मोबाइलबाटै जागिर खोज्न सकिने «

मोबाइलबाटै जागिर खोज्न सकिने

आस्क मी म्यानेजमेन्टले यही माघ १५ र १६ गते दुई दिनसम्म नेपालमै पहिलो पटक भर्चुअल जब फेयर सञ्चालन गर्ने भएको छ । इन्टरनेटको बढ्दो प्रयोगसँगै मोबाइल तथा कम्प्युटरबाट नै जागिरको खोजी गराउन आस्कमी कन्सल्टडटकममा भर्चुअल जब फेयर सञ्चालन गर्न लागिएको कम्पनीले जनाएको छ ।
कर्पोरेट क्षेत्र, बैंक, बिमा, होटल, उत्पादन तथा प्रशोधनका साथै विविध क्षेत्रसँग सम्बन्धित रोजगारदाता कम्पनीहरूलाई समेत लक्षित गरी अनलाइन जब फेयर सञ्चालन गर्न लागेको आस्क मी म्यानेजमेन्टले जनाएको छ । नेपालमै पहिलो पटक हुन लागेको सबैभन्दा ठूलो अनलाइन जब फेयरमा घरमै बसीबसी ल्यापटप वा कम्प्युटरबाटै भिजिट गर्न सकिने आस्क मी म्यानेजमेन्टकी व्यवस्थापकीय निर्देशक अर्चना कुँवर क्षेत्रीले बताइन् । उनकाअनुसार आस्क मी म्यानेजमेन्टको वेब पोर्टल आस्क मी कन्सल्टडटकममा लग इन गरेर उपलब्ध गराइएका कम्पनीहरूमा सिधै जब एप्लिकेसन दिन सकिन्छ ।
“कर्मचारी भर्ना गर्ने कम्पनीले आफूले चाहे जस्तो कर्मचारी जब फेयर बाटलिन सक्नेछन् भने जागिरको खोजीमा भौंतारिएकाहरू तथा जागिर परिवर्तन गर्न चाहनेहरूका लागि जब फेयर उचित गन्तव्य हुनेमा हामी विश्वस्त छौं,” क्षेत्रीले भनिन् ।
क्षेत्रीका अनुसार यो नेपालका लागि बिल्कुलै नयाँ कन्सेप्ट हो । जब फेयर मा ५० भन्दा बढी कम्पनीहरूले आफ्नो अनलाइन स्टल राख्नेछन् भने कम्तीमा १ लाख जब सिकरहरूले अनलाइन प्ल्याटफर्म भिजिट गर्ने अपेक्षा गरिएको छ । नेपाल मात्र नभई विदेशमा रहेकाहरूले पनि रोजगारीका लागि आवेदन दिन सक्ने छन् ।
कुनै पनि कम्पनीले यो फेयरमा अनलाइन स्टल राख्न चाहेमा आस्क मी कन्सल्टडटकममा जानुपर्नेछ भने जब खोज्नेहरूले आफूलाई पायक पर्ने स्थान र उपयुक्त जागिरमा आवेदन गर्न सक्छन् । यसरी प्राप्तआवेदन आस्क मीको सफ्टवेयरमार्फत सिधै सम्बन्धित कम्पनीमा पुग्नेछ भने कम्पनीहरूले आफूले खोजेको तथा योग्यता पुगेका आवेदकहरूलाई फोन गरेर अन्तर्वार्ताका लागि बोलाउने छन् ।
जागिर खोज्नेहरूले सबैभन्दा पहिले आस्क मी कन्सल्टडटकममा गएर आफ्ना व्यक्तिगत तथा शैक्षिक योग्यतालगायतका सबै विवरण भरेर एकाउन्ट बनाउनुपर्ने हुन्छ । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख सहकार्यमा आयोजना हुने जब फेयरमा गोल्डेन गेट कलेज साथ छ । माछापुछ्रे बैंक, एनआईसी एसिया बैंक, मुक्तिनाथ विकास बैंक, शिखर इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, रिलायबल लाइफ इन्स्योरेन्स, ई–सेवा, फोन पे, लोन प्लस डिपोजिट डटकमजस्ता कम्पनीहरूले पनि सहकार्य गरेका छन् । रोजगारीका लागि पुलको काम गर्दै आएको आस्क मीले अनलाइन माध्यमबाट पनि पुलको काम गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्