म्यानपावरको ठगीविरुद्ध उजुरी बढ्यो

६ महिनामा २४ करोड रुपैयाँ ठगीको आरोप |
गत आर्थिक वर्षको अघिल्लो ६ महिनाको तुलनामा चालू आवको सोही अवधिका वैदेशिक रोजगारीका क्रममा म्यानपावर कम्पनी (संस्थागत)विरुद्धमाठगीका उजुरीबढेको पाइएको छ ।गत आवको सुरुका ६ महिनामा म्यानपावर विरुद्धका उजुरीको संख्या ५५४ बाट३५ प्रतिशतले वृद्धि भएर चालू आवको सोही अवधिमा ७४८ पुगेको छ । गत आर्थिक वर्षको पहिलो६ महिनाको तुलनामा चालू आवको सोही अवधिमा म्यानपावरको ठगीमा परी उजुरी गर्ने पीडितको बढेको हो ।
वैदेशिक रोजगार विभागको उजुरी तथा अनुसन्धान शाखाले सार्वजनिक गरेको पछिल्लो तथ्यांकमा गत वर्षको सुरुका ६ महिनामा ठगीमा परेको जनाउँदै ५५४ उजुरीकर्ताले १९ करोड ९८ लाख २६ हजार ७२० रुपैयाँ दावीसहित उजुरी दिएको विभागले जनाएको छ । यसैगरी चालू आर्थिक वर्षको सोही अवधिमाठगीमा परेको भन्दै ७४८ जना युवाले२३ करोड ९१ लाख ५ हजार १९३ रुपैया दाबी गरी उजुरी दिएका छन् । गत वर्षको तुलनामा दाबी रकममा पनि १९ प्रतिशतले वृद्धि भएको पाइएको छ ।
गत वर्षको तुलनामा उजुरीकर्ताकोसंख्या बढेसँगै रकममा ४ करोडको हाराहारीमा बढेको छ । सरकारले वैदेशिक रोजगारीको ठगीलाई कडाईका साथ अघि बढाएपछि न्याय पाउने अपेक्षासहित उजुरी र रकम दाबी गर्ने संख्या बढेको देखिन्छ । गत वर्ष उजुरी दिएका ५५४ मध्ये ८४ प्रतिशत अर्थात ३०१ जनाको दाबी उपर फरफारक भएको भने चालू आर्थिक वर्षको पुषसम्म७८४ उजुरीकर्तामध्ये ७५ प्रतिशत अर्थात ४२७जनाको उजुरी उपर फरफारक भएको छ । लगभग २४ करोड रुपैया ठगी भन्दै पीडितले बिभागमा दिएको उजुरीमध्ये चालू आवको ६ महिनामा ४ करोड २ लाख ७८ हजार रुपैया दाबी अनुसारको बिगो भराइएको छ । गत वर्ष भने ३ करोड दाबी बिगो भराईएको पाईएको छ । यो अवधिमा विभागले उजुरीका आधारमा पीडकबाट ५१ लाख ५० हजार जरिवाना रकम उठाएको छ ।
विगत ३ वर्षको तथ्यांक हेर्न हो भने वैदेशिक रोजगारीमा जाने व्यक्तिले वैदेशिक राजगारीको सिलसिलामा भएका ठगी तथा अपराधजन्य क्रियाकलापको उजुरीको औषत ३८ प्रतिशत मात्र फस्याट भएको देखिन्छ । वैदेशिक रोजगारीमा गएका व्यक्तिलाई तोकिएबमोजिमको सेवा सुविधा प्राप्त नभएको, तोकिएभन्दा बढी शुल्क लिएको उजुरीमा मुद्दा धेरै दायर हुनेगरेको विभागले जनाएको छ ।
अदालत जानुअघि मेलमिलाप
वार्षिक रुपमा करोडौ रुपैयाँ ठगी हुने गरेको वैदेशिक रोजगार क्षेत्रमा परेका उजुरीउपर छिटो छरितो न्याय दिन सरकारले मेलमिलाप कार्यक्रम सार्वजानिक गरेको छ । पीडक र पीडित दुवै पक्षलाई राखेर अदालत जानु नपर्ने प्रकारका उजुरीउपर सम्बादको माध्यमबाट फरफारक गर्न ५२ मेलमिलापकर्ता छनोट गरेको विभागले जनाएको छ । पीडकलाई सानातिना बिबादमा अदालत जानुपर्ने झन्झट र पीडितलाई न्यायका लागि लामो समय पर्खनुपर्ने बाध्यतालाई अन्त्य गर्न मेलमिलापको कार्यक्रम राखिएको विभागका महानिर्देशक भीष्मकुमार भुसालले जानकारी दिए । कतिपय उजुरीकर्ताको कमजोरीका कारण पनि व्यवसायीले अनावश्यक दुःख पाइरहेका बेला मेलमिलाप कार्यक्रमले वैदेशिक रोजगारसम्बन्धी बिबादमा नयाँपन ल्याउने सरकारको अपेक्षा रहेको छ ।