Logo

अमेरिकी दूतावासको आयोजनामा इटहरी र पोखरामा क्रिएटर्स मेला

काठमाडौं– नेपालस्थित अमेरिकी दूतावास डिजिटल सामग्री निर्माता (क्रिएटर्स) को प्रत्यक्ष सम्मेलन ‘क्रिएटर्स मेला’ का नयाँ क्षेत्रीय संस्करणहरू आयोजना गर्ने भएको छ । यही चैत २३ गते इटहरीमा र ३० गते पोखरामा आयोजना हुने क्रिएटर्स मेलामा राजधानीबाहिरका उदीयमान डिजिटल सामग्री निर्मातालाई महत्त्वपूर्ण स्रोतसाधन र अवसरहरू उपलब्ध गराउने दूतावासले जनाएको छ ।

यसअघि काठमाडौंमा आयोजित दुई वटा सफल संस्करणपछि क्रिएटर्स मेलाको आयोजना राष्ट्रव्यापी रूपमा हुन लागेको बताइएको छ । मूल विषयवस्तु ‘बिल्ड, ब्रान्ड रबुस्ट’ रहेको क्रिएटर्स मेला २०२५ ले स्थानीय प्रभावशाली व्यक्ति, उद्यमी र डिजिटल सामग्री निर्मातालाई रोचक कार्यशाला, अन्तरक्रियात्मक प्यानल छलफल र उच्च प्रभावकारी सम्पर्क विस्तारका निम्ति एकत्रित गर्ने दूतावासले जनाएको छ ।

मेलाका सहभागीले रचनाप्रतिको लगावलाई दिगो पेसाकर्ममा परिणत गर्न मद्दत गर्ने व्यावहारिक सीप, परामर्श र एआईद्वारा सिर्जित अन्तर्दृष्टिहरू हासिल गर्नेछन् । ‘यो कार्यक्रमको उद्देश्य डिजिटल सामग्री निर्माताहरूलाई सशक्त बनाउनु हो, उनीहरूलाई बढ्न, सम्पर्क बढाउन र सफलताका लागि आवश्यक साधनको विकास गर्न मद्दत गर्नु हो’ अमेरिकी राजदूत डिन आर थम्पसनले भने, ‘क्रिएटर्स मेलाको आयोजना गर्न पाउँदा अमेरिकी दूतावासलाई गर्व छ किनभने व्यक्तिका लागि मात्र नभई समुदायकै लागि ढोका खोल्ने र अवसरको सिर्जना गर्ने डिजिटल मिडियाको शक्तिमा हामी विश्वास गर्छौँ ।’

व्यावसायिक अगुवा, विश्वव्यापी मञ्च र ब्रान्ड साझेदारसम्म पहुँच पाउन मद्दत गरी क्रिएटर्स मेला २०२५ ले उद्यमशीलता र रोजगारी सिर्जनालाई बढवा दिन्छ, जसले नेपालमा अझ बलियो र समावेशी अर्थतन्त्रलाई योगदान पुर्‍याउनेछ ।

प्रतिक्रिया दिनुहोस्