अर्मला डाँडामा प्याराग्लाइडिङको परीक्षण उडान «

अर्मला डाँडामा प्याराग्लाइडिङको परीक्षण उडान

कास्की – माछापुछ्रे गाउँपालिका–४ लाहाचोकको अर्मलाडाँडाबाट प्याराग्लाइडिङको सफल परीक्षण उडानसँगै यस ठाउँ आगामी दिनमा प्याराग्लाइडिङको गन्तव्यका रूपमा विकास हुने देखिएको छ ।
पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थल सम्पन्न भएसँगै हाल व्यावसायिक रूपमा सराङकोट हुँदै आएको प्याराग्लाइडिङ नहुने निश्चित प्रायः भएकाले अर्मलालाई सराङकोटको उपयुक्त विकल्पका रूपमा समेत हेरिएको छ । पोखरादेखि २० किलोमिटरको दूरीमा दुई हजार ४०० मिटर उचाइमा अवस्थित अर्मलाबाट परीक्षण उडान सफल भएसँगै यसलाई व्यावसायिक गन्तव्यका रूपमा विकास गर्न गाउँपालिका तथा स्थानीयवासीले पहल थालेका छन् ।
लाहाचोकमा हालै सम्पन्न भएको गण्डकी प्रदेशस्तरीय फुटबल प्रतियोगिताको उद्घाटनसमेत प्याराग्लाइडिङबाट बल खसालेर गरिएको थियो । अर्मलाबाट उडेका प्याराग्लाइडिङले मैदानमा बल खसालेर अवतरण गरेको थियो । विगतमा समेत सराङकोटबाट उडेका ग्लाइडर अर्मलामा अवतरण गरेर पुनः हावा भरेर उड्ने गर्दथे तर अहिले अर्मलाडाँडाबाट उडान भरेर तल बस्तीमा अवतरण सफल भएसँगै यस ठाउँको प्रवद्र्धनमार्फत प्याराग्लाइडिङको गन्तव्य बनाउने योजना अघि सारिएको छ ।
अर्मलासम्म पुग्न गाउँपालिकाले छ महिनाअघि सडक निर्माण गरेको थियो । बस्तीबाट तीन किमी उकालो चढेर पुगिने सो स्थानमा सडक सुविधा पुगेकाले यसलाई गन्तव्य बनाउन थप सहज हुने विश्वास गरिएको छ । गाउँपालिकाले अर्मलालाई पर्यटनको गन्तव्य बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरण, सङ्घ तथा प्रदेश सरकारसँग समेत अनुरोध गरेको छ । पोखरा नजीकै अवस्थित सो क्षेत्रमा व्यावसायिक उडानको अनुमतिसँगै पर्यटन आवागमनमा वृद्धि हुने र सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षलाई सफल बनाउनसमेत सघाउने विश्वास लिइएको छ ।
विमानस्थल बनेपछि स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख रोजाइ रहेको प्याराग्लाइङिलाई निरन्तरता दिनसमेत अर्मलाको विकल्प नरहेको भनाइ गाउँपालिकाको छ । अर्मलाबाट उडान भरेका प्याराग्लाइडिङ पाइलट विजय गौतमले यहाँबाट सराङकोटभन्दा पनि तुलनात्मक रूपमा सहज र अनुकूल रहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्