ई–सेवा ११ औं वर्षमा प्रवेश «

ई–सेवा ११ औं वर्षमा प्रवेश

क्यासलेस अर्थतन्त्रको परिकल्पना गर्दै एक दशक अगाडि सञ्चालनमा आएको नेपालको पहिलो भुक्तानी सेवा प्रदायक ‘ई–सेवा’ ११ औं वर्षमा प्रवेश गरेको छ । सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको ई–सेवा एक दशकको अवधिमा मुलुकका हरेक स्थानमा पुग्न सफल भएको छ । मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवा नेपालका हरेक नगरपालिका, गाउँपालिका तथा वडासम्म पुगेर क्यासलेस अर्थतन्त्रका निर्माण गर्ने सरकारको अभियानमा ठूलो योगदान दिन सफल भएको कम्पनीले जनाएको छ ।
एक दशकको अवधीमा इसेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या करिब ३० लाख पुगेको छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब १ करोड जनसंख्याले ई–सेवामार्फत सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिब ८० हजार एजेन्ट (ई–सेवा जोन तथा पोइन्ट) छन् । हालसम्म ई–सेवाको मोबाइल एप्स् डाउनलोड गर्नेको संख्या पनि करिब २० लाख पुगिसकेको कम्पनीले जनायो । १० वर्ष पूरा भइ ११ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा ई–सेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने, “यो एक दशक हाम्रा लागि निकै उत्साहजनक रह्यो । कुराकानीका लागि मात्र सीमित भएको मोबाइललाई हामीले वित्तीय कारोबार गर्न सक्ने बनाउन सफल भएका छौं । आगामी दिनमा पनि हामीले आम जनजीवनलाई सहज बनाउने खालका विभिन्न सेवा थप गर्दै जानेछौँ ’।
ई–सेवाले नेपालका सुविधासम्पन्न क्षेत्रदेखि विकट बस्तीहरूमा धेरै किसिमका सहजता ल्याएको छ । आम मानिसले लाइन बस्नुपरेमा सबैभन्दा पहिले ई–सेवालाई सम्झन थालेका छन् । आगामी दिनमा हरेक नेपालीको पहुँचमा पु¥याउने गरी अगाडि बढ्ने र थप सेवाहरू विस्तार गर्दै लगिने कम्पनीको योजना छ ।
इसेवाबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाईजहाज, बसको टिकट, स्कुल कलेजको शुल्कलगायतका दुई हजारभन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था सदस्य छन् । यी बैंकबाट ई–सेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्