एनपिएस–नेसनल कार्ड स्विच र नेपाल पे कार्डको पूर्वाधार तयार

काठमाडौं– नेपाल क्लियरिङ हाउस (एनसिएचएल) ले एनपिएस–नेसनल कार्ड स्विच (एनपिएस–एनसिएस) र डमेस्टिक कार्ड स्किम (नेपाल पे कार्ड)को पूर्वाधार स्थापना भएको घोषणा गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले उक्त घोषणा गरेका हुन् । कार्यक्रममा नेपाल राष्ट्र बैंकबाट एनसिएचएलले हालै प्राप्त गरेको अन्तिम स्वीकृति अनुसार एनपिएस–एनसिएस र नेपाल पे कार्डको तयारी पूरा भएको जानकारी गराए ।
गर्भनरले नेपाल पे कार्डबाट कन्ट्रोल्ड इन्भाइरोमेन्टमा पिओएस र एटीएमबाट कारोबार गरी एनपिएसको पूर्वाधार तयारी भएको जानकारी दिए । एनपिएस–एनसिएस तथा नेपाल पे कार्डको तयारी पूरा भएसँगै, बैंक तथा वित्तीय संस्था, भुक्तानी प्रणाली सञ्चालक र भुक्तानी सेवा प्रदायकहरूले डमेस्टिक कार्ड स्किममा इस्युइङ र अक्वयरिङका लागि साथै अन्य कार्ड स्किमको कारोबारबीच अन्तर्आवद्धता कायम गर्न अब आफ्नो स्विच इन्टिग्रेट गर्न सक्नेछन् ।
स्विच इन्टिग्रेट गर्न तथा नेपाल पे कार्ड जारी गर्ने कार्य अगाडि बढाउन उक्त कार्यक्रममा एनसिएचलसँग सिटिजन्स बैंक इन्टरनेसनल, गुडविल फाइनान्स, हिमालयन, माछापुच्छ्रे, मुक्तिनाथ विकास बैंक, एनएमबी, प्रभु, सांग्रिला विकास बैंक, सिद्धार्थलगायतका बैंक वित्तीय संस्थासँग प्रिन्सिपल मेम्बरशिपको सम्झौता पत्र आदान प्रदानसमेत गरिएको थियो । साथै, ११ वटा बैंक वित्तीय संस्थालाई मल्टिपल कार्ड स्किम प्रोसेसिङ गर्न प्रदान गर्दै आएको एनसिएचएलकोे आफ्नो इएफटी स्विचबाट समेत नेपाल पे कार्ड अक्वायरिङ गर्न मिल्ने गरी तयारी गरिएको छ ।
नेपाल पे कार्ड अन्तर्गत सदस्य बैंक तथा वित्तीय संस्था र पिएसपीहरू क्रमश: प्रिन्सिपल तथा एसोसियट मेम्बरको रुपमा आवद्ध हुन सक्नेछन् भने भुक्तानी प्रणाली सञ्चालकले थर्ड पाटी पेमेन्ट प्रोसेसर (टिपिपी) को रूपमा कार्ड इकोसिस्टम निर्माण तथा विकास गर्न सक्नेछन् । आगामी दिनमा अन्य बैंक तथा वित्तीय संस्था तथा पिएसपी/पिएसओलाई पनि नेपाल पेको नेटवर्कमा समावेश गरी नेपाल पे कार्डलाई थप विस्तार गरिने बताइएको छ ।