घिसिङलाई अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं- नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । बिहीबार न्यायाधीश कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासले घिसिङलाई अन्तरिम आदेश जारी नगर्ने आदेश गरेको हो । तर यो मुद्दाले भने अग्राधिकार पाउने भएको छ ।
साथै प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले निरन्तर रूपमा काम गर्न सक्ने भएका छन् । शाक्यले दिएको मुद्दामा पनि अन्तरिम आदेश जारी नहुने भएको छ । यसअघि घिसिङले मन्त्रिपरिषदले उनलाई बर्खास्त गरी शाक्यलाई नियुक्त गर्ने निर्णयलाई बदर गर्न अन्तरिम आदेशको माग गरेका थिए ।
न्यायाधीश चुडाल र पाण्डेयको इजलासमा तीन दिनदेखि निरन्तर सुनुवाइ भइरहेको यो रिटको सुनुवाइ बिहीबार सकिएको हो । यता शाक्यले भने यसअघि आफूलाई गैरकानुनी रूपमा हटाइएको भन्दै चार वर्षको पारिश्रमिक माग गरेका थिए । सुनुवाइ सकिए पनि आदेशको पूर्णपाठ आउन बाँकी छ ।