सिमरा सेजमा गार्मेन्टलाई अन्तिम अवसर «

सिमरा सेजमा गार्मेन्टलाई अन्तिम अवसर

बारा-सिमरा विशेष आर्थिक क्षेत्र (सेज) मा उद्योग स्थापना गर्न गार्मेन्ट उद्योगलाई अन्तिम अवसर दिइने भएको छ । सेज प्राधिकरणले तयारी पोशाक, घरेलु तथा मझौला उद्योग संघहरूको विभिन्न माग सम्बोधन गर्दै अन्तिम मौका दिने भएको हो ।
सेज प्रवक्ता सुन्दर थापाले उद्योगीले भाडा महँगो भएको भने पनि उनीहरूले भनेजस्तो सस्तो भने गर्ननसक्ने बताए । सरकारका सहसचिव शोभाकान्त पौडेलको संयोजकत्वमा बनेको समितिले यही महिनाभित्रै दिने प्रतिवेदन आउनुअघि र प्रतिवेदन प्राप्त भएपछि उद्योगीहरू सम्बद्ध संघसंस्थासँग छलफल गर्ने थापाले बताए । उनीहरूको सुझावपछि प्राधिकरण विकल्पमा जाने उनको भनाइ छ । यो नै सरकारको तर्फबाट उनीहरूलाई अन्तिम अवसर बन्ने वताए ।
सामान्य तलमाथिमा सहमति नभए यहि महिनाभित्रै सूचना प्रकाशित गरी प्राधिकरणले सेजको ए ब्लकलाई विकल्पमा लगिनेछ । गत वैशाख १९ मा सेज प्राधिकरणले एक महिने म्याद दिएर सूचना प्रकाशित गरी गार्मेन्ट प्रशोधन क्षेत्रमा उद्योग स्थापना र सञ्चालन गर्न प्रस्ताव माग गरे पनि स्वदेशी, विदेशी उद्योग नआएपछि तयारी सेज रित्तो बनेको छ ।
“सरकारको पहिलो गल्ती सिमरा सेजमा गार्मेन्ट प्रशोधन केन्द्र निर्माणपूर्व हामीसँग सल्लाह गरिएन हामी राम्रा सुझाव त दिन सक्थ्यौँ,” नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्ष चण्डीप्रसाद अर्यालले भने, “उनीहरूले चासो नराखेपछि म आफैँ उद्योग मन्त्रालयमा कयाँै पटक गएँ तर उहाँहरूको रुचि नै बुझ्न सकिएन र खासै चासो राखेको पनि देखिएन ।” अव छलफलको एउटैमात्र विषय भने प्रतिवर्गमिटर २० रुपैयाँ आफूहरू बुझाउन नसक्ने उनको भनाइ छ । “हाम्रो लागतले भ्याउँदैन, ५ रुपैयाँ वर्गमिटरभन्दा माथि हामी जान पनि सक्दैनौं, ५ रुपैयाँ भयो भने र पुराना हाम्रा उद्योगका उपकरण मेसिन सरकारले लैजान दिएमात्र हामी समूह बनाएर त्यहाँ उद्योग खोल्छौं,” उनले भने ।
युवा उद्योगी शिव पौडेलले युरोप र अमेरिकामा नेपाली गार्मेन्टको ठूलो सम्भावना रहेकोले तत्काल सिमरा सेजमा अमेरीकन, भारतीय र बंगलादेशका लगानीकर्ता आकर्षित गर्न ति देशहरूमा उपस्थित भई उद्योगीहरू संग अन्तरक्रिया गरी सूचना प्रवाह गर्न प्राधिकरणले चासो नराखेका कारण सेज अलपत्र परेको वताए ।

 

प्रतिक्रिया दिनुहोस्