Logo

कोशी पर्यटन वर्षको लोगो सार्वजनिक

विराटनगर – कोशी प्रदेश पर्यटन वर्षको नारा, लोगो र मस्कट सार्वजनिक गरिएको छ । चैत २७ गते तेह्रथुमको तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा ‘कोशी प्रदेश पर्यटन वर्ष–२०८२’ को औपचारिक उद्घाटन गरिने भएपछि कोशी पर्यटन वर्ष २०८२ को सचिवालयले पर्यटन वर्ष झल्काउने नारा, लोगो र मस्कट सार्वजनिक गरेको हो । पर्यटन वर्ष निर्देशक समितिका संयोजकसमेत रहेका मन्त्री सदानन्द मण्डलले नारा, लोगो र मस्कट सार्वजनिक गरेका हुन् ।

पर्यटन वर्षको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने मन्त्री मण्डलले जानकारी दिए । ‘कोशीको गौरव हिमालको शान, पर्यटन वर्षमा सबैलाई सम्मान’ भन्ने नारासहित कोशी प्रदेशको पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्ने लोगो र रेडपाण्डाले स्वागत गरिरहेको मस्कट मन्त्री मण्डलले सार्वजनिक गरेका हुन् । उनले सरकारले पर्यटन वर्षलाई प्राथमिकताको कार्यक्रमका साथ सफल बनाउन लागिपरेको बताए ।

मन्त्री मण्डलले पर्यटन वर्षलाई सकारात्मक प्राथमिकतामा राखेर समाचार सम्प्रेषण गरिदिन सञ्चारकर्मीलाई आग्रहसमेत गरे । ‘प्रदेशको सम्वृद्धिको बाटो बनाउनका लागि पर्यटन क्षेत्रको विकास महत्त्वपूर्ण रहेको छ,’ उनले भने, ‘कोशी प्रदेशमा स्थल मार्गको प्रयोगबाट पर्यटक भित्र्याउन सकिन्छ । त्यसका लागि सरकार चिन्तित भएर लागिरहेको छ ।’

मन्त्री मण्डलले कोशी प्रदेशभित्र पर्ने हिमाललाई प्रदेशले नै पर्यटन क्षेत्रका रुपमा बिक्री गर्न नसकेको बताए । त्यस्ता महत्त्वपूर्ण झरनाहरूलाई पनि प्रदेश सरकारले पर्यटक भित्र्याउनका लागि प्रयोग गर्न नसकेको बताए । कोशी प्रदेश पर्यटन वर्ष २०८२ को सचिवालयका सहसंयोजक भविषकुमार श्रेष्ठले पर्यटन वर्षको माध्यमबाट कोशी प्रदेशमा ओझेलमा परेका पर्यटकीय क्षेत्रको उजागर हुने बताए । श्रेष्ठले कोशी प्रदेशमा पर्यटनको प्रचार सम्भावना रहेको उल्लेख गरे ।

पर्यटन वर्षले यस क्षेत्रको पर्यटकीयस्थलहरूको प्रचारप्रसारमा महत्त्वपूर्ण भूमिका खेल्ने उनको तर्क थियो । आन्तरिक र बाह्य पर्यटकलाई बढीभन्दा बढी भित्र्याउने लक्ष्य राखिएको श्रेष्ठले बताए । अर्का सहसंयोजक कृष्ण शाहले पर्यटन वर्षको प्रचारप्रसारका लागि सरकारी तहबाट पूर्वसूचना दिने खालका कार्यक्रमहरू सञ्चालन गरिँदै आएको जानकारी दिए । सरकारले २०८२ साललाई प्रदेश पर्यटन वर्षका रूपमा मनाउन ८२ वटा गन्तव्यको प्रवर्द्धन गर्ने नीति लिएको जनाइएको छ ।

मन्त्रालयले माघ १० गते सुनसरीको कोशीटप्पुमा पर्यटन वर्षको तयारी बैठक आयोजना गरेको थियो । उक्त बैठकमा मन्त्रालयले कोशी प्रदेश पर्यटन वर्ष २०८२ का लागि ८२ वटा गन्तव्यबारे जानकारी गराएको थियो । पर्यटन वर्षको तयारीका लागि प्रदेश सरकारले कानुनी प्रक्रियागत उल्झनलाई हटाएर सहजीकरण गर्दै अघि बढेको मन्त्रालयका सचिव विशाल घिमिरेले जानकारी दिए ।

सचिवालयले पर्यटन वर्षको प्रचारप्रसारका लागि फडिन्द्र अधिकारीको संयोजकत्वमा उपसमिति गठन गरेको छ । उपसमितिका संयोजक अधिकारीले पर्यटन वर्षको प्रचारप्रसारका लागि कोशी प्रदेशमा मिडिया क्षेत्रसँग सकारात्मक उद्देश्यका साथ सहकार्यको थालनी गरिसकेको बताए । प्रदेशमा प्रमुख पर्यटकीय गन्तव्य १४ वटा रहेको बताउँदै उनले पर्यटन वर्षसँगै नयाँ विकास गरिनुपर्ने पर्यटकीय क्षेत्र १६ वटा रहेको जानकारी दिए ।

होटल व्यवसायीसमेत रहेका श्रेष्ठले प्रदेशमा तारेस्तरका होटल १२ वटा, पर्यटकीयस्तरका होटल ३६ वटा छन् भने निजी र सामुदायिक गरी कूल १ सय ५ वटा होमस्टे रहेका छन् । कोशी प्रदेशमा प्राकृतिक, सांस्कृतिक र धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा, मकालु, कञ्चनजंघा, ल्होत्सेलगायत ८ हजार मिटरभन्दा अग्ला हिमाल रहेका छन् । त्यस्तै पाथिभरा, बराहक्षेत्र, हलेसीजस्ता महत्त्वपूर्ण धार्मिकस्थल पनि कोशी प्रदेशमै अवस्थित छन् ।

प्रतिक्रिया दिनुहोस्