सामाजिक सुरक्षाको पैसा लिन रेमिट कम्पनी प्रयोग

काठमाडौं– विदेश जानुअघि सामाजिक सुरक्षा योजनामा सूचीकृत भएका हजारौं श्रमिकले नियमित रुपमा रकम जम्मा नगरेपछि सरकारले रेमिट कम्पनी प्रयोग गर्ने भएको छ ।
विदेशमा रहेका नेपाली श्रमिकले रेमिट कम्पनीमार्पmत नेपालमा पैसा पठाउँदा सुरक्षा योजनामा लाग्ने योगदान रकम काट्ने योजना सरकारले गरेको हो । यसका लागि सामाजिक सुरक्षा कोषले दुईवटा रेमिट कम्पनीसँग सम्झौता गरिसकेको छ । कोषका अनुसार रेमिट कम्पनीले कामदारलाई सम्झाएर मात्र रकम काट्नेछन् । जबरजस्ती भने गर्न पाउने छैनन् ।
कोषका प्रवक्ता कृष्ण अधिकारीले विदेशमा कार्यरत नेपाली श्रमिकले प्रत्येक महिना नेपालमा पैसा पठाउँदा रेमिट कम्पनीले योगदान रकम विदेशमै लिने र त्यसपछिको रकम पठाउने व्यवस्था गर्ने गरी सम्झौता भएको बताए । यसका लागि कोषले ग्लोबल आइएमई रेमिट र हिमाल रेमिटसँग सम्झौता गरी संकलनको कामसमेत शुरु गरेको छ । विदेशमा रहेका सबै रेमिट कम्पनीसँग क्रमशः यस्तो सम्झौता गरिने जानकारी प्रवक्ता अधिकारीले दिए ।
वैदेशिक रोजगारीमा रहेका मध्ये हालसम्म १४ लाख ६१ हजार श्रमिक योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सूचीकृत भएका छन । यसमध्ये करिब ९० प्रतिशत श्रमिकले योगदान रकम नियमित जम्मा गर्दैनन् । सुरक्षा योजनामा आवद्धमध्ये ठूलो संख्याले नियमित रकम जम्मा नगरेका कारण सरकारले रेमिटलाई संलग्न बनाउने योजना ल्याएको हो ।
सरकारले वैदेशिक रोजगारीमा जानुअघि श्रमस्वीकृति लिँदा नै सुरक्षा योजनामा अनिवार्य सूचीकृत हुनुपर्ने प्रावधान बनाएको छ । श्रमस्वीकृति लिएर विदेश जाने सबै यसमा आवद्ध हुनुपर्छ । यसको कार्यान्वयन गराउन भने सरकार असफल भएको छ ।
सामाजिक सुरक्षा कोषले विदेशमा रहेका श्रमिकको योगदान रकम नियमित गराउन विभिन्न लाभमूलक योजना ल्याउने तयारी गरेको छ । कोषमा प्रवक्ता अधिकारीका अनुसार वैदेशिक रोजगारीमा रहेका श्रमिकका परिवारका लागि १ लाख रुपैयाँबराबर औषधी उपचार खर्च दिने योजना यसअघि नै शुरु गरिएको छ । यसैगरी वैदेशिक क्षेत्र सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधिमा संशोधन गरेर आकर्षण गराउने लाभका योजना थप गर्ने तयारी छ ।
हालसम्म वैदेशिक रोजगारीमा जाने श्रमिकले कोषमा ३ अर्ब ३३ करोड रुपैयाँ जम्मा गरेका छन् । योजनामा सूचीकृत भएर वैदेशिक रोजगारीमा गएका १४ लाख ६१ हजारले योगदान रकम नियमित गराउने हो भने कोषमा प्रतिमहिना ३ अर्ब ३० करोड रुपैयाँभन्दा बढी जम्मा हुने देखिन्छ । वैदेशिक रोजगारीमा जाने अधिकांश श्रमिक श्रमस्वीकृतिको प्रक्रियाका लागिमात्र योजनामा सूचीकरण हुने गरेको देखिएपछि सामाजिक सुरक्षा कोषले कार्यविधिमा संशोधन गर्ने तयारी गरेको छ ।
प्रवक्ता अधिकारीले योगदान रकम नियमित गराउन तथा कोषमा सूचीकृत गराउने अभिप्रायले कार्यविधिमा संशोधन गर्न समिति बनेको जानकारी दिए । समितिले दिएको सुझावका आधारमा कार्यविधि संशोधन गरी सुविधा बढाइने छ । सरकारले सबै वर्गका श्रमिक तथा कर्मचारीलाई सामाजिक सुरक्षामा अनिवार्य सूचीकरण भएर नियमित योगदान रकम जम्मा गर्ने प्रावधान बनाए पनि वैदेशिक रोजगारीमा रहेका अधिकांश श्रमिकको योगदान रकम नियमित हुन सकेको छैन । सरकारले वैदेशिक रोजगारीमा रहेका श्रमिकको हितका लागि सञ्चालनमा ल्याएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा विदेशमा रहेका युवाले बाध्यता र औपचारिकताका लागिमात्र रकम जम्मा गर्ने गरेका छन् ।
श्रम स्वीकृति लिनमात्र कोषमा आवद्ध हुनुपर्ने बुझाइका कारण रकम नियमित हुने नगरेको पाइएको छ । सामाजिक सुरक्षा योजनाको फाइदाभन्दा पनि श्रमस्वीकृति पाउन बाध्य भएर रकम जम्मा गर्ने गरेको जस्तो देखिएको छ । रोजगारीका लागि विदेश जाने अधिकांश युवाले विदेश पुगेपछि सामाजिक सुरक्षाको योगदान रकम नियमित नगर्दा सूचीकरण हुनेको संख्या औपचारिक श्रमिकभन्दा दोब्बर भए पनि रकम संकलन भने न्यून छ । अहिलेसम्म यो योजनामा सूचीकृत भएका १३ लाख श्रमिकमध्ये ९० हजारले मात्र योगदान रकम नियमित जम्मा गर्दै आएका छन् । यो तथ्यांकले विदेश जानका लागिमात्र मजदुर योजनामा आवद्ध भएको देखाएको छ । सरकारले वैदेशिक रोजगारीमा जानेलाई कोषमा सूचीकरण अनिवार्य गरेको छ ।
अघिल्लो वर्षको चैतदेखि सरकारले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आवद्ध गराउने योजना कार्यान्वयनमा ल्याएको हो । श्रमस्वीकृतिका बेला सूचीकरण भएका १३ लाख ७१ हजार श्रमिकको योगदान नियमित छैन । वैदेशिक रोजगारीमा गएका श्रमिकको नियमित योगदानको सुनिश्चितता गराउने विषय कोषका लागि प्रमुख चुनौती बनेको छ ।
सरकारले वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगार रहेका नेपालीलाई योजनामा सहभागी गराउन प्रमुख श्रम गन्तव्यका नियोगलाई समेत अनुरोध गरिरहेका कारण योगदानकर्ता बढ्ने कोषको विश्वास छ । योजनामा समावेश हुने श्रमिकले मासिक २ हजार ३ रुपैयाँ बुझाउनु पर्नेछ । रकम एकमुष्ट बुझाए जम्मा गरेको रकममा १० प्रतिशत छुट पाइने कोषले जनाएको छ । यो रकम खल्ती, ईसेवा र कनेक्ट आईपीएस मार्फत जम्मा गर्ने व्यवस्था मिलाइएको छ ।