Logo

हुम्लाको चंखेलीमा भारतीय दूतावासको सहयोगमा अस्पताल निर्माण गरिने

काठमाडौं– हुम्लाको चंखेली गाउँपालिकामा पाँच शैयाको अस्पताल निर्माणमा भारत सरकारले आर्थिक सहयोग गर्ने भएको छ । सो सम्बन्धमा नेपाल सरकार, भारतीय दूतावास र स्थानीय तहबीच प्रभावकारी सामुदायिक विकास आयोजना सम्बन्धी सम्झौता भएको हो ।

सम्झौताअनुसार भारत सरकारले नौवटा स्थानीय तहमा विद्यालय संरचना तथा स्वास्थ्य चौकी निर्माणका लागि आर्थिक सहायता उपलब्ध गराउनेछ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव तथा प्रवक्ता कालीप्रसाद पराजुलीका अनुसार सम्झौताअनुसार चंखेलीमा अस्पताल निर्माण हुने छ । चंखेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले गाउँपालिकाले सरकारसँग समन्वय गरी पाँच शैयाको अस्पताल निर्माणका लागि प्रस्ताव पेश गरेको बताए ।

उनका अनुसार संघीय मामिला मन्त्रालयमार्फत भारतीय दूतावासलाई पठाइएको प्रस्ताव अनुमोदन भइसकेको र छिट्टै अस्पताल निर्माण कार्य सुरु हुनेछ । ‘हुम्ला नेपालकै एक विकट जिल्ला हो । यहाँबाट सुविधा सम्पन्न अस्पतालसम्म पुग्न झण्डै दुई दिनको यात्रा गर्नुपर्छ । स्वास्थ्य सेवा अभावका कारण धेरै नागरिकले अकालमै ज्यान गुमाइरहेका छन्’अध्यक्ष शाहीले भने,‘त्यसकारण हामीले पाँच शैयाको अस्पतालका लागि पहल गरेका थियौं, जुन सफल भएको छ । अस्पताल निर्माण भएपछि प्राथमिक स्वास्थ्य सेवाबाट वञ्चित स्थानीयवासीलाई सहज उपचार सुविधा उपलब्ध हुनेछ ।’

उनका अनुसार अस्पताल निर्माणको सम्पूर्ण प्रक्रिया सरकारको कानुनअनुसार अघि बढाइनेछ । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ । टेन्डर आह्वान गरेर कामअघि बढाइनेछ । अनुमानित लागत २० करोड रुपैयाँ रहेको उक्त अस्पताल १८ महिनाभित्र सम्पन्न गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्