Logo

पाङराङका कृषक काँक्रोखेतीतर्फ आकर्षित

पर्वत– पर्वतको बिहादी गाउँपालिका–१ का शिवकुमार क्षेत्री १२ वर्षसम्म कोरियामा काम गरेर फर्केपछि काठमाडौंमा एक वर्ष बिताए । त्यहाँ काम गर्न नसकेपछि गाउँ फर्केर व्यावसायिक काँक्रो खेती थालेका छन् । अहिले उनी खेतबारीमै भेटिन्छन् । क्षेत्रीकै नेतृत्वमा गठन भएको सिर्जनशील कृषक समूहका ३२ जना किसानले डेढ हेक्टर जमिनमा काँक्रो रोपेका छन् । यो काँक्रोको खेती बीउ उत्पादनका लागि हो ।

फागुनको अन्तिम साता रोपिएको काँक्रो आगामी जेठमा पाकेर बीउ निकाल्न योग्य हुन्छ । बिहादी–४ का ऋषिराम भुसाल पनि अहिले बाच्छा फाँटमा भेटिन्छन् । उनी कृषि प्राविधिकसमेत हुन् । आईपीएम पाठशाला चलाउने उनले किसानलाई सिकाउँदै आफूले पनि १५ रोपनीमा काँक्रो खेती गरेका छन् । उनले भाडामा जग्गा लिएर काँक्रोको बीउ उत्पादन गर्दै आएका हुन् । गतवर्ष उनले बीउमात्रै दुई क्विन्टल उत्पादन गरे । उनकै छिमेकी उदय रेग्मीले पनि १५ रोपनीमै काँक्रो उत्पादन गरेर बीउ बेचेका थिए ।

फलेवास नगरपालिका–११ पाङराङका किसान सूर्यबहादुर कुँवरले त २५ वर्षदेखि नै काँक्रोको बीउ फलाइरहेका छन् । उनको नारायणस्थान बीउ उत्पादक समूहले गतवर्ष ६३ क्विन्टल काँक्रो फलाएको बताए । उनीहरूले प्रतिकेजी १० हजारदेखि १५ हजार रुपैयाँसम्म बारीबाटै बीउको मूल्य पाउने गरेका छन् । रोप्ने बेलासम्म राख्नेले भने प्रतिकेजी २३ हजार रुपैयाँसम्म पर्ने गरेको हो ।

फागुनभर फलेवास र बिहादीका फाँटमा किसान काँक्रो रोप्न व्यस्त भेटिन्छन् । जलजला गाउँपालिका–७ धाइरिङका किसानले पनि मनग्ये काँक्रो फलाएर बीउ बेच्दै आएका छन् । यसरी फलाएको भक्तपुरे लोकल काँक्रोको बीउ उनीहरूले काठमाडौं, पोखरा र अन्य सहरी क्षेत्रसम्म पुर्‍याउँछन् । कृषि ज्ञान केन्द्र पर्वतका अनुसार, हरेक वर्ष किसानले ६ करोड रुपैयाँको काँक्रोको बीउमात्रै उत्पादन गरेर बजार पठाएका छन् ।

‘हामीले किसानको प्राविधिक समस्या समाधानमा साथ दिएका छौं, अरु काम आफै गर्छन्,’ केन्द्रका प्रमुख परशुराम अधिकारीले भने, ‘बजारीकरणमा पहिलादेखिकै सम्पर्क भएकाले हामीले सहयोग गर्नुपरेको छैन ।’ उपयुक्त हावापानी, सिँचाइको सुविधा भएकोले बाच्छा, पाङराङ र धाइरिङजस्ता गाउँका किसानले वर्षेनी काँक्रोखेती गरिरहेको उनले बताए ।

बरु सिँचाइ बढाउन केन्द्रले नहर तथा पाइप खरिदमा अनुदान दिएको उनले बताए । त्यसबाहेक केन्द्रले विभिन्न स्थानमा हरेक वर्ष माटो परीक्षण गरेर किसानको उत्पादकत्व बढाउन पहल गरेको अधिकारीले जानकारी दिए । भुसालसहितका प्राविधिक पठाएर बारीमै पाठशालासमेत चलाएपछि किसान उत्पादनमा रमाएका छन् ।

पाङराङमा मात्रै ७० घरपरिवार काँक्रोको व्यावसायिक खेतीमा लागेका छन् । बाच्छा गाउँमा पनि ३४ जना किसान समूहमा आबद्ध भएर खेती गरेका हुन् । यसरी खेती गर्दा हरेक घरमा वर्षेनी पाँचदेखि १५ लाख रुपैयाँसम्म कमाइ हुने गरेको उनले बताए । विशेषगरी फागुन महिनाभर किसानले काँक्रो रोप्ने गर्छन् । त्यो काँक्रो जेठको अन्तिम साता तयार भएर बीउ निकाल्ने गरिन्छ । त्यतिबेला व्यापारी गाउँमै खरिद गर्न आइपुग्छन् ।

प्रतिक्रिया दिनुहोस्