कैलालीमा ६० किलोमिटर सडक निर्माण
डेढ अर्बको आयोजना ठेक्का लगाउने तयारी

धनगढी– पूर्वाधार विकास कार्यालय कैलालीले बहुवर्षीय ठेक्कामार्फत् जिल्लामा ६० किलोमिटर सडक निर्माण गरेको छ । आर्थिक वर्ष २०७६/०७७ देखि २०७८/०७९ सम्म ठेक्का लगाइएका १४ वटा बहुवर्षीय ठेक्का सम्पन्न हुँदा ६०.६४ किलोमिटर सडक कालोपत्रे भएको कार्यालयले जनाएको छ ।
सो सडक कालोपत्रे गर्न एक अर्ब एक करोड ३७ लाख ५५ हजार रुपैयाँ खर्च भएको छ । सो सडक निर्माणका लागि एक अर्ब २८ करोड ८७ लाख ५८ हजार रुपैयाँ लागत स्टिमेट गरिएकोमा एक अर्ब ७३ लाख ५२ हजार रुपैयाँमा ठेक्का लगाइएको थियो । विभिन्न कारणले समयमा ती योजना सम्पन्न नहुँदा ६४ लाख रुपैयाँ लागत बढेको थियो । भजनी–सुख्खड सडकको १० किलोमिटर खण्ड निर्माण गर्न २०७६ फागुन २८ मै ठेक्का लगाइएको थियो ।
१६ करोड १८ लाख ५१ हजार रुपैयाँमा जोशी बिल्डर्स र सिएबी जेभीलाई दुई वर्षमा डबल बिटुमिट सरफेस ट्रिटमेन्ट (डिबिएसटी) गर्न गर्न ठेक्का लगाइएकोमा २०८१ जेठ १० गतेमात्रै निर्माण सम्पन्न भएको कार्यालयका प्राविधिक हर्क जोशीले बताए । उनले सो योजना सम्पन्न गर्न १७ करोड पाँच लाख ८९ हजार खर्च भएको बताए ।
सोही सडकको ७.८६ किलोमिटर खण्ड निर्माण गर्न पनि २०७९ असार २१ गते पिएस रोयल जेभीलाई दुई वर्षको ठेक्का दिइएको थियो । यो ठेक्का निर्धारित समय २०८१ असार २५ गते सम्पन्न भएको थियो । २३ करोड ८६ लाख ६८ हजारमा ठेक्का लगाइएकोमा अस्फाल्ट प्रविधिबाट डबल लेन सडक निर्माण गर्न २४ करोड ६३ लाख खर्च भएको छ । गत आर्थिक वर्षसम्म कैलालीमा ४७ वटा सडक आयोजना बुहवर्षीय ठेक्का लगाइएको थियो ।
चालु आर्थिक वर्षमा ३६ वटा बहुवर्षीय योजना क्रमागत रूपमा सञ्चालन भइरहेकोमा तीन वटा योजना यसै आर्थिक वर्षमा सम्पन्न भएको पूर्वाधार विकास कार्यालय कैलालीका प्रमुख इन्जिनियर रामचन्द्र खत्रीले बताए । उनले कैलालीमा ३३ वटा पुराना बहुवर्षीय योजना बाँकी रहेको बताए । उनले अधिकांश योजनाको बाँकी योजनामध्ये नौ वटाको म्याद सकिएको र २४ वटा योजनाको म्याद बाँकी रहेको बताए ।
कार्यालय प्रमुख खत्रीले सडकको नियमित तथा आवधिक मर्मत सम्भारका लागि आवश्यक निर्देशिका नभएकाले निर्माण भएका सडक हस्तान्तरण पनि मर्मत सम्भार गर्न नसकिरहेको बताए । उनले दरबन्दीको आधारमा योजना संख्या धेरै भएको र बहुवर्षीय ठेक्का लागेका योजनामा न्यून विनियोजनका कारणले योजनाको भौतिक प्रगति लक्ष्यअनुसार हुन नसकेको बताए । उनले बहुवर्षीय स्रोत सहमति ढिला प्राप्त भएको कारण कार्यान्वयनमा पनि ढिलाइ भएको बताए ।
चालु आर्थिक वर्षमा पूर्वाधार विकास कार्यालय कैलालीले १४ वटा सडक र नौ वटा पुल गरी २३ वटा आयोजनाको बहुवर्षीय ठेक्का गर्न स्रोत सहमति पाएको छ । एक अर्ब ५४ करोड ३९ लाख लागतका यी आयोजनाका लागि चालु वर्षमा ४२ करोड ८५ लाख विनियोजन भएको प्रमुख इन्जिनियर खत्रीले बताए । उनले स्रोत सहमति पाएसँगै ठेक्का लगाउने तयारी भइरहेको बताउँदै चालु आर्थिक वर्षमा पनि स्रोत सहमति ढिलो पाएका कारण असारसम्म ठेक्का प्रक्रिया नै गर्न समय लाग्ने बताए । उनले यी योजना आउँदो आर्थिक वर्षमा मात्रै कार्यान्वयनमा जानसक्ने बताए ।