Logo

ज्योति विकास बैंकद्वारा बेबी वार्मर सहयोग

काठमाडौं– ज्योति विकास बैंकले विभिन्न स्वास्थ्य संस्थालाई बेबी वार्मर (न्यानो नानी) मेसिनहरू प्रदान गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका ग्रामीण क्षेत्रमा जीवनरक्षक चिकित्सा उपकरणको महत्त्वलाई ध्यानमा राखी विभिन्न जिल्लाका अस्पताल तथा बर्थिंग सेन्टरमा नवजात शिशुको शारीरिक तापक्रमलाई उचित राख्न र हाइपोथर्मिया को जोखिमबाट जोगाउन आवश्यक बेबी वार्मर (न्यानो नानी) मेसिनहरू प्रदान गर्दै आएको छ ।

बैंकले सुदूरपश्चिम प्रदेशका पहाडी भेगका अति दुर्गम चार स्थानमा सो मेसिन जडान गरेको छ । दुर्गम क्षेत्रमा सुरक्षित प्रसुति सेवाको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले आफ्ना शाखा नभएका यी स्थानमा पनि बेबी वार्मर प्रदान गरेको हो । बैंकको पहलमा बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका स्थित श्रीकोट हेल्थ पोस्टमा बेबी वार्मर जडान गरिएको छ ।

साथै, दार्चुला जिल्लाको लेकम नगरपालिका–२ शर्मौली अवस्थित शर्मौली हेल्थ पोस्ट र अपिहिमाल गाउँपालिका–५ सौगन्नामा रहेको सौगन्ना आधारभूत स्वास्थ्य केन्द्रमा पनि बेबी वार्मर जडान गरिएको छ । यसका अतिरिक्त, बैंकले बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका–२ ब्रह्मटोल अवस्थित ब्रह्मटोल हेल्थ पोस्टमा पनि बेबी वार्मर जडान गरेको छ । बुढीगंगा नगरपालिकाकै पहिलो बेबी वार्मरले उक्त क्षेत्रको प्रसुति सेवामा थप सहजता पुग्ने भएकाले सम्बन्धित निकायहरु पनि थप उत्साहित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्