लोडसेडिङ घटेपछि सस्तियो सिमेन्ट र छड

काठमाडौं– सरकारले नियमन बढाएर कारवाहीमा उत्रिएपछि सिमेन्टको मूल्यमा प्रतिबोरा १५ देखि २५ रुपैयाँसम्म घटेको छ । उद्योगीले फलामे छडको मूल्य पनि किलोमा २ रुपैयाँले घटाउने तयारी गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले जानकारी दिएको छ ।
विभागका महानिर्देशक कुमार दहालका अनुसार विभाग कारबाहीमा उत्रिएपछि उद्योगीहरु निर्माण सामग्रीको मूल्य घटाउन तयार भएका हुन् । विभागले अनुगमनलाई तिव्रता दिनुका साथै देशभरका ठूला स्टिल र फलाम उद्योगहरुबाट आफ्नो उत्पादन लागतको विवरण पेस गर्न पत्राचार गरेको छ । यसै समयमा लोडसेडिङको समय घटेका कारण समेत सिमेन्टको मूल्य घटेको हो । अहिले निर्माण सामग्रीको मूल्य देशभर नै घटिरहेको छ ।
स्टिलको कच्चा पदार्थ आयात गर्नुपर्ने हँुदा कम रकम घटे पनि थप २–३ दिनमै घट्छ । उद्योगीले पेश गरेका वास्तविक लागतको विवरण अध्ययन गरेपछि अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) तोक्न सजिलो हुन्छ । सबै वस्तुमा एमआरपी अनिवार्य गर्दा अहिलेको भन्दा सहुलियत अवश्य हुन्छ । त्यसका लागि विभाग छलफलमा रहेको उनको भनाइ छ । ‘मूल्य वृद्धि किन गरियो भनेर हामी सुक्ष्म ढंगले अध्ययन गरिरहेका छौं । हामी व्यपारीलाई सहजीकरण गर्ने र सँगसँगै उपभोक्ताको पनि हित गर्ने निकाय हौं । त्यसैले उपभोक्ताको अधिकारको ग्यारेन्टी हाम्रो दायित्वमा पर्छ,’ उनले भने ।
देशभरिका सबै उद्योगलाई यही २० चैतभित्र आफ्ना उत्पादनका प्याकेटमा खुद्रा बिक्री मूल्य (एमआरपी) अंकित गर्न निर्देशन दिएको उनको भनाइ छ । सिमेन्ट र स्टिल उद्योगहरुबाट उत्पादन लागतको विवरण आइरहेको विभागले जनाएको छ । अहिले जम्मा २६ वटा स्टिल उद्योग तथा ३२ वटा सिमेन्ट उद्योग सञ्चालनमा रहेका छन् । केही दिनअघि अनुगमन गरी कारवाहीसमेत गरेको विभागले चैत २१ देखि झन् कडा अनुगमन गर्ने जनाएको छ । एमआरपी नलेखिएका सबै वस्तु बरामद गरेर तिनका उत्पादकलाई कारवाही गर्ने विभागको तयारी छ ।
सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्दन मारुका अनुसार सिमेन्टको मूल्य प्रतिबोरा १५ देखि २५ रुपैयाँसम्म घटेको छ । ‘लोडसेडिङको समय न्यूनिकरण भएको छ । पहिला १२ घण्टाजति लोडसेडिङ हुने गरेकोमा अहिले ७ घण्टामा झरेको छ । त्यसले गर्दा हाम्रो लागत घट्यो र भाउ घटायौं । अहिले कम्तीमा पनि प्रतिबोरा १५ रुपयाँका दरले मूल्य घटेको छ,’ उनले भने । अध्यक्ष मारुले सिमेन्टमा अधिकतम मूल्य राख्ने विषयले भने उपभोक्ता झनै मारमा पर्न सक्ने बताए । ‘बोरामै मूल्य राख्दा देशभरको एकै मूल्य हुन्छ । दुर्गममा ढुवानीका कारण सोहीअनुसार बढी रकमको एमआरपी लेख्नुपर्छ । मूल्य राख्दा ढुवानी खर्च कम लाग्ने ठाउँका उपभोक्तालाई समस्या हुन्छ । यस विषयमा सरकारसँग अझै छलफल गरेर निर्णय लिनुपर्ने देखिन्छ,’ उनले भने ।
सिमेन्ट उद्योगहरुले गत मंसिरयता पटकपटक गरी बोराको ३ सयभन्दा बढी रुपैयाँसम्म मूल्य बढाएको निर्माण व्यवसायी र उपभोक्ताले गुनासो गर्दै आएका छन् । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहका अनुसार मंसिरमा ४८० रहेको सिमेन्टको मूल्य अहिले ७८० रुपैयाँ पुगेको छ । ‘व्यवसायीले लोडसेडिङका कारण लागत वृद्धि भएर मूल्य बढाउनुपरेको बताउँदै आएकोमा अहिले लोडसेडिङ हटेपछि १५ देखि २५ रुपैयाँमात्र घटाउनु न्यायपूर्ण छैन,’ उनले कारोबारसँग भने, ‘पहिले प्राधिकरणले लोडसेडिङ छैन भन्दा व्यवसायीले छ भनेर मूल्य बढाएको भन्थे । अहिले प्राधिकरण र व्यवसायी दुवैले लोडसेडिङ छैन भनेर एकै स्वरमा भनिरहेका छन् । तर, मूल्यचाहिँ ३ सय वृद्धि गरेर २५ रुपैयाँ घटाउनु युक्तिसंगत छैन ।’ पछिल्लो एक हप्तामा व्यवसायीहरु मिलेर ग्याबिन वायरमा चर्को मूल्यवृद्धि गरेको महासंघ अध्यक्ष सिंहले बताए । ‘प्रतिकिलो १०९ बाट १२५ रुपैयाँ पुगेको छ, यसले थप मार परिरहेको छ,’ उनले भने ।