कनेक्ट आईपीएसबाट पाँच सय रूपैयाँसम्म पैसा पठाउँदा शुल्क नलाग्ने

काठमाडौं– नेपाल क्लियरिङ हाउसले रिटेल पेमेन्ट स्विचमार्फत हुने पाँच सय रूपैयाँसम्मको फण्ड ट्रान्स्फरमा कुनै शुल्क नलाग्ने व्यवस्था गरेको छ । कनेक्सट आईपीएसको वेब/मोबाइल एप, बैंक वित्तीय संस्थाको मोबाइल बैंकिङमा रहेको कनेक्ट आईपीएस फण्ड ट्रान्स्फर तथा कनेक्ट आईपीएस मार्फत मोबाइल वालेटमा गरिने क्यास आउट, इनलाई पूर्ण रूपमा नि:शुल्क गरिएको जनाएको छ ।
चैत १९ गतेबाट उक्त व्यवस्था कनेक्ट आईपीएसमा कार्यान्वयनमा आइसकेको छ भने बैंक वित्तीय संस्था र वालेटहरूले आफ्ना प्रणालीहरूमा आवश्यक व्यवस्था मिलाएपछि मोबाइल बैंकिङ तथा वालेटमा पनि क्रमिक रूपमा लागु हुने कम्पनीले जनाएको छ । आरपिएसमार्फत हुने अन्य च्यानल र कारोबारमा भने कारोबार रकमको आधारमा हाल कायम रहेको दुई रूपैयाँ र ८ रूपैयाँ कारोबार शुल्कको व्यवस्था यथावत रहने छ । कारोबार संख्यामा वृद्धि सँगै कारोबार शुल्क समायोजन गर्ने नीति एनसीएचएलले लिँदै आएको जनाएको छ ।
आरपिएस मार्फत गत आर्थिक वर्षमा ५६ खर्ब ९७ अर्ब रूपैयाँ बराबरको ७ करोड ५६ लाख रूपैयाँ भुक्तानी कारोबार फछ्र्यौट गरेको जनाएको छ । चालु आर्थिक वर्षको आठ महिनामा ४५ खर्ब ५३ अर्ब बराबरको ६ करोड ८३ लाख भुक्तानी कारोबारहरू फछ्र्यौट गरिसकेको जनाएको छ । हाल ५२ बैंक वित्तीय संस्थाहरुको मोबाईल बैंकिङ एपमा आरपिएस कनेक्ट आईपीएसबाट फण्ड ट्रान्स्फर गर्न सकिने सेवा उपलब्ध रहेको छ । १३ भन्दा बढी वालेटहरूमा बैंक खाताबाट क्यास इन आउटको सेवा उपलब्ध रहेको छ ।