Logo

मेवा बिक्री गरेर आम्दानी गर्दै सहकारी

दाङ– दाङमा एक कृषि सहकारी संस्थाले मेवा बिक्रीबाट आम्दानी गर्ने गरेको छ । सहकारीले मेवा बिक्रीबाट एक लाख बढी आम्दानी गरेको हो । घोराही उपमहानगरपालिका–४ गोग्लीमा रहेको बलिदान कृषि सहकारी संस्थाले एक लाख मूल्यको मेवा बिक्री गर्न सफल भएको हो ।

घोराही उपमहानगरपालिका–४ गोग्लीमा नौ कठ्ठा जग्गा भाडामा लिएर दुई वर्षदेखि व्यावसायिक रूपमा मेवाखेती गर्न थालेको सहकारी संस्थाले एक लाख बराबरको मेवा बिक्री गरेको सहकारी संस्थाकी व्यवस्थापक स्यानु चौधरीले बताइन् । व्यवस्थापक चौधरीका अनुसार सहकारी संस्थाले प्रतिकेजी ५० रुपैयाँका दरले दुई हजार क्विन्टल मेवा बिक्री गर्न सफल भएको छ । दुई बर्षअघि रोपेका बिरुवाले गत वर्षदेखि उत्पादन दिन थालेको भन्दै सहकारी संस्थाकी व्यवस्थापक चौधरीले बताइन् ।

उनले भनिन्, ‘गत वर्ष खास्सै फलेको थिएन । यो वर्ष राम्रै फलेको छ, बिक्री पनि भइरहेको छ ।’ उनका अनुसार सहकारी संस्थाले माघको अन्तिमदेखि मेवा बिक्री गर्न थालेको हो । मेवा बिक्रीका लागि कुनै समस्या नभएको उनको भनाइ छ । व्यवस्थापक चौधरीका अनुसार उत्पादन भएको मेवा बारीमै आएर व्यापारीले लग्ने गरेका छन् । स्वास्थ्यका लागि फाइदा हुने र व्यावसायिक रूपमा दाङमा मेवाखेती नहुने भएकाले उत्पादित मेवा बिक्रीका लागि समस्या नभएको उनी बताउँछिन् ।

व्यवस्थापक चौधरीले भनिन्, ‘अहिले थोरै उत्पादन भएकोले पनि होला बिक्रीमा कुनै समस्या छैन । गुलियो र ठूलो फल हुने भएकाले होला सबैले मन पराइदिनुभएको छ ।’ अहिले फल बिक्रीको अन्तिम चरणमा रहेको उनले बताइन् । सहकारी संस्थाले मेवा खेतीका लागि करिब दुई लाख बढी लगानी गरेको थियो । व्यवस्थापक चौधरीका अनुसार सहकारी संस्थाले गत वर्ष मेवाका बिरुवा उत्पादन गरेर ५० हजार मूल्य बराबरका बिरुवासमेत बिक्री गरेको थियो ।

चितवनबाट बीउ ल्याउने र दाङमा उत्पादन गरेर सहकारीले सदस्यसँगै नागरिकलाई प्रतिबिरुवा एक सय रुपैयाँका दरले बिक्री गरिरहेको उनले बताइन् । सहकारीले संस्थाले थोरै भए पनि केही काम गरौं भन्ने उद्देश्यअनुसार व्यावसायिक रूपमा मेवाखेती गर्न थालेको व्यवस्थापक चौधरी बताउँछिन् । वार्षिक ३६ हजार रुपैयाँ भाडा तिरेर नौ कठ्ठा जग्गा भाडामा लिएर खेती गर्दै आएको छ ।

मेवा खेतीसँगै सहकारी संस्थाले किसानसँग धान खरिद गरेर चामल बिक्रीसमेत गर्दै आएको छ । ३५० सदस्य रहेको बलिदान कृषि सहकारी संस्थाको डेढ करोड पुँजी रहेको छ । सहकारी संस्थाले करिब एक करोड ऋण लगानी गरेको व्यवस्थापक चौधरीले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्