Logo

विद्युत उत्पादनको लक्ष्य सात दशकदेखि अधुरै

काठमाडौं– नेपालमा योजनावद्ध विकास गर्नको लागि आवधिक (पाँच र तीन वर्षीय) योजना कार्यान्वयनमा ल्याइएको साढे ६८ वर्ष पुगेको छ । आवधिक योजना कार्यान्वयन थालिएको यो अवधिमा सरकारले २० हजार ४२० मेगावाट विद्युत उत्पादनको लक्ष्य राखेको छ । यसमध्ये अहिलेसम्म ३ हजार ४०३ मेगावाटमात्र विद्युत उत्पादन भएको छ । यो कुल लक्ष्यको १६.६६ प्रतिशत हो । यसमा आवधिक योजना कार्यान्वयन थालिएको २०१३ सालभन्दा अघि उत्पादित ६.२८ मेगावाट पनि जोडिएको छ ।

अहिलेसम्म कार्यान्वयन भइसकेका १५ आवधिक योजनामध्ये कुनैले पनि लक्ष्य हासिल गर्न सकेका छैनन् । पछिल्ला ५ आवधिक योजनादेखि भने विद्युत उत्पादनको दर वृद्धि हँुदै गएको देखिन्छ । तर, लक्ष्यभन्दा धेरै कम विद्युत उत्पादन भएको छ । यो अवधिमा पन्ध्रौं पञ्चवर्षीय योजनामा सबैभन्दा बढी १ हजार ६५९ मेगावाट विद्युत उत्पादन भएको छ । त्यस्तै, सबैभन्दा कम पहिलो आवधिक योजनामा २० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएकोमा १ मेगावाट पनि उत्पादन भएन ।

आवधिक योजनाको लक्ष्यअनुसार उपलब्धि हासिल नहुनुका धेरै कारण रहेको राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष विश्व पौडेलको भनाइ छ । ‘पछिल्ला २–३ वटा आवधिक योजना कार्यान्वयन हुनुभन्दा पहिले नेपालसँग लक्ष्यअनुसार उपलब्ध हासिल गर्न सक्ने क्षमता र लगानी नै थिएन,’ उनले भने । यसकारण पहिले–पहिलेका आवधिक योजनामा हावादारी लक्ष्य धेरै बनाइएको उनको बुझाइ छ । पहिले विदेशीले दिन्छ भन्ने आशामा योजना बन्ने र लक्ष्य निर्धारण गर्ने गरिएको थियो, विदेशीले नदिएको खण्डमा कागजी योजनामात्र बन्थ्यो । तर, विस्तारै योजना परिष्कृत हुँदै गइरहेका र नेपाल पनि लक्ष्य निर्धारणमा यथार्थपरक हुँदै जाने क्रममा रहेको पौडेलको भनाइ छ ।

अर्कोतर्फ नेपालमा उत्पादन हुने विद्युतको स्वदेशमा हुने खपत र छिमेकी बजारको सुनिश्चिततामा पनि आधारित हुन्छ । ‘विशेषगरी भारतको तत्कालिन र दीर्घकालिन विद्युत बजारलाई नेपालले सुरक्षित गर्न सकेको खण्डमा विद्युत उत्पादनमा वृद्धि हुनेछ,’ उनले भने । स्वदेशी उत्पादनमा भने जोड दिनुपर्नेमा गल्ति भइरहेको उनको बुझाइ छ ।

आवधिक योजना कार्यान्वयन थालिएपछि अहिलेसम्म ११ वटा पञ्चवर्षीय योजना र ५ वटा त्रिवर्षीय योजना कार्यान्वयनमा आएका छन् । अहिले सोह्रौं पञ्चवर्षीय योजना कार्यान्वयनको पहिलो वर्ष (आव २०८१–८२) चलिरहेको छ । यो अवधिमा दुई आर्थिक वर्ष २०१८ र २०४७–२०४८ योजना विहीन वर्ष (प्लान होलिडे) का रुपमा रहे । पहिलो पञ्चवर्षीय योजना कार्यान्वयनको थालनी १ असोज २०१३ सालबाट भएको हो । त्यसको एक वर्षअघि २४ असोज २०१२ मा तत्कालिन राजा महेन्द्रको शाही घोषणासँगै पहिलो पञ्चवर्षीय योजनाको मस्यौदा गर्न थालिएको थियो ।

जलविद्युतमा निजी क्षेत्रको प्रवेश भएको ३० वर्ष
२०४९ सालपछि कानुनी रुपमा जलविद्युत क्षेत्रमा निजी क्षेत्रको प्रवेशसँगै विद्युत उत्पादनले गति लिने अपेक्षा थियो । तर, यथार्थमा आवधिक योजनामा राखिएका लक्ष्य त्यसपछि पनि पूरा भएका छैनन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीका अनुसार सरकारले निजी क्षेत्रबाट पनि विद्युत उत्पादन हुने अनुमानमा आवधिक योजनामा लक्ष्य राखे पनि कानुनी तथा कार्यान्वयन र प्रक्रियागत कठिनाइले निजी क्षेत्रले अपेक्षित उत्पादन गर्न नसकेको हो । ‘लक्ष्य निर्धारण गरेपछि त्यहीअनुसार वातावरण बनाउनुपर्ने थियो । तर, कागजी रुपमा लक्ष्य निर्धारण गर्ने काममात्र भयो,’ उनले भने ।

केही आवधिक योजनामा राखिएका लक्ष्य पूरा गर्न सक्ने खालका भए पनि सरकारी संयन्त्रबाट सहयोग नपाउँदा असफल भएको उनको अनुभव छ । ‘पाँच वर्षमा यति उत्पादन गर्ने भनेर लक्ष्य राख्ने तर चार वर्षसम्म निजी लगानीकर्तालाई विद्युत उत्पादन अनुमतिपत्र समेत नदिएर राखेपछि कहाँबाट लक्ष्य हासिल होस्,’ उनले थपे ।

२०४८ साल अघिसम्म जलविद्युत विकासमा निजी क्षेत्रको लगानीलाई निषेध गरिएको थियो । २०४९ सालमा जारी भएको विद्युत ऐनले निजी क्षेत्रलाई जलविद्युतमा लगानी गर्नका लागि ढोका खोल्यो । त्यसपछि मात्र निजी क्षेत्रले जलविद्युतमा लगानी ल्याउने क्रम सुरु भयो । २०४९ सालसम्ममा कुल ऊर्जा (विद्युत र अन्यसमेत) उत्पादन २४४.४३० मेगावाट पुगेको थियो । यो नेपालमा जलविद्युत उत्पादन थालिएको ८० वर्षको अवधिमा उत्पादन भएको ऊर्जाको कुल क्षमता हो ।

विद्युत उत्पादनको ११४ वर्ष
नेपालमा जलविद्युत आयोजना निर्माण सुरु भएको २०८२ वैशाखमा ११४ वर्ष पुग्दैछ । विश्वमै पहिलो जलविद्युत आयोजना स्थापना भएको २९ वर्षपछि नेपालमा १९६८ साल (२२ मे १९११) मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेर जंगबहादुर राणाको पालामा विद्युत निकालिएको थियो । काठमाडौंको फर्पिङमा सतमुले र शिखानारायण नदीको पानी प्रयोग गरेर ५०० किलोवाटको लघु जलविद्युत आयोजना निर्माण गरेपछि नेपालमा ऊर्जा उत्पादनको इतिहास शुरु भएको हो । जलविद्युतको विकास सुरु गर्ने देशमा नेपाल दक्षिण एसियामा मात्र होइन, पूरै एसिया महादेशमा अग्रस्थानमा आउँछ । पहिलो आयोजनाबाट विद्युत उत्पादन भएको ४४ वर्ष (२०१३ साल) पछि आवधिक योजना कार्यान्वयन थालियो । आवधिक योजना कार्यान्वयन थालिँदासम्म पनि नेपालको कुल विद्युत उत्पादन ६.२८ मेगावाटमात्र थियो ।

प्रतिक्रिया दिनुहोस्