ओझेलमा राेल्पाकाे ‘बिबाङ दह’

रोल्पा– पर्यटनको प्रचुर सम्भावना भएर पनि बिबाङ दह ओझेलमा परेको छ । सुनछहरी गाउँपालिका–२ भित्रिगाम स्थित बिबाङ दह पर्यटकीय हिसाबले उत्कृष्ट गन्तव्य मानिन्छ । पर्यटक तान्न लागि प्रचारप्रसारको अभावले बिबाङ दहमा पर्यटक भित्रन सकेका छैनन् । बेलाबेलामा आन्तरिक पर्यटक बिबाङ दहमा पुगेपनि बाह्य पर्यटक पुग्न सकेका छैनन् ।
पूर्वी रोल्पाको सुनिल स्मृति गाउँपालिकाको सुलिचौरदेखि करिब चार घण्टाको सवारी यात्रा र करिब २ घन्टाको पैदल यात्रा पश्चात् बिबाङ दहमा पुग्न सकिन्छ । बिबाङ दह जाने सडक केही भाग कालोपत्रे गरिए पनि अधिकांश भाग कच्ची नै छ । बिबाङ दहमा पुग्न यातायातको सहज पहुँच नभएकाले बाह्य पर्यटक भित्रिन नसकेको स्थानीय तिलक घर्ती मगर बताउँछन् ।
‘प्रकृतिको काखमा एउटा फरक इतिहास बोकेको ठाउँ हो बिबाङ दह,’ उनले भने, ‘यहाँको प्रकृतिसँग रम्न, रमाउन साथै इतिहास बुझ्नका लागि पनि महत्त्वपूर्ण छ यो ठाउँ ।’ यस्ता ओझेलमा परेको ठाउँलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सरकारले ठोस योजना बनाउन आवश्यक छ, उनले थपे । ‘पर्यटकीय गन्तव्यको रूपमा विकास भए यहाँको उत्पादनले पनि बजार पाउने थियो साथै यहाँका स्थानीयले पनि रोजगार पाउने थिए,’ घर्ती मगर भन्छन् । बिबाङ दह प्राकृतिक सौन्दर्यताका साथै धार्मिक महत्त्वको स्थान मानिन्छ ।
भौगोलिक हिसाबले त्यहाँ पुग्न केही कठिनाइ भएपनि त्यहाँ पुग्ने पर्यटकको मन जित्न सक्छ । यसका साथै यस क्षेत्रलाई युद्ध पर्यटनको दृष्टिले पनि बढी महत्त्वपूर्ण मानिन्छ । तत्कालिन दस वर्षे सशस्त्र द्वन्द्वको समयमा यस क्षेत्रमा विभिन्न घटना घटेकाले यसलाई युद्ध पर्यटनको रूपमा विकास गर्न सकिने स्थानीय बुद्धिजीविहरूको भनाइ छ । यस ठाउँमा घुम्न जाँदा मनोकांक्षा पुरा हुने साथै वर प्राप्त गर्न सकिने जनश्रुति रहेको छ । मनोकांक्षा पुरा हुने विश्वासले पनि घुम्न जाने प्रचलन रही आएको छ ।
अझ प्राकृतिक रुपले सुन्दर बिबाङ दह पुग्दा सबैको मन रमाउँछ । चारै तिर बाक्लो वन क्षेत्रले ओगटेको स्थान प्राकृतिक सौन्दर्यताको उपज मानिन्छ । बिबाङ दहको आसपासको जङ्गलमा लोपोन्मुख रेड पान्डाको पनि बासस्थान रहेको स्थानीय बताउँछन् । पछिल्लो समय स्थानीय सरकारले समेत पर्यटन क्षेत्रका विकासका लागि चासो दिदा ओझेलमा परेका ठाउँको प्रचारप्रसारसँगै आन्तरिक तथा बाह्य पर्यटक भित्रिने सम्भावना देखिन्छ ।
पर्यटन क्षेत्रको विकास गर्ने उद्देश्यले सुनछहरी गाउँपालिकाले पर्यटन विकासका लागि विभिन्न निर्णयसमेत गरेको थियो । स्थानीय सरकारले उक्त स्थानमा बैठक सञ्चालन गरेर विभिन्न निर्णय गर्दै पर्यटन विकासका लागि बिबाङ दह घोषणापत्र समेत सार्वजनिक गरेको थियो । उक्त घोषणापत्रमा गाउँपालिका भित्रका पर्यटन सम्पदाको संरक्षण र प्रर्वद्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य निर्धारण गरिएको गाउँपालिकाका प्रवक्ता अमरजित पुनले बताए ।
बिबाङ दहलाई पर्यटकीय गन्तव्यका रुपमा जोड्न लुंग्री गाउँपालिकामा अवस्थित पुरानो वडाचौर विमानस्थलदेखि सुनछहरी गाउँपालिकामा रहेको सुनछहरी झरणा–कोठी भिर–टिलाचन दह–बुजुधुरी–जलजला–ओख्रेनी हुँदै अन्तिम गन्तव्यको रुपमा सुनिल स्मृति गाउँपालिकामा अवस्थित तत्कालीन बाइसे चौबिसे राज्य अन्तर्गतको गजुलकोट दरबारसम्म गुरिल्ला पदयात्राको रुपमा विकास गर्ने लक्ष लिएको सुनछहरी गाउँपालिकाका अध्यक्ष धनबहादुर पुनले बताए ।
स्थानीय सरकारले पर्यटनका लागि केही चासो दिँदा स्थानीय खुसी देखिन्छ । कृषि उत्पादनको हिसाबले पनि बढी सम्भावना भएको यस क्षेत्रमा सडक पूर्वाधार पुग्न सकेको छैन । बजार पुग्नका लागि लामो समय हिड्नुपर्ने यस क्षेत्रमा सडक पूर्वाधारसँगै पर्यटनको विकास हुन आवश्यक छ ।