Logo

अमेरिकी भन्सार नीतिको नेपाललाई असर र लाभ दुवै

काठमाडौं– अमेरिकाले शुक्रबारदेखि लागु गर्ने नयाँ भन्सार महशुल दरले नेपाललाई पनि प्रत्यक्ष–अप्रत्यक्ष असर पार्ने देखिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ‘मुक्ति दिवस’ नाम दिँदै ‘रेसिप्रोकल’ भन्सार महशुल घोषणा गरेका थिए । अमेरिकालाई अन्य मुलुकबाट ठगिनबाट रोक्ने र अमेरिकी उद्योगको नयाँ सुनौलो युग निर्माणका लागि भन्दै महशुल घोषणा गरिएको थियो ।

राष्ट्रपति ट्रम्पले सबै आयातित सामानमा कम्तीमा १० प्रतिशत आधारभूत ‘ट्यारिफ’ लगाउने घोषणा गरेअनुरुप नेपाल पनि परेको हो । उनका अनुसार व्यापार घाटा र अन्य व्यापारिक असमानताका आधारमा केही देशहरूमा थप उच्च ट्यारिफ पनि लगाइनेछ ।

राष्ट्रपति ट्रम्पको घोषणाअनुसार अब नेपाली वस्तुको अमेरिकी बजारमा १० प्रतिशत भाउ वृद्धि हुनेछ । यसले बजार पाउन थप प्रतिस्पर्धा गर्नुपर्नेछ । यस्तै, अहिलेको महशुल विवादले संसारभर तनाव बढ्दा यसको असर नेपालको निर्यात बजारमा स्वाभाविकै रुपमा पार्नेछ ।

अर्कोतिर ट्रम्पको भन्सार नीतिअनुसार नेपाली वस्तुको तुलनामा अन्य मुलुकका वस्तुमा धेरै भन्सार दर लगाइएको छ । यसबाट नेपाललाई फाइदा उठाउने मौका मिलेको छ । हामीले जुन वस्तुहरु अमेरिका निर्यात गर्दै आएका छौं, ठिक त्यस्तै वस्तुहरु अन्य मुलुकले पनि निर्यात गरिरहेका छन् । तर, हाम्रो र अन्य मुलुकहरुको भन्सारदर ठूलो मात्रामा फरक परेकाले नेपाली व्यवसायीलाई यसबाट फाइदा उठाउने मौका मिलेको देखिन्छ ।

नेपालका दुई छिमेकी मुलुकमध्ये चीनबाट निर्यात हुने वस्तुमा ३४ प्रतिशत तथा भारतबाट निर्यात हुने वस्तुमा २६ प्रतिशत भन्सार महशुल लगाइएको छ । अमेरिकाले नेपाललाई लक्षित गर्दै कुनै विशेष ट्यारिफ दर घोषणा गरेको छैन । तथापि, नेपालले अमेरिकामा निर्यात गर्ने वस्तुहरूमा १० प्रतिशतको आधारभूत ट्यारिफ भने लागु भएको छ ।

निर्यात व्यवसायी अनुप मल्लका अनुसार अमेरिकाले १० प्रतिशत भन्सार लगाएकाले बजारमा नेपाली वस्तु दक्षिण एसियाकै महँगो पर्नेछ । यसले आउँदा दिनमा निर्यातमा ठूलो समस्या आउन सक्नेछ । उनका अनुसार हाल अमेरिकी बजारमा गएका केही वस्तु शून्य भन्सार सुविधा अन्तर्गतका छन् । यी नेपाली उत्पादनहरूको अब प्रतिस्पर्धात्मक क्षमता कम हुनेछ, जसले निर्यातमा नकारात्मक असर पार्न सक्छ ।

नेपालले अझै पनि अमेरिकामा न्यूनतम भन्सार सुविधा पाइरहेका कारण प्रतिस्पर्धात्मक लाभ भएका वस्तुहरु निकासीको सम्भावना भने उच्च रहेको नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक गोकर्ण अवस्थी बताउँछन् । ‘अमेरिकाले सार्वजनिक गरेको भन्सार दरअनुसार नेपाली सामानमा औसत १० प्रतिशत छ । भारत, बंगलादेश, चीन र भियतनामको भन्दा यो निकै कम हो,’ अवस्थी भन्छन्, ‘पहिलो दृष्टिमा नेपालले फाइदा लिन सक्ने ठाउँ देखिएको छ । यद्यपि, यसको असर दिर्घकालसम्म कस्तो देखिन्छ त्यो अध्ययनले देखाउला ।’

नेपाल र अमेरिकाबीच व्यापार घाटा ठूलो छैन । एक वर्ष अघिसम्म अमेरिकासँगको व्यापारमा नाफामा रहेको नेपाल अहिले भने घाटाको स्थितिमा रहेकाले अमेरिकाको नजर नेपालमा पर्ने सम्भावना नरहेको व्यापार विज्ञहरु बताउँछन् । भन्सार विभागका अनुसार गत फागुनसम्म अमेरिकासँग नेपालको व्यापार घाटा ५ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ । यो अवधिमा १७ अर्ब ३५ करोडको आयात र ११ अर्ब ३७ करोडको निर्यात भएको छ । अमेरिकाका लागि नेपालसँगको व्यापारको अंश अत्यन्त सानो रहे पनि नेपालका लागि भने अमेरिकी नीति निकै महत्वपूर्ण रहेको छ । भारतपछि अमेरिका नै नेपालको दोस्रो ठूलो निकासी बजार भएकाले नेपालको व्यापार घाटा अमेरिकी नीतिमाथि पनि निर्भर गर्ने अवस्था छ ।

वाणिज्य मन्त्रालयका पूर्व सहसचिव रवि सैंजुले तत्कालका लागि नेपालबाट निर्यात हुने गलैंचा, तयारी पोशाक र कुकुरको खानेकुरा (डग च्यू) लगायतका सामग्रीमा असर पर्ने दखिएको बताए । नेपालले शून्य भन्सार सुविधा पाएका ७७ वटा वस्तुको समय पनि अब एक वर्षपछि सकिँदैछ । उनका अनुसार अमेरिकीहरुको आयको ग्राफ घटिरहेको अवस्थामा उनीहरुको उपभोगको प्रवृत्ति परिवर्तन हुने देखिएकोले नेपाली वस्तुलाई फाइदा पनि हुन सक्ने देखिन्छ । तर, यसको दिर्घकालमा असर कस्तो पर्छ भन्ने अध्ययन गर्नुपर्ने उनी बताउँछन् ।

सैंजुका अनुसार अमेरिकासँग नेपालको व्यापारको आकार ठूलो भएको अवस्थामा अथवा व्यापार घाटा बढेको बेला नेपालमाथि थप ट्यारिफ लगाइने सम्भावना रहन्छ । तर, हालसम्म यस्तो कुनै घोषणा भएको छैन । त्यस्तो बेलामा भने नेपाली निर्यातकहरूले अमेरिकी बजारमा प्रतिस्पर्धा गर्न कठिनाइ महसुस गर्न सक्छन्, जसले नेपालको कुल निर्यातमा नकारात्मक असर पार्न सक्छ । तर, तत्कालै भने नेपालका लागि नयाँ ट्यारिफ हानिकारक हुने सम्भावना नरहेको व्यवसायी बताउँछन् ।

अमेरिकाले तयारी पोशाकमा नेपालको प्रतिस्पर्धी मुलुक बंगलादेशबाट आयात गरिने वस्तुको भन्सार दर उच्च कायम गरेका कारण नेपाली पक्ष आशावादी भने छ । बंगलादेशलाई विशेष रूपमा लक्षित गर्दै अमेरिकी प्रशासनले बंगलादेशी निर्यातमा ३७ प्रतिशतको भन्सार लगाएको छ । बंगलादेशको अर्थतन्त्र मुख्यतया तयारी पोशाक उद्योगमा निर्भर छ, जसले कुल निर्यातको ८० प्रतिशतभन्दा बढी योगदान दिन्छ । अमेरिका यसको प्रमुख बजारमध्ये एक हो । नयाँ ट्यारिफले अमेरिकी बजारमा बंगलादेशी उत्पादनको मूल्यवृद्धि गर्नेछ, जसले प्रतिस्पर्धात्मकता घटाउने र निर्यातमा गिरावट ल्याउने सम्भावना छ । यसबाट नेपालले कसरी लाभ लिन सक्ने भनेर सोच्नुपर्ने तयारी पोशाक उद्योगी बताउँछन् ।

अमेरिकाले भियतनाम र कम्बोडियाबाट आउने सामानहरूमा क्रमशः ४६ प्रतिशत र ४९ प्रतिशतको शुल्क लगाएको छ भने चीनमाथि ५३ प्रतिशत, ईयू र दक्षिण कोरियामाथि २० प्रतिशत शुल्क लगाएको छ । यसको असर अमेरिकी उपभोक्तामा पनि पर्ने र त्यसबाट बजार भाउ बढ्ने हुँदा विश्वभरि आर्थिक मन्दी फैलिन सक्ने बताइएको छ । अमेरिकी अर्थतन्त्रलाई विश्वको सबैभन्दा ठूलो मानिन्छ । ट्रम्पको घोषणाका कारण अमेरिका मन्दीमा फस्ने सम्भावना ५० प्रतिशतले बढेको पूर्वानुमान अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)का भूतपूर्व प्रमुख अर्थशास्त्री केन रोगोफले गरेका छन् । नेपालजस्ता देशहरु फेरि मन्दीको चपेटामा पर्ने जोखिम यसले बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्