Logo

बुटवलमा घरेलु उद्योग महासंघको प्रदेश अधिवेशन सुरु

बुटवल– नेपाल घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेशको तेस्रो अधिवेशन तथा महिला उद्यमी सम्मेलन बुटवलमा सुरु भएको छ । सम्मेलनमा प्रदेशका १२ जिल्लाका २४३ प्रतिनिधिहरूको सहभागिता रहेको छ । सम्मेलनको उद्घाटन सत्रमा बक्ताहरूले रोजगारमुखी साना उद्योगहरूलाई तीनै तहका सरकारले प्रोत्साहन गर्नुपर्ने बताएका थिए ।

अधिवेशनको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्ड बिक्रम न्यौपानेले साना तथा मझौला उद्योगबाट पनि रोजगारीका अवसर प्राप्त हुनुका साथै राम्रो नाफा कमाउन सकिने बताए । उनले त्यस्ता उद्योगलाई प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्वता व्यक्त गरे ।

मन्त्री न्यौपानेले सानातिना घरेलु उद्योगहरूबाट पनि स्वरोजगार बन्नुका साथै धेरैलाई रोजगारी दिन सकिने भएकोले प्रदेश सरकारले त्यस्ता उद्योगहरूको प्रवर्द्धन गर्ने योजना रहेको जानकारी दिए । स्वदेशमा थोरै लगानी गरेर पनि धेरै नाफा आर्जन गर्न सकिने सम्भावना रहेको भन्दै उनले रोजगारमुखी र निर्यातमुखी उद्योगहरूलाई प्रदेश सरकारले सहयोग गर्ने नीति लिएको बताए ।

सुनका गहना बनाउनका लागि भारत र बंगलादेशबाट लाखौं कालिगड नेपाल आउने गरेको भन्दै मन्त्री न्यौपानेले नेपालीहरूलाई सुनचाँदीका गहना बनाउने कालिगड तालिम दिने तयारी गरेको जानकारी गराए । रुग्ण तथा बन्द उद्योग पुन सञ्चालन गर्ने मन्त्रालयको योजना रहेको जानकारी गराउँदै उनले उनले त्यस्ता उद्योगहरूको बारेमा जानकारी दिन र पुन: सञ्चालनको योजना पेस गर्न उद्योगी व्यवसायीहरूलाई आग्रह गरे ।

घरेलु उद्योग महासंघ लुम्बिनी प्रदेश अध्यक्ष नेत्रप्रसाद पाठकले पछिल्लो समय साना तथा मझौला उद्योगहरू संकटमा रहेको बताएका थिए । उनले उद्योगमैत्री वातावरण निर्माण गर्नुपर्ने धारणा राखे । घरेलु महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष श्यामप्रसाद गिरीले स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न उद्योगहरूलाई प्रोत्साहन गर्नुपर्ने बताए ।

कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष सूर्यबहादुर कँडेल, महासंघ केन्द्रीय महिला समिति वरिष्ठ उपाध्यक्ष रीता अवाल, उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष कुलप्रसाद न्यौपाने, रूपन्देही व्यापार संघका पूर्व अध्यक्ष टंकप्रसाद पोखरेललगायतले मुलुकमा युवाहरूको विदेश पलायन, दक्ष मजदुरको अभाव, उद्योग दर्ता र सञ्चालनमा आइपर्ने समस्याका बारेमा आ–आफ्नो भनाइ राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्