सडक सञ्जालमा जोडियो सिमगजरीमा बस्ती

दाङ– राजपुर गाउँपालिकाको विकट बस्ती सिमगजरीमा सडक पुगेको छ । नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत राजपुर गाउँपालिका–७ को सिमगजरी बस्तीसम्म सडकको ट्रयाक खन्न तीन वर्षअघि काम सुरु भएको थियो । गाउँपालिकाको भौगोलिक रूपमा विकट बस्ती सिमगजरीमा सडक पुगेपछि स्थानीयवासी हर्षित भएका छन् । सडक नहुँदा दैनिक ५/६ घण्टा पैदल हिँडेर बिरामी पर्दा स्वास्थ्य चौकी तथा गाउँपालिका पुग्नु पर्ने स्थानीयलाई समस्या थियो ।
सडक नहुँदा सिमगजरीका करिब ७०–८० घरका स्थानीयलाई पैदल हिँड्नु पर्ने बाध्यता रहे पनि सडकको ट्रयाक निर्माण भएपछि सहज भएको स्थानीय ७० वर्षीया सुमित्रा रानाले बताइन् । गाउँमा सडक नहुँदा घरमा आवश्यक सामग्री ल्याउनदेखि बिरामी पर्दा उपचार गर्न बिरामीलाई डोकोमा बोकेर करिब ५/६ घण्टा पैदल हिँड्दै गंगदीसम्म जानुपर्ने बाध्यता भए पनि सडक निर्माण भएसँगै हटेको बताइन् ।
‘गाउँमा सडक नहुँदा स्थानीयले धेरै दु:ख पाएका थिए, घरमा चाहिने सामग्री किन्नसँगै बिरामी पर्दा औषधी गर्नका लागि अस्पताल जान समस्या हुने गरेको थियो,’ रानाले भनिन्, ‘वर्षौंपछि भए पनि गाउँमा सडक पुग्दा स्थानीयलाई सहज भएको छ ।’ गाउँमा सडकसँगै यातायातका साधन आउन थालेपछि सुमित्राजस्तै सोही ठाउँ निवासी गीता खड्का खुसी छन् । गाउँमा सडक निर्माण भएपछि स्थानीयलाई हिँडडुलसँगै दु:ख बिरामी पर्दा औषधी उपचारका लागि अस्पताल जान सहज भएको उनी बताउँछिन् ।
खड्काले भनिन्, ‘बाटो नहुँदा कोही बिरामी पर्दा बोकेर लैजानुपर्ने बाध्यता थियो । वर्षात्को समयमा धेरै दु:ख हुन्थ्यो, अब त्यो बाध्यता हटेको छ ।’ सडक निर्माणले हिँडडुलमा सहजतासँगै स्थानीयले उत्पादन गरेका कृषि सामग्री बजारसम्म लैजान सहज भएको अर्का स्थानीय बलराम गिरि बताउँछन् । ‘गाउँ कृषि र पशुपालनका लागि राम्रो भएको तर बाटोको समस्याका कारण बिक्री गर्न लैजान नसक्ने अवस्था थियो,’ उनले भने, ‘सडक निर्माण भएपछि सहज भएको छ, किसानले गाउँमा उत्पादन गरेको वस्तु बजारसम्म लैजान सक्ने भएका छन् ।’
स्थानीय सागर रोकाका अनुसार सडकको ट्रयाक खन्न सुरु गरेको तीन वर्षपछि गाउँमा सडक पुगेको छ । गाउँमा सडकको ट्रयाक पुर्याउन करिब २० लाख बढी खर्च भएको बताए । सिमगजरीलाई सडक सञ्जालसँग जोड्नका लागि गाउँपालिकाले लगानी गरेर तीन वर्षपछि सडक पुर्याएको गाउँपालिका अध्यक्ष राजपुर गाउँपालिका अध्यक्ष शरद बुढाथोकीले बताए ।
सडक नहुँदा बर्सेनी स्थानीयले भोग्दै आएको समस्या समाधान गर्ने गरी गाउँपालिकाले लगानीसँगै जेसिभी लगाएर राजपुर गाउँपालिका–७ को उत्तरखुटीदेखि सिमगजरीसम्म सडक पुर्याइएको अध्यक्ष बुढाथोकीले बताए । गाउँपालिकामा रहेका सबै बस्तीलाई सडक सञ्जालसँग जोड्ने गरी पालिकाले काम गरेको उनको भनाइ छ । अध्यक्ष बुढाथोकीले भने, ‘स्थानीयबासीले भोग्दै आएको पीडा बुझेर नै हामीले यो बाटो निर्माणलाई पहिलो प्राथमिकता दिएका हौँ । त्यही कारण अहिले गाउँमा बाटो पुगेको छ ।’
राजपुर गाउँपालिका उपाध्यक्ष धनपतिदेवी यादवले सडक निर्माणसँगै वर्षौदेखि स्थानीयले भोग्दै आएको समस्या अन्त्य भएको भन्दै यसले महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई सबैभन्दा बढी फाइदा पुग्ने बताइन् । उनले स्थानीयबासी आशा र विश्वास अनुरूप पालिकाको पहलमा सडक निर्माण भएकाले गाउँको विकासको ढोका खोलेको बताइन् । त्यससँगै गाउँका बालबालिकालाई विद्यालय जान सहज हुने, किसानले उत्पादन बजारमा पुर्याउन सक्ने र बिरामीलाई समयमै अस्पताल पुर्याउन सहज हुने बताउिँछन् ।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रेमन्तबहादुर वलीले गाउँमा सडक पुगेसँगै स्थानीयलाई अब दु:ख बिरामी पर्दा हुने समस्या समाधान भएको बताए । विगतमा दु:ख बिरामी पर्दा स्थानीयलाई बोकेर बिरामीलाई गंगदीसम्म ल्याउनु पर्ने बाध्यता भए पनि बाटो भनेपछि अब गाउँमै एम्बुलेन्स पुग्न सक्ने भएको बताए । राजपुर गाउँपालिका–७ का अध्यक्ष पुष्कर वलीले सडक सञ्जालमा गाउँ जोडिएसँगै स्थानीयलाई सहज भएको बताए । अब सडकलाई अझ मजबुद बनाउँदै वर्षात्को समयमा कसरी सडकलाई सञ्चालन गर्ने भन्ने तर्फ आफूहरूको ध्यान भएको बताए ।