भकुण्डेमा नमोबुद्ध महोत्सव «

भकुण्डेमा नमोबुद्ध महोत्सव

काभ्रे- नेपाल पर्यटन वर्ष–२०२० तथा तामाङ जातिको ल्होछार पर्वको अवसर पारेर दोस्रो नमोबुद्ध महोत्सव सुरु भएको छ । नमोबुद्ध नगरपालिका–४ भकुण्डेबेंसीमा सञ्चालन भएको महोत्सवमा ११ दिन चल्नेछ । महोत्सवको संघीय प्रतिनिधिसभा सांसद गंगाबहादुर दोङ (बम ध्वज) ले उद्घाटन गरे ।
नमोबुद्ध उद्योग वाणिज्य संघले गरेको महोत्सव माघ १९ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । नमोबुद्ध उद्योग वाणिज्य संघका अध्यक्ष बसुनारायण श्रेष्ठले धर्म संस्कृति, रीतिरिवाज, कलासंस्कृति एवं उत्पादित वस्तुको प्रचार र जर्गेना गर्न महोत्सव गरिएको बताए । उनले तामाङ जातिको ल्होछार पर्व पनि परेकाले तामाङ जातिको रहनसहन, लोपन्मुख बाजागाजासमेत महोत्सवमा रहेको बताए । नेपाल भ्रमण वर्षमा पर्यटकीय स्थल नमोबुद्ध मात्र होइन नमोबुद्ध नगरपालिकामा अन्य पनि स्थल पर्यटनका लागि उपयुक्त छन भन्नका लागि ११ दिने महोत्सव गरिएको उनको भनाइ छ ।
महोत्सवमा लत्ताकपडा, विभिन्न कम्पनी, संघ–संस्थाका स्टल, स्वास्थ्य शिविर, खेलकुद सामग्री, दैनिक आवश्यक सामग्रीलगायतका ६० स्टल छन् । मनोरञ्जनका खेल, रोटेपिङ, नाउँ, काररेस, ब्रेक डान्स, ड्राइगन, मिकिमाउस, विभिन्न जादुलगायतका विभिन्न बाल मनोरञ्जनका सामग्री यस महोत्सवमा रहने आयोजकको भनाइ छ । उक्त महोत्सवमा एक लाख ५० हजारले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

 

प्रतिक्रिया दिनुहोस्