बक्यौता उठाउन पत्र काटेकै दिन सरकारले हटायो : कुलमान घिसिङ

काठमाडौं- नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो धारणा सार्वजनिक गरेका छन् । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्तीपछि शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै आम नागरिकको रूपमा आफूले गर्ने काममा कहिल्यै कमी नहुने बताएका छन् ।
पत्रकार सम्मेलनमार्फत उनले आफूमाथि ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दिपक खड्काले अनावश्यक नैतिक प्रश्न उठाउने काम गरेको समेत आरोप लगाए । निष्ठाका साथ देश र जनताको सेवामा रातदिन खटिँदा पनि सरकारले आफूलाई पदबाट बर्खास्त गरेको उनको गुनासो छ । आफूले उद्योगहरूको ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौता उठाउन पत्र काटेकै दिन सरकारले हटाएको बताए ।
आगामी दिनमा उनले यस्ता प्रहार आफूमाथि भइरहनसक्ने बताउँदै त्यसबारे सतर्क र सजग रहेको पनि बताएका छन् । उनले आफूलाई हतोत्साहित गर्न उनले राज्यको सम्पूर्ण शक्ति आफूमाथि खनिएको पनि आरोप लगाए । दैनिक १८ घण्टा हुने लोडसेडिङको अन्त्य आफ्नै कार्यकालमा भएको पनि उनले बताए ।