Logo

काँकडभिट्टा नाकाबाट आयात बढ्यो

बिर्तामोड– काँकडभिट्टा नाकाबाट आयात व्यापार बढेको छ । नेपालबाट बंगलादेश निर्यात हुने सामानको तुलनामा आयात बढेको नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काकँडभिट्टाले जनाएको हो । नेपाल– बंगलादेशबीचको व्यापार पछिल्लो एक दशकयता आर्थिक वर्ष २०७०/७१ सम्म द्विपक्षीय व्यापारमा आयात कम र निर्यात बढी हुने गरेको थियो । तर, अहिले निर्यातभन्दा आयात वढी भएको नेपाल पारवहन शाखा कार्यालय काकँडभिट्टाका प्रमुख सुवास पाण्डेयले बताए ।

कुनै समय ५ अर्बभन्दा बढीको मालसामान बंगलादेश निर्यात गरेको नेपालको पूर्वी नाका काँकडभिट्टाबाट बंगलादेश निर्यात हुने सामग्री करोडमै सीमित हुन पुगेको उनले बताए । चालु आव २०८१/८२ को साउनदेखि फागुनमसान्तसम्म बंगलादेशबाट दुई अर्ब ९६ करोड ९१ लाख रुपैयाँबराबरको सामग्री आयात भएकोमा २७ करोड ६८ लाख रुपैयाँको सामग्री बंगलादेश निर्यात भएको पाण्डेयले बताए ।

चालु आव २०८१/८२ को साउनदेखि फागुनमसान्तसम्म बंगलादेशबाट एक अर्ब ६० करोडबराबरको अप्रशोधित जुटसहित ब्याट्री, पोल्ट्री फिड सप्लिमेन्ट, कस्मेटिक आइटम, हाइड्रोजन प्याराअक्साइड, जुट यार्न, विद्युतीय उपकरण, औषधि, आलु, पेपर, ग्लास, फुड एण्ड वेभरेजका सामग्री आयात भएको उनले बताए । त्यस्तै सो नाकाबाट २३ करोड ६२ लाख रुपैयाँको खुदोसहित जडीबुटी, घरायसी सामग्री तथा पशुआहार बंगलादेश निर्यात भएको उनले जानकारी दिए ।

भूगोलका हिसाबले नजिक भएर पनि नेपाल र बंगलादेशबीच अपेक्षाकृत व्यापार विस्तार हुन नसकेको कारण प्रत्येक आवमा नेपाल–बंगलादेश व्यापार घाटा बढिरहेको उनले बताए । दुई मुलुकबीचको सम्बन्ध भौगोलिक तथा अन्य दृष्टिबाट नजिकको भएकाले नेपालले आव २०५४/५५ देखि सिधा व्यापार सुरु गरेको दक्षिण एसियाली मुलुक बंगलादेशसँग व्यापार घाटा बढ्दो क्रममा रहेको उनी बताउँछन् ।

प्रत्येक वर्ष नेपाली सामानको निर्यात घट्दै गएको र बंगलादेशी सामानको आयात बढ्दै गइरहेको कारण व्यापार घाटा बढेको उनको भनाइ छ । आव २०७१/७२ सम्म आयातका तुलनामा नेपालमा उत्पादित कृषिजन्य सामग्री बंगलादेश बढी निर्यात हुने गरेको बताउँदै शाखा कार्यालय काकँडभिट्टाका प्रमुख पाण्डेयले बंगलादेश सरकारले भन्सार दररेट बढाएसँगै नेपालबाट मुसुरो दाल, जडीबुटी, अदुवालगायतका सामग्रीको निर्यात कम भएसँगै आयात बढेको बताए ।

द्विपक्षीय व्यापारको पछिल्लो २६ वर्षमा १० वर्षयता नेपालबाट हुने निर्यात बंगलादेशबाट हुने आयातको तुलनामा बढी देखिएको बताउँदै उनले आव २०७१/७२ देखि नेपालबाट निर्यात कम र बंगलादेशबाट आयात निरन्तर बढिरहेको बताए । नेपाल–बंगलादेश द्विपक्षीय व्यापार सम्झौतामा सुधार गरी निकासी गर्ने नयाँ मालवस्तु पहिचान गर्न सकेमा निर्यात बढ्ने उनको भनाइ थियो । बंगलादेशमा उच्च माग रहेका वस्तु पहिचान गरी नेपालबाट बंगलादेशमा निकासी गर्न सकेमा धेरै लाभ उठाउन सकिने उनले बताए ।

नेपालबाट निर्यात हुने वस्तुमा बंगलादेशले भन्सार महसुल धेरै लगाएको र उताबाट यहाँ आयात हुने वस्तुमा ज्यादै न्यून भन्सार महसुल दर भएको बताउँदै पाण्डेयले भन्सार महसुल कम गर्न सकेमा बंगलादेशमा उच्च माग रहेका तरकारीजन्य वस्तु र अन्य कृषिजन्य उत्पादन नेपाली व्यवसायीहरूले निर्यात गर्न सक्नेमा जोड दिए । बंगलादेशमा अदुवा, अलैँची, अम्लिसो तथा जडीबुटी निर्यातको सम्भावना धेरै भएकाले नेपाल सरकारले यी वस्तुको निर्यातमा अनुदानको व्यवस्था गरी प्रोत्साहन दिन सकेमा निर्यात बढ्ने उनको भनाइ छ ।

बंगलादेशले भारतबाट निकासी हुने कतिपय उस्तै वस्तु नेपालबाट निर्यात गर्दा बढी भन्सार महसुल लिने गरेकाले निर्यात घटेको बताए । उनले द्विपक्षीय व्यापारमा यस्ता समस्या समाधान गर्न सकेमा बंगलादेशमा निर्यात बढाउन सक्नेमा जोड दिए । नेपालको पूर्वी नाका काँकडभिट्टा मेची भन्सार कार्यालय हुँदै भारतको पानीट्यांकी–फूलबारीबाट बंगलादेशको बंगलाबन्धबाट व्यापार हुँदै आएको छ । भारतले फूलबारी–बंगलाबन्ध नाका नेपाल–बंगलादेशबीचको व्यापारका लागि उपलब्ध गराएको ‘ट्रान्जिट’ हो ।

पूर्वी नाका काँकडभिट्टाबाट करिब ८० किलोमिटरको दूरीमा बंगलादेश रहेको छ । नेपालबाट बंगलादेशमा दाल, अदुवा, चिराइतो, मोलासिस, खाद्यपदार्थ, पशु आहाराका लागि कच्चापदार्थ, खयरकत्था, रंगरोगनका पदार्थ जडीबुटी, तिलको पिनालगायत निर्यात हुँदै आएको छ भने बंगलादेशबाट, जुट, आलु, प्लाष्टिकजन्य सामग्री, वासिङ मेशिन, औषधि, भटमासको दाना र पिना, मेशिनरी सामग्री, ब्याट्री, तयारी कपडा, एलोपेथिक औषधि, टिस्युपेपर, ग्लास सिट, बिस्कुट तथा चकलेटलगायत आयात हुने गरेको पाण्डेयले बताए ।

प्रतिक्रिया दिनुहोस्