पाणिनि तपोभूमी सम्मेलन चैत २७ गतेदेखि

अर्घाखाँची– अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकास्थित पाणिनी तपोभूमिमा पाणिनी सम्मेलन हुँदै छ । यही चैत २७ र २८ गते हुने सम्मेलनले पाणिनी तपोभूमिलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो । एउटै भूभाग जुन ठाउँबाट बगेको पानी उत्तरतर्फ गएमा कालीगण्डकी नदी र दक्षिण क्षेत्रमा बगेमा वाणगंगा नदीमा पुग्छ ।
तपोभूमि स्वर्गद्वारी, रेसुंगा र रुरु क्षेत्रको नजिकै पर्ने यो भूभाग धार्मिक दृष्टिकोण तथा प्राकृतिक रूपमा पनि महत्त्वपूर्ण छ । साउनभर साउने मेला लाग्छ । नित्यपूजा हुनुका साथै साउनमा रुद्राभिषेक, शतचण्डी तथा वेद पाठ पारायणलगायतका कार्य वैदिक विधिपूर्वक हुँदै आएको छ । साउनमा तपोभूमिस्थित यस दहमा स्नानका लागि आउने श्रद्धालु भक्तजनको भीड हुन्छ ।
ध्यान तपस्या गर्न मरुभूमि पनि उपयुक्त नहुने, हिमालले ढाकेको ठाउँ पनि उपयुक्त नहुने भएपछि कोलाहलबाट समेत टाढा रहेको समशीतोष्ण यस ठाउँ उपयुक्त हुन्छ भन्ने ऋषिमुनिको निष्कर्ष छ । सोही ठाउँको खोजी गर्दै आउँदा दुर्वाशा ऋषिले तपस्या गरेको दुर्वाशा गुफा र रुरु क्षेत्रको बीचमा पर्ने घनघोर जंगलको बीचमा रहेको यसै भूमिमा पाणिनिले तपस्या गरेका थिए । पहिले रुखका पात, पछि पानी मात्र पिएर र अन्त्यमा हावा मात्र खाएर तपस्या गरेपछि भगवान शिवजी प्रसन्न भएको स्वर्गीय स्वामी कृष्णानन्द परमहंसले प्रकाशन गरेका विभिन्न पुस्तकमा समावेश पाइन्छ ।
यसै क्षेत्रमा आएर पाणिनी ऋषिले तपस्या गरेपछि शिव प्रसन्न भएर डमरु बजाउँदै १४ सूत्रको स्वर निकालेको र ती सूत्रबाट संस्कृत व्याकरणको रचना गरिएको भन्ने धार्मिक मान्यता छ । पाणिनि गाउँपालिकाको नाम पनि पाणिनि ऋषिले तपस्या गरेको तपोभूमिको नामबाट रहन गएको हो । अर्घाखाँची जिल्ला र आसपासका क्षेत्रमा पाणिनि ऋषिको नामबाट विभिन्न विद्यालय, क्याम्पस, व्यवसाय आदिका नाम पनि रहन गएका छन् ।
२०७६ सालमा नेपाल सरकारले देशका सय गन्तव्यभित्र परेको स्थान पनि हो । पाणिनी गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका, लुम्बिनी प्रदेश सरकार, पर्यटन विकास परिसदको कार्यालय लुम्बिनी प्रदेश, नेपाल पर्यटन बोर्डको संयुक्त पहलमा हुने सम्मेलनले विश्वको प्राचीन भाषा संस्कृतको व्याकरणको उत्पत्ति भएको र रचना भएको भनिएको पाणिनि तपोभूमिको प्रचारप्रसारसँगै संसारभर पाणिनीलाई चिनाउन टेवा पुग्नेछ ।
विश्वकै प्राचीन भाषा उत्पत्ति भएको क्षेत्र भए पनि यो क्षेत्रको प्रचारप्रसार नहुँदा ओझेलमा परेको र प्रचारप्रसारसँगै विश्वभर चिनाउन पाणिनी सम्मेलनको आयोजना गरिएको पाणिनी तपोभुमि संरक्षण सम्वद्र्धन समितीका अध्यक्ष पुष्करराज पोख्रेलले बताए ।