एशियन लाईफले मनायो १७औं वार्षिकोत्सव

काठमाडौं– एशियन लाईफ इन्स्योरेन्स कम्पनी १८औं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा कम्पनीले एक सातासम्म देशभर संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विविध कार्यक्रम आयोजना गरेको छ । वार्षिकोत्सवको अवसरमा रक्तदान जीवन दान भन्ने नारालाई आत्मसाथ गर्दै प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।
कार्यक्रममा काठमाडौं उपत्यकाभित्रका शाखा, उपशाखाका कर्मचारी, विभिन्न संघ संस्थाका प्रतिनिधिसमेत ७४ जनाले रक्तदान गरेका छन् । वार्षिकोत्सवका अवसरमा चैत १८ गते काठमाडौं उपत्यकाभित्रका कर्मचारीबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिताको आयोजना गरिएको थियो ।
साथै देशभरका विभिन्न ८६ वटा शाखा, उपशाखा कार्यालयमार्फत् वृद्धाश्रम, सामुदायिक विद्यालय, अनाथालय तथा सामाजिक संघ संस्थालाई शैक्षिक सामग्री, खाद्यान्न तथा फर्निचरलगायत १० लाख बराबरको सहयोग उपलब्ध गराइएको छ ।