सूर्य नेपालद्वारा एम्बुलेन्स हस्तान्तरण

दमौली– सूर्य नेपालले शुक्लागण्डकी नगरपालिका–१२ फिरफिरे स्वास्थ्य चौकीलाई एक थान एम्बुलेन्स सहयोग गरेको छ । शुक्लागण्डकी नगरपालिका–७ शेरामा कारखाना रहेको प्रालिले शुक्लागण्डकी नगरपालिकासँगको सहकार्यमा मंगलबार एम्बुलेन्स सहयोग गरेको हो ।
शुक्लागण्डकी नगरपालिका–१२ लगायत यस वरपरका वडाको अनुरोधमा सूर्य नेपाललेसामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तर्गत एम्बुलेन्स हस्तान्तरण गरेको कम्पनीका मानव संशाधन प्रमुख अन्जन दुवाडीले जानकारी दिए । कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य श्यामराजा महतले एम्बुलेन्सबाट शुक्लागण्डकी नगरपालिका–१२ लगायत आसपासका वडा र सिङ्गो नगरपालिकाका सर्वसाधारण लाभान्वित हुने बताए ।
सूर्य नेपालका कारखाना प्रमुख बाबुराम कार्कीले एम्बुलेन्सको आवश्यक हेरचाह, संरक्षण, मर्मत संभार तथा यथोचित उपयोग हुनेमा आफूहरु विश्वस्त रहेको बताए । आगामी दिनमा पनि नगरपालिकासँको सहकार्यमा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गरिने उनको भनाइ छ । कम्पनीले २२ लाख मूल्य बराबरको एम्बुलेन्स सहयोग गरेको हो । कम्पनीले सूर्य नेपाल आसा, सूर्य नेपाल प्रकृति, सूर्य नेपाल आधारसिला र सूर्य नेपाल गाथाको उद्देश्य बमोजिम दिगो विकासलाई आत्मसाथ गर्दै यस क्षेत्रमा विभिन्न परियोजनाहरु सञ्चालन गरिरहेको छ ।
कम्पनीले यस क्षेत्रमा स्कुल निर्माण, सडक, बाटोघाटो, खानेपानी, एम्बुलेन्स, स्वास्थ्य शिविर, नदी नियन्त्रण, दमकल, शैक्षिक सामग्री वितरण तथा टिच फर नेपालसँगको सहकार्यमा विभिन्न सामुदायिक विद्यालयमा अंग्रेजी, गणित, विज्ञान र कम्प्युटर विषयका शिक्षक उपलब्ध गराएको छ ।