यसमाथि सीमित सवारीसाधन सञ्चालन हुँदा ओभरलोडका कारण यात्रा जोखिम पूर्ण हुने गरेको छ । साँघुरो सडक, खाल्डाखुल्डी साथै ग्राभेलिङसमेत नगरिएको अव्यवस्थित सडकमा रोल्पाका नागरिक जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

‘बाटो साह्रै खराब छ, त्यसमाथि सीमित सवारी चल्दा जिपमा यात्रुको चाप धेरै हुन्छ, डर मानीमानी यात्रा गर्नुपर्ने हाम्रो बाध्यता बनेको छ,’ सुनिलस्मृति गाउँपालिकाका स्थानीय दलबहादुर रोकाले भने, ‘सरकारले कहिले राम्रो बाटो बनाउला र यात्रा सहज होला,’ उनले थपे । सवारीसाधनले मनपरि रूपमा यात्रुलाई छतमा हालिरहेका हुन्छन् तर प्रहरीले यसको निगरानी बढाउन नसकेको उनी बताउँछन् ।

जिल्लाका अधिकांश भागका नागरिक ज्यानै जोखिममा राखेर यात्रा गर्न बाध्य छन् । जिल्लाको १० वटै स्थानीय तहका गाउँ जोडिएका सडक अत्यन्तै अव्यवस्थित छन् । जिल्ला सदरमुकाम लिबाङ रहेको रोल्पा नगरपालिका, सुनिलस्मृति, लुंग्री, त्रिवेणी र रुन्टीगढी गाउँपालिकाका सीमित सडक कालोपत्रे छन् । सुनछहरी, गंगादेव, थबाङ, माडी र परिवर्तन गाउँपालिकाका गाउँका सडक पूर्णत: कच्ची नै छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका कार्यालय प्रमुख पूर्णबहादुर रायमाझीले छतमा र सिट क्षमताभन्दा बढी यात्रु राख्ने सवारीसाधनलाई छड्के चेकजाँच गरेर यात्रुलाई गाडीबाट झार्ने र गाडीवालालाई कारबाही गरिरहेका बताए । ‘विशेषगरी ग्रामीण सडकमा चल्ने सवारीले छतमा यात्रु राख्ने समस्या अली बढी छ, यात्रुले पनि हाम्रो बाध्यता हो भन्छन्,’ उनले भने, ‘ट्राफिक नियम सचेतनासम्बन्धी हामीले यात्रुहरूलाई गाडीबाट झारेर सम्झाउने, बुझाउने र सावधानी अपनाउने बारेमा जानकारी दिने गरेका छौं ।’

ग्रामीण सडकका भित्रभित्र पुग्न पनि नसकिने समस्या भएको बताउँदै उनले सवारी चालक, यात्रु, सवारी धनीे ट्राफिक नियमको बारेमा सचेत हुनुुपर्ने बताए । ‘हाम्रो मात्र एकल प्रयासले गाह्रो हुने रहेछ तर पनि हामी एकदमै प्रयासरत छौँ,’ उनले भने, ‘त्यसमा पनि हाम्रो जनशक्ति नै कम भएकाले सबैतिर निगरानी बढाउन सकिएको छैन ।’

प्रतिक्रिया दिनुहोस्