घाँस बिक्रीबाट आम्दानी लिँदै कृषक

दाङ– घाँसबाट राम्रो आम्दानी हुन थालेपछि जिल्लाका कृषक घाँसखेतीमा आकर्षित हुन थालेका छन् । घोराही उपमहानगरपालिका–६ गुरुवा गाउँ निवासी मिकसर चौधरीले हिउँदे बालीका रूपमा गहुँ, तोरी, मसुरोखेती गर्न छोडेको एक दशकभन्दा बढी समय भयो । गहुँ, तोरी, मसुरोभन्दा कम मेहनतमै घाँसबाट राम्रो आम्दानी लिन सकिने भएपछि मिकसरले पछिल्लो समय बर्सिम घाँसखेती गर्दै आएका छन् ।
करिब एक बिघाभन्दा बढी जग्गामा घाँसखेती गरेका चौधरीले गत वर्ष डेढ लाख रुपैयाँको घाँसको बिउ बिक्री गरेको बताए । प्रतिकेजी दुई सयका दरले साढे सात क्विन्टल घाँसको बीउ बिक्री गर्दा डेढ लाखभन्दा बढी आम्दानी गरेको उनले बताए । अन्य बालीजस्तो मेहनत गर्न नपर्ने र पशुपालनका लागि समेत सजिलो हुने भएकाले बर्सिम घाँसखेती गर्न थालेको उनको भनाइ छ । मिकसरले भने, ‘घाँसखेती गर्नका लागि जोत्नु पर्दैन, चिसो जमिनमा छरर्दिए उर्मिहाल्छ । घाँसखेती गर्न दु:ख छैन ।’
घरमा दुईवटा भैसीसँगै बाख्रा, बंगुर पालेको भन्दै उनले घाँसखेतीले गर्दा सहजता भएको उनको भनाइ छ । घाँसखेती नगर्दा हिउँदमा पशुका लागि घाँस पाउनै गाह्रो हुने गरेको भए पनि घाँस गर्न थालेपछि समस्या हटेको उनले बताए । बर्सिमघाँस पोषिलो हुने भएकाले दूध उत्पादन किसानका लागि अत्यन्तै लाभदायक हुने उनी बताउँछन् । मिकसरजस्तै गुरुवागाउँकै मैनामती चौधरीको परिवारले पनि विगत १० वर्षयता करिब १० कठ्ठा जग्गामा बर्सिम घाँसको खेती गर्दै आएका छन् ।
सिँचाइको सुविधा नभएको जमिनमा अन्नबालीभन्दा घाँस खेतीबाट राम्रो आम्दानी हुने भएपछि तोरी, गहुँ र मसुरोखेती छोडेर बर्सिम घाँसको खेतीमा लागेको मैनामती बताउँछिन् । घाँसखेतीले गाईबाख्रा पाल्नदेखि बिक्रीका लागि सजिलो भएको उनले बताइन् । उनले भनिन्, ‘तोरी, मसुरो खेतीभन्दा घाँसखेती गर्दा सजिलोसँगै आम्दानी बढी हुन्छ । घाँस रोप्दा जोत्नै पर्दैन, बिक्रीमा पनि समस्या हुँदैन ।’
हरियो घाँससँगै बीउ उत्पादन गरेर बिक्री गर्दा वर्षमा ४०/५० हजार रुपैयाँ आम्दानी हुने र त्यही पैसाबाट दाल, तेललगायत घरका लागि आवश्यक सामग्री किन्ने गरेको उनले बताइन् । हरियो हुँदा घाँस काटेर गाई वस्तुलाई खुवाउने र फल लागेपछि बीउ उत्पादन गरेर बिक्री गर्ने गरेको उनी बताउँछिन् । उनले भनिन्, ‘घरमा गाईभैंसी छन्, घाँसको कुनै समस्या छैन, बिक्री गर्दा पनि राम्रो आम्दानी हुन्छ ।’ उनले गतवर्ष साढे दुई क्विन्टल बिक्री गरेको र यो वर्ष घाँसमा कीरा नलागेका कारण राम्रो उत्पादन हुने बताउँछिन् ।
सानो परिवारले पनि थोरै मेहनतमा राम्रो आम्दानी लिन सक्ने भएकाले गाउँका अधिकांश व्यावसायिक घाँसखेतीमा जोडिएको शिवशक्ति घाँस बीउ उत्पादक संघका सचिव विमल अधिकारीले बताए । सचिव अधिकारीका अनुसार पछिल्लो समय घोराही–६ को गुरुवागाउँ बर्सिम घाँसको पकेट क्षेत्रको रूपमा विकास भएको र यससँगै घोराहीकै वडा नं. ५ र ७ नम्वर वडामा समेत किसान व्यावसायिक घाँस खेतीतर्फ आकर्षित भएका छन् । उनका अनुसार जिल्लामा करिब तीन सय परिवारले पाँच सय बढी हेक्टर क्षेत्रमा घाँसखेती गर्दै आएका छन् ।
घाँसखेती गर्दा पशुपालनका लागि सजिलोसँगै जोत्न, मल हाल्न नपर्ने हुँदा कम लगानीमा राम्रो आम्दानी हुने भएकाले घाँस खेतीतर्फ आकर्षित भएको उनले बताए । बीउ बिक्रीका लागि शिवशक्ति घाँसको बीउ उत्पादक संघ कृषि सहकारी स्थापना गरेर लागेको अधिकारी बताउँछन् ।
सचिव अधिकारीले भने, ‘सहकारीले किसानले उत्पादन गरेको घाँसको बीउ बिक्रीदेखि खेतीका लागि पहल गर्दै आएको छ ।’ उनका अनुसार प्रतिकट्ठा ३० देखि ३५ केजीसम्म घाँसको बीउ उत्पादन हुने गरेको छ । दाङमा उत्पादन भएको घाँसको बीउ बाँके, बर्दिया, प्युठान, कैलाली, कञ्चनपुर, कपिलवस्तु, धनुषा, सर्लाहीलगायतका विभिन्न ठाउँसम्म जाने गरेको उनले बताए । किसानले घाँसको बीउ प्रतिकिलो दुईदेखि तीन सय मूल्यमा बिक्री गर्दै आएका छन् ।