कर्णाली राजमार्गमा रात्रीकालीन बस सेवा सुरु हुने «

कर्णाली राजमार्गमा रात्रीकालीन बस सेवा सुरु हुने

कर्णाली राजमार्गमा रात्रीकालीन समयमा सवारी साधन चलाउने तयारी गरिएको छ । प्रदेश सरकार बनेपछि रात्रीकालीन यातायातका साधन चलाउन खुकुलो पारिने भएको हो ।
कर्णाली राजमार्गमा दुर्घटना बढ्दै गएपछि तीन वर्षदेखि रात्रीकालीन समयमा सवारी साधन चल्न बन्द गरिएको थियो । रातको समयमा सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाइएको कर्णाली राजमार्गमा केही खुकुलो बनाउने प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले तयार पारेको ‘समृद्धिका लागि सुरक्षा अभियान’ अन्र्तगत सडक कार्यक्रमले यो तयारी गरेको हो ।
रात्रीकालीन यातायातमा रोक लगाइएको करिब तीन वर्षपछि राजमार्गमा सवारी सञ्चालनमा खुकुलो बनाउने तयारीअन्तर्गत यस राजमार्गमा अब निजी तथा साना सवारी साधनहरू रातको समयमा पनि सञ्चालन हुन पाउने गरी प्रदेश सरकारले नीति समावेश गरेको कालिकोट जिल्लाका प्रहरी प्रमुख सुवाषचन्द्र बोहोराले बताए । “बारम्बार ठूला दुर्घटना भएर दर्जनौं यात्रुको ज्यान गएपछि २०७१ पुसदेखि कर्णाली राजमार्गमा रातको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको थियो ।” उनले भने, “अब प्रदेश सरकारले केही खुकुलो पार्ने नीति तयार गर्न थालेको छ ।”
सुर्खेतदेखि दैलेख, कालिकोट, जुम्ला र मुगुसम्म जोड्ने यस राजमार्गमा रातको समयमा यातायात सञ्चालन गर्न दिने हो भने कालिकोट सडकखण्डमा सबैभन्दा बढी सुरक्षा खतरा रहेको सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार दुलालले बताए । “राजमार्गको अवस्था दयनीय भएको र रातको समयमा सवारी साधन चल्न दिने हो भने दुर्घटना बढ्ने सम्भावना बढी छ ।” उनले भने, “अरु सडकखण्डमा सजिलो भए पनि कालिकोट सडकखण्ड निकै अप्ठयारो छ । सुरक्षा दृष्टिकोणले सवारी सञ्चालन गर्न उपयुक्त छैन ।”
कर्णाली राजमार्गमा रात्रीकालीन समयमा निजी र साना सवारी साधन निर्वाध रूपमा चल्ने र यात्रुबाहक र ठूला सवारी साधन पनि बिहान ५ बजेदेखि राति १० बजेसम्म चल्न दिने प्रदेश सरकारले तयारी थालेको कालिकोट जिल्लाका प्रहरी प्रमुख बोहोराले बताए । “यात्रुवाहक सवारी साधन राति १० बजेसम्म सञ्चालन हुन पाउने छन् ।” उनले भने, “यसअघि राति ८ बजेसम्म मात्र सञ्चालन हुँदै आएका थिए ।”
यात्रुबाहक र ठूला सवारीलाई राति १० बजेदेखि बिहान ५ बजेसम्म सञ्चालनमा प्रतिबन्ध लगाइएको र साना सवारी साधनलाई रात्रीकालीन अवस्थामा पनि निर्वाध चल्न दिने काम विभेदपूर्ण भएको कर्णाली यातायात प्रालिका अध्यक्ष हस्तबहादुर बमले बताए । “कर्णाली राजमार्गको स्तरोन्नति नगरी रात्रीकालीन सेवा सुरु गर्ने हो भने दुर्घटना बढ्ने निश्चित छ ।” उनले भने, “यातायातका साधनलाई रात्रीकालीन सेवामा प्रतिबन्ध लगाइनुपर्छ ।”
कर्णाली राजमार्गमा करिब १० वर्षको अवधिमा राजमार्गमा साना ठूला गरी हालसम्म १७० भन्दा बढी दुर्घटना भइसकेका छन् । जसमा २३० जनाको ज्यान गइसकेको छ । यस्तै २८० जनाभन्दा बढी यात्रु घाइते भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरको तथ्यांकमा उल्लेख छ ।

रमेश रावल

प्रतिक्रिया दिनुहोस्