Logo

घाम, छाला र सनस्क्रिन

सूर्यबाट निस्किने हानिकारक किरणका कारणले हुने क्षतिबाट छालालाई जोगाउन प्रयोग गरिने साधन नै सनस्क्रिन, सन ब्लक वा सनक्रिम हो । सूर्यबाट निस्किने ताप र प्रकाश हाम्रो लागि उपयोगी भए पनि पराबैजनी किरण छालाका लागि हानिकारक हुन्छन् । विभिन्न अध्ययनका अनुसार जनमानसमा घामको नराम्रो असर र यसबाट जोगिने उपायहरूबारे पर्याप्त ज्ञान नभएको देखिएको छ ।

घामले छालामा पर्ने असर
–छाला रातो हुनु, पोल्नु, डढ्नु ।
–घमौरा आउनु, छालामा डाबर आउनु, चिलाउनु ।
–घामको एलर्जी हुनु, काला दाग–धब्बा एवं चाया–पोतो आउनु ।
– उमेर नपुग्दै छाला चाउरी पर्नु, छालाको क्यान्सर हुनु ।

घामबाट जोगिनैपर्ने व्यक्ति
–घामको किरणले एलर्जी हुने व्यक्ति (जसको छालामा घाम पर्नेबित्तिकै चिलाउन थाल्छ) ।
–घामले असर गर्ने छाला (लुपसजस्तै अन्य छालाको बाथ भएका व्यक्तिहरू) ।
–छालामा कालो दाग–धब्बा, चाया–पोतो आदि समस्या भएका व्यक्तिहरू ।
–सेतो दुबी (पाण्डु रोग/भिटिलिगो) भएका व्यक्तिहरू ।
–घाममा बसेर काम गर्ने व्यक्तिहरू ।
–आफ्नो छालाको स्याहारप्रति संवेदनशील व्यक्तिहरू (प्राकृतिक रूपमा हुने बुढ्यौलीलाई रोक्न त सकिँदैन, तर उचित तरिकाले नियमित रूपमा सनस्क्रिनको प्रयोग गर्नाले अस्वाभाविक वा उमेर नपुग्दै देखिने बुढ्यौलीका चिह्नहरूलाई चाहिँ केही हदसम्म रोक्न र फर्काउन पनि सकिन्छ ।)

घामको असरबाट जोगिने उपाय
–मध्याह्नको घाममा सकभर बाहिर ननिस्कनुहोस् ।
–घाममा निस्किनैपरे पूरा छाला ढाक्ने गरी लामो बाहुला भएको लुगा लगाउनुहोस् ।
–सनग्लासको प्रयोग गर्नुहोस् ।
–घाममा जाँदा छाता ओढ्नुहोस् ।
–फराकिलो घेरा भएको टोपी, छतरी वा ह्याट लगाउनुहोस् ।
–सनस्क्रिनको प्रयोग गर्नुहोस् ।

सनस्क्रिन प्रयोग कसरी गर्नुपर्छ ?
घामबाट जोगिनुका अतिरिक्त हरेक दिन उचित तरिकाले सनस्क्रिनको प्रयोग गरेमा सूर्यका किरणहरूले छालामा गर्ने असर रोक्न सकिन्छ । हामी धेरैले जानेर वा लहैलहैमा सनस्क्रिन लगाइरहेका छौँ । तर, उचित र प्रभावकारी तरिकाले यसको प्रयोग नहुँदा यसबाट जति फाइदा हुनुपर्ने हो, त्यति फाइदा पाउन सकेका छैनौँ । विशेष गरी युवती र महिलामाझ यो लोकप्रिय देखिए पनि बालक, महिला र पुरुष सबैले यसको प्रयोग गरेर फाइदा लिन सकिन्छ ।

–कम्तीमा पनि एसपिएफ–३० को पानी प्रतिरोधक सनस्क्रिन प्रयोग गर्नुपर्छ ।
–पराबैजनी किरण ‘ए’ र पराबैजनी किरण ‘बी’ दुवैबाट बचाउने ब्रोड स्पेक्ट्रम सनस्क्रिन प्रयोग गर्नुपर्छ ।
–चिल्लो छाला भएको व्यक्तिले वाटर बेस्ड र सुक्खा छाला भएको व्यक्तिले क्रिम बेस्ड सनस्क्रिन लगाउनुपर्छ ।
–सूर्यको किरण छालामा पर्नुभन्दा १५–२० मिनेटअघि नै सनस्क्रिन लगाइसक्नुपर्छ । यो लगाउँदा नमाडीकन दूधको ‘तर’जस्तै पत्र हुने गरी लगाउनुपर्छ ।
–अनुहार र घाँटीको छालामा लगाउनका लागि करिब आधा चिया चम्चा सनस्क्रिन पर्याप्त हुन्छ ।
–अनुहारबाहेक लुगाले नछोपेको सबै भाग जस्तै : ओठ, कान, घाँटी, गर्दन, पाखुरा आदिमा पनि सनस्क्रिन लगाउनुपर्छ ।
– घाम नलागेको दिन (जस्तै : बादल लागेको, पानी परेको दिन) मा पनि पराबैजनी किरण बादललाई पार गरेर पृथ्वीमा आउने भएकाले यस्तो बेलामा पनि सनस्क्रिन लगाउनुपर्छ ।
– घाममा बसेर गर्नुपर्ने काम जस्तै : खेती–किसानी, पौडी खेल्नु, हाइकिङ/ट्रेकिङ गर्दै हुनुहुन्छ भने हरेक दुई–दुई घण्टा फरकमा सनस्क्रिन लगाउनुपर्छ ।

सूर्यको प्राकृतिक प्रकाशबाहेक कृत्रिम प्रकाश जस्तै : एलइडी, मोबाइल, कम्प्युटर आदिबाट निस्किने प्रकाशले पनि हाम्रो छालालाई असर पुर्‍याउने हुनाले यी साधन प्रयोग गर्दा पनि आफ्नो छालालाई जोगाउनुपर्छ । जहिले पनि यो कुरा याद गर्नुहोस् कि कुनै पनि सनस्क्रिन हाम्रो छालालाई जोगाउन आफैँमा पूर्ण रूपमा सक्षम हुँदैनन् । त्यसैले सनस्क्रिनसँगसँगै घामबाट जोगिने अन्य उपायहरू पनि अवलम्बन गर्नुपर्छ ।

(लेखक :- सह प्रा.डा. मधु ज्ञवाली आरोग्य स्वास्थ्य सदन, जाउलाखेलका छाला (चर्म) तथा यौनरोग विशेषज्ञ हुन् ।)

प्रतिक्रिया दिनुहोस्