‘नेपालमा मानव संसाधन विकासका लागि ‘एओटिएस’ जापानको योगदान महत्त्वपूर्ण’

ललितपुर- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नेपालमा मानव संसाधन विकासका लागि एसोसिएसन फर ओभरसिज टेक्निकल कोअपरेसन एन्ड सस्टेनेबल पार्टनरसिप (एओटिएस) जापानको योगदान महत्त्वपूर्ण रहेको बताएका छन् ।
एओटिएस जापान नेपाल एलुम्नाई सोसाइटीको आयोजनामा शुक्रबार भएको साउथ एसियन फेडरेसन अफ एओटिएस एलुम्नाई सोसाइटी फेडेरेसनको १४औँ अधिवेशन उद्घाटन सत्रमा उनले नेपालमा मानव संसाधन विकासका साथै जनशक्तिको गुणस्तर, व्यवस्थापन, प्रविधि तथा औद्योगिक विकासका क्षेत्रमा एओटिएस जापानले विगत ३४ वर्षदेखि स्वयंसेवी रूपमा योगदान दिँदै आएको भन्दै प्रशंसा गरे ।
मन्त्री भण्डारीले नेपालमा एओटिएसको निरन्तर सक्रियता तथा यसको योगदानले यहाँको औद्योगिक विकास, व्यवस्थापन तथा प्रविधिगत नवप्रवर्तनमा दीर्घकालीन प्रभाव पार्ने विश्वास व्यक्त गरे । उनले सम्मेलनका माध्यमबाट दक्षिण एसियाली मुलुकहरूबीच आपसी समझदारी, प्रविधि आदानप्रदान तथा व्यावसायिक अवसरहरू सृजना गर्नेसमेत बताए ।
नेपाल एओटिएस एल्मुनाई सोसाइटीका अध्यक्ष किशोरभक्त माथेमाले यस सम्मेलनले नेपाललाई अन्तरराष्ट्रिय मञ्चमा मानव संसाधन विकासका क्षेत्रमा अग्रसर राष्ट्रका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको बताए । शनिबारसम्म सञ्चालन हुने अधिवेशनमा बाङ्गलादेश, भारत, जापान, नेपाल र श्रीलङ्काकाका अल्मुनाई सोसाइटीका ५० भन्दा बढी प्रतिनिधि तथा सहभागीहरूको उपस्थिति रहेको उनले जानकारी दिए ।