Logo

कुतियाकवरमा पक्की तटबन्ध निर्माण सुरु

महेन्द्रनगर– कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिकाको नेपाल–भारत सीमासँग जोडिएको कुतियाकवर बस्तीमा पक्की तटबन्ध निर्माण कार्य सुरु भएको छ । बस्तीलाई सुरक्षित हुनेगरी जनताको तटबन्ध कार्यक्रमअनुसार झण्डै आठ सय मिटर पक्की तटबन्ध निर्माण कार्य सुरु गरिएको हो । दोधारा–चाँदनी नगरपालिकाका नगर प्रमुख किशोरकुमार लिम्बु र नगर उपप्रमुख गंगा जोशीले पक्की तटबन्ध निर्माण कार्यको शिलान्यास गरेका छन् ।

जोगबुडा नदी र महाकाली नदीको दोभानको बस्ती सदैव वर्षायाममा आएको बाढीले वर्षेनी ठूलो धनमालको क्षति पुर्‍याउँदै आएको थियो । नगर प्रमुख लिम्बुले दोधारा–चाँदनी नगरपालिकाको बाढीग्रस्त बस्ती भनेर चिनिने नेपाल–भारतको सीमा क्षेत्रको बस्तीलाई सुरक्षित बनाउन जनताको तटबन्ध कार्यक्रमअनुसार झण्डै आठ सय मिटर पक्की तटबन्ध निर्माण गरी बाढीबाट बस्ती सुरक्षित बनाउने कार्यको सुरुवात गरिएको बताए ।

‘बस्तीलाई बाढीबाट सुरक्षित बनाउन आफूहरूले विगत लामो समयदेखि पहल थालेको थिएँ,’ उनले भने, ‘उक्त कार्यका लागि पाँच करोड ६० लाखमा जोशी निर्माण सेवाले ठेक्का लिएर निर्माण कार्यअघि बढाएको छ । वर्षायामका कुतियाकवर बस्तीमा महाकाली नदी र जोगबुडा नदीको भंगालो पसेर वर्षौंदेखि ठूलो धनमालको क्षति बनाउँदै आएको अवस्थामा बस्तीलाई सुरक्षित हुनेगरी निर्माण थालिएको र पक्की तटबन्ध बस्ती क्षेत्रका लागि कोषेढुंगा सावित हुनेछ ।’

त्यसैगरी विसं २०२० सालमा बस्ती बसेको र उक्त समयदेखि बाढीको निरन्तर कटान र डुबानकै कारण हालसम्म यहाँबाट एक सयभन्दा बढी परिवार विस्थापित भइसकेका छन् । बाढी र सीमा क्षेत्रको थिचोमिचोको कारणले गर्दा अहिले आएर उक्त क्षेत्रमा ४२ घरधुरीमात्रै बसोबास गर्दै आएका छन् । विसं २०७४ सालमा जोगबुडा नदीमा झोलुंगे पुल बनेपछि नेपालसँग जोडिएको कुतियाकवर बस्तीमा बर्सेनि हिउँद र वर्षायाम गरी दुवै समयमा जोगबुडा र महाकाली नदीले उर्वर जग्गा कटान गर्दै आएको छ ।

करिब ५० बिघा क्षेत्रफल रहेको उक्त बस्ती हरेक वर्ष हुने कटानले साँघुरिँदै गएको अवस्थामा बस्तीलाई सुरक्षित हुनेगरी निर्माण हुन थालेको तटबन्धले बस्तीमा खुशीयाली छाएको कुतियाकवर विपद् ब्यवस्थापन समिति दोधारा–चाँदनी–१० का संयोजक टेकबहादुर सुनारले बताए ।

‘वर्षायामा नजिकै रहेको महाकाली नदी र जोगबुडा नदीले उर्वर जग्गा कटानसँगै बस्ती विस्थापित गर्न थालेको अवस्थामा महाकाली नदी र जोगबुडा नदीको पानीलाई छेक्ने गरी तटबन्ध निर्माण हुन थालेपछि स्थानीय खुशी भएका छन्,’ उनले भने, ‘वर्षेनी नदीको सतह र आकार बढ्दै जाने र धार परिवर्तन गरी बस्तीतिर सोझिन थालेपछि कुतियाकवर बस्ती विस्थापित हुने संघारमा छ । वर्षेनी आउने बाढीले जमिन कटान गर्दा धेरैजसो खेतीयोग्य जमिनसमेत बगरमा परिणत हुँदै आएको अवस्थामा स्थानीय सरकारको पहलमा जनताको तटबन्ध कार्यक्रमबाट पक्की तटबन्ध निर्माण कार्य सुरुवातले बस्तीमा आशा पलाएर आएको छ ।’

प्रतिक्रिया दिनुहोस्