औद्योगिक करिडोर निर्माणका लागि पूर्वाधार विकास सुरु «

औद्योगिक करिडोर निर्माणका लागि पूर्वाधार विकास सुरु

झापाको बिर्तामोड–२ मा औद्योगिक करिडोर बनाउने लक्ष्यका साथ पूर्वाधार विकास थालिएको छ । छरिएर रहेका उद्योगहरूलाई एकै स्थानमा व्यवस्थित गर्नका लागि औद्योगिक करिडोरको अवधारणा अगाडि सारिएको हो ।
बिर्तामोड नगरपालिकाले करिडोरका लागि क्षेत्र निर्धारण गरेको छ । गोकुल जोशी मार्गदेखि दक्षिण पट्टिको क्षेत्र करिडोरको लागि निर्धारण गर्दै सडक उत्तरपट्टिका उद्योगलाई स्थानान्तरण गरिने भएको छ । नगरपालिकाले वार्षिक नीति तथा कार्यक्रममै औद्योगिक करिडोरलाई समेटेको छ । उद्योग क्षेत्रको विकास र उन्नतिका लागि ठोस योजना बनाइ कार्य अगाडि बढाएको बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुर्वकुमार शिवाकोटीले बताए । बिर्तामोड–२ को दक्षिणी क्षेत्रलाई उद्योगको हब बनाउँने नीति लिएको प्रमुख शिवाकोटी बताउँछन् । सो क्षेत्रको औद्योगिक पूर्वाधार विकास, विद्युत्को नियमितता र अन्य समस्याहरूको पहिचान गरी साझा रूपमा समस्याको समाधान गर्ने नगरको नीति तथा कार्यक्रममा उल्लेख छ । सो क्षेत्रमा उद्योग सञ्चालन गर्नका लागि लगानीकर्ताले आवश्यक प्रक्रिया सुरु गरेको नगरप्रमुख शिवाकोटीले बताउँछन् ।
बिर्तामोड–२ मा कुटीर, लघु र ठूला गरी ६० भन्दा बढी उद्योग सञ्चालित छन् । सामान्य ग्रिलदेखि सिमेन्ट, रड, स्टिल, ग्यासजस्ता ठूला उद्योगहरू पनि वडा भित्र खोलिएका छन् । इटा ४, प्लाइ ६, सिमेन्ट १, रड २, स्टिल १, ग्यास १, सिमेन्टेट पोल १, कुरमुरे १, मुरइ १ लगायतका ठूला उद्योगहरू सञ्चालनमा रहेको बिर्तामोड–२ का वडाध्यक्ष नगेन्द्र संग्रौलाले बताए । उनले यस वर्ष चिस्यान केन्द्र, ब्लक इटा र किट उद्योग खुल्न लागेको जानकारी दिए । बिर्तामोड–२ लाई औद्योगिक क्षेत्र घोषणा गरिएको छ । बिर्तामोड नगरपालिकाको गत वर्षको नगरपरिषद्ले बिर्तामोड–२ लाई औद्योगिक क्षेत्र घोषणा गरेको हो । औद्योगिक करिडोरको क्षेत्र निर्धारणसँगै वडा कार्यालयले निश्चित नीति नियम बनाएको छ ।
इँटा उद्योगबाट प्रदूषण हुने गरेकाले अत्याधुनिक प्रविधि बिना नयाँ इँटा उद्योग खोल्न नदिने निर्णय गरिएको वडाध्यक्ष संग्रौलाले बताए । “सरकारी मापदण्ड पुरा गरेपनि नगरले पनि केही दायरा बनाएको छ” उनले भने, “त्यो दायरा पूरा गर्नुपर्छ ।” गोकुल जोशी मार्गदेखि दक्षिणपट्टि र घाँग्रा नदी छेउ अम्बे भवानी र पाथिभरा स्टिल उद्योग आसपासमा सबै उद्योगहरू सार्ने तयारी भइरहेको छ । उक्त क्षेत्र महेन्द्र राजमार्गदेखि २ किलोमिटर दक्षिण पर्छ । सडकदेखि उत्तरपट्टिको भूभाग आवास क्षेत्रको लागि निर्धारण गरिएको छ । “केही महिना अघिदेखि सडक उत्तरपट्टि उद्योग खोल्न अनुमति दिएका छैनौं,” संग्रौलाले भने, “खोलिएकाहरूलाई पनि बिस्तारै सार्ने पहल गर्दैछौं ।” पूर्वपश्चिम गोकुल जोशी मार्गले बिर्तामोड–२ लाई दुई भागमा विभाजन गरेको छ । सो मार्ग उत्तरपट्टि आधा दर्जन उद्योगहरू सञ्चालित छन् ।
नगरपालिकाले कोइला तथा इँटाभट्टाबाट हुने प्रदूषण न्यूनीकरण गर्न आवश्यक प्रवद्र्धन मिलाउने जनाएको छ । धुलो र धुँवाबाट जनस्वास्थ्यमा असर पुगेपछि इँटा उद्योगहरूलाई गाडीमा माटो बोक्न प्रतिबन्ध लगाएको छ । उद्योग खोलिएको आसपासको क्षेत्रलाई प्रभावित क्षेत्र निर्धारण गर्ने तयारी गरिएको छ । उद्योग आसपासका बासिन्दालाई पर्न जाने असरलाई मध्यनजर गरी उनीहरूलाई सहयोग र सहुलियत दिनका लागि वडा कार्यालयले प्रभावित क्षेत्र निर्धारण गर्न लागेको हो । इँटा उद्योगले आसपासका बासिन्दालाई इँटा खरिदमा २० प्रतिशत छुट दिने गरेका छन् । साविक चारपाने गाविसको ६,७ र ८ नम्बर वडाका बासिन्दाहरूले सहुलियत पाउने छन् । तर, अरू उद्योगले त्यस किसिमको सुविधा दिएका छैनन् । वडाभित्र खोलिएका ती स्वदेशी उद्योगबाट स्थानीयले भनेजस्तो रोजगारीको अवसर पाउन सकेका छैनन् ।
बिर्तामोड–२ ले करिब २५ सय विगाहा क्षेत्रफल ओगटेको छ । विगतमा अधिकांश भूभाग खेति योग्य रहेपनि अहिले धेरै भूभागमा उद्योग सञ्चालित छन् । बिर्तामोड–२ का उद्योग कलकारखानालाई बिर्तामोड नगरपालिकाले राम्रो आम्दानीको स्रोतको रूपमा लिएको छ । त्यहाँका उद्योगबाट वार्षिक रूपमा लाखौंको राजस्व असुली हुने गरेको छ । नगरपालिकाले ‘क’ र ‘ख’ श्रेणी निधारण गरी उद्योगबाट व्यवसाय कर लिने गरेको छ । श्रेणी हेरेर उद्योगहरूलाई २ हजारदेखि १ लाखसम्म व्यवसाय कर तोकिएको नगरपालिकाले जनाएको छ । बिर्तामोड–२ का उद्योगमा करिब सात हजार कामदार कार्यरत छन् । त्यसमध्ये १५० जति नेपाली कामदार र बाँकी भारतीय नागरिक रहेका छन् । उद्योगले आवश्यक कामदार भारतबाट ल्याउने गरेको स्थानीय सूर्य राजवंशी बताउँछन् । नेपाली र भारतीय कामदारको ज्याला पनि फरक–फरक रहने गरेको पूर्व वडाध्यक्षसमेत रहेका राजवंशीले भने ।

 

प्रतिक्रिया दिनुहोस्