संसारकै धनाढ्यमा मस्क पहिलो

काठमाडौं– संसारमा सबैभन्दा धनी व्यक्तिका रुपमा इलन मस्क परेका छन् । विद्युतीय कार टेस्लासहति सात कम्पनीका संस्थापक मस्कले संसारका धनीहरूको सूचीको पहिलो स्थानमा परेका हुन् । विश्वभरिका अर्बपतिहरूको सूची प्रकाशन गर्ने फोब्र्सले सन् २०२५ का लागि तयार पारेको सूचीमा मस्कको सम्पत्ति ३ खर्ब ४२ अर्ब अमेरिकी डलर बराबर देखिएको छ ।
यति बराबर सम्पत्ति हुने संसारमा अरु कोही छैनन् । यो मात्र होइन संसारकै दोस्रो धनाढ्य व्यक्तिको भन्दा मस्कको सम्पत्ति एक खर्ब २६ खर्ब डलरले बढी छ । अमेरिकाका ५३ वर्षीय मस्कका टेस्ला, स्पेस एक्स, आर्टफिसियिल इन्टिलिजेन्स स्टार्टअप एक्सएआई लगायत सात कम्पनी छन् । यस्तै सामाजकि सञ्जाल एक्स ट्वटिर पनि उनको कम्पनी हो ।
फोब्र्सले यो वर्ष ३ हजार २८ जना अर्बपतिलाई सूचीमा समेटेको छ । फोब्र्सको सूचीमा पर्न कम्तीमा १ अर्ब अमेरिकी डलर बराबर सम्पत्ति हुनुपर्छ । यो वर्ष २ सय ४७८ जना नयाँ अर्बपति सूचीमा परेका छन् । सबैभन्दा कान्छा अर्बपति जर्मनीका १९ वर्षीय जोहानिज भोन बौमब्याक छन् । उनको सम्पत्ति ५ अर्ब ४० करोड डलर बराबर छ ।
फोब्र्सको सूचीको दोस्रो नम्बरमा २ खर्ब १६ अर्ब डलर सम्पत्तिसहित सामाजकि सञ्जाल फेसबुकका सञ्चालक ४० वर्षीय मार्क जुकरबर्ग परेका छन् । उनी पनि अमेरिकी नै हुन् । यस्तै तेस्रो स्थानमा अमेरिकाका जेफ बेजोस छन् । अमेजनका सञ्चालक ६१ वर्षीय बेजोसको सम्पत्ति २ खर्ब १५ अर्ब डलर बराबर छ । यसैगरी चौथो स्थानमा ओराकलका सञ्चालक ८० वर्षीय ल्यारी इलिसन परेका छन् । उनको सम्पत्ति १ खर्ब ९२ अर्ब डलर बराबर छ । इलिसन पनि अमेरिकी नै हुन् ।
फोब्र्सका अनुसार धनाढ्यको सूचीमा पाँचौ नम्बरमा पर्ने भने अमेरिका बाहिरका छन् । एक खर्ब ७८ अर्ब डलर कुल सम्पत्तिसहित पाँचौं स्थानमा फ्रान्सको बर्नार्ड आर्नो एन्ड फेमिली परेका हुन् । यस्तै १ खर्ब ५४ अर्ब डलर कुल सम्पत्तिसहित अमेरिकाका वारेन बफेट छैटौं, १ खर्ब ४४ अर्ब डलर सहित गुगलका मालिक अमेरिकाका ल्यारी पेज सातौं नम्बरमा परेका छन् ।
गुगलकै अर्का मालिक सर्गे ब्रिन १ खर्ब ३८ अर्ब डलर सहित आठौं, १ खर्ब २४ अर्ब डलर सहित जारा कम्पनीका मालिक अमान्सियो ओर्टेगा नवौं र माइक्रोसफ्टका मालिक अमेरिकाका स्टिभ बाल्मर १ खर्ब १८ अर्ब डलर कुल सम्पत्तिसहित दसौं नम्बरमा परेका छन् । फोब्र्सका अनुसार पहिलोदेखि चौथो स्थानसम्म अमेरिकी धनाढ्यहरू परेका छन् ।
यस्तै १० ठुला धनाढ्यमध्ये ८ वटा अमेरिकाका छन् भने फ्रान्सका बर्नार्ड आर्नो एन्ड फेमिली पाँचौ र स्पेनका ओर्टेगा नबौंमा परेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि धनाढ्यको सूचीमा परेका छन् । फोब्र्सका अनुसार ट्रम सूचीको ७००औं स्थानमा परेका छन् । उनको कुल सम्पत्ति ५ अर्ब १० करोड डलर बराबर छ । यसैगरी दक्षिणी छिमेकी भारतीय अर्बपतिहरू कोही पनि शीर्ष १० भित्र पर्न सकेनन् ।
भारतका कोही पनि व्यवसायीसँग एक खर्ब डलर सम्पत्ति देखिएको छैन । भारतका सबैभन्दा धनी मुकेश अम्बानी फोब्र्स सूचीको १८ नम्बरमा छन् । उनको सम्पत्ति ९२ अर्ब ५० करोड डलर बराबर छ । यसैगरी सामाजिक सञ्जाल टिकटकका सञ्चालक चीनका ४१ वर्षीय झाङ यिमिङ फोब्र्स सूचीको २३ नम्बरमा परेका छन् । उनको सम्पत्ति ६५ अर्ब ५० करोड डलर बराबर रहेको भनिएको छ ।
चौधरीको सम्पत्ति २ अर्ब डलर
नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरी यो वर्ष फोब्र्स सूचीको १७६३ स्थानमा परेका छन् । उनको कुल सम्पत्ति २ अर्ब अमेरिकी डलर रहेको छ । बिहीबारको विनिमयदर अनुसार चौधरीको नेपाली रुपैयाँमा २ खर्ब ७४ अर्ब रुपैयाँ बराबर सम्पत्ति पुगेको छ । चौधरीको उद्योग, बैंक तथा वित्तीय संस्था, होटल, अटोमोबाइललगायत क्षेत्रमा लगानी छ ।