Logo

पाणिनीमा ४६२ अपांगलाई परिचयपत्र

अर्घाखाँची- आफूले काम गर्न पनि नसक्ने । घरका परिवारका सदस्यको भर परेर जीविका गुजार्दै आएका अपांग धेरै छन् । परिवारको संरक्षणमा रही केही काम गर्न नसक्ने अपांगले स्थानीय तहले प्रदान गर्ने परिचयपत्र पाउँदा खुसी भएका छन् । घरकै परिवारको संरक्षणमा रहेका पाणिनी–६ का भवानी पौडेलले क वर्गको अपांगता परिचयपत्र पाए । पाणिनी–५ मैदान अमजाका कमला बेल्वासे शारीरिक रूपमा अपांग छन् । उनले परिचयपत्र पाएपछि राज्यबाट सुविधा पाउने भएँ भन्दै खुसी भइन् ।
मंसिर महिनामा चिवेक, पोखराथोक र दुर्गाफाटमा शिविर सञ्चालन गरेको पाणिनी गाउँपालिकाले मासिक रूपमा शिविर सञ्चालन गरेर परिचयपत्र वितरण गर्ने भएको छ । गाउँपालिकाले दुर्गाफाटमा ४४ जनालाई परिचयपत्र वितरण गरेको गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले बताए ।
गाउँपालिकाले क वर्गकालाई रातो, ख वर्गलाई निलो, ग वर्गलाई पहेंलो र घ वर्गलाई सेतो परिचयपत्र वितरण गरेको छ । क र ख वर्गकाले क्रमशः तीन हजार र १६ सय रुपैयाँ भत्ता पाउने अध्यक्ष गौतमले बताए । पाणिनी गाउँपालिकाले चालू वर्षमा प्रत्येक महिना जनतालाई सहज हुने गरी परिचयपत्र वितरण गर्ने र छुटेका अपांगका लागि पुनः फागुनमा शिविर सञ्चालन गर्ने गौतमले बताए ।
आफूले केही काम गर्न नसक्ने अपांगलाई परिचयपत्रले दैनिकी चलाउन सहज हुने गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी गौतमले बताइन् । डाक्टरको सिफारिस अनुसार व्यक्तिको प्रकृति बुझेर मात्र अपांगताको आधारमा परिचयपत्र बनाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्