Logo

जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा अश्रुग्यास प्रहार

धनुषा- जनकपुरधाम उपमहानगरपालिका विन्धीमा स्थानीय र प्रहरीबीच झडप भएको छ । छुरा प्रहार गरी हत्या गरेको घटनामा संलग्न दोषीहरुको पक्राउको माग गर्दै जनकपुर–जलेश्वर सडक खण्ड अवरुद्ध गरेपछि प्रहरीले खुलाउने क्रममा झडप हुँदा दर्जनौं सेल अश्रुग्यास समेत प्रहार गरेको छ ।

झडपको क्रममा कैयौँ प्रहरी र स्थानीय समान्य घाइते भएका छन् । गत चैत २ गते होली खेल्ने क्रममा कुर्ता च्यातिएको निहुँमा स्थानीय २१ वर्षीय धर्मेन्द्र महतोले पप्पु यादवका छोरा १५ वर्षीय आशुलाई घरबाट बोलाएर छुरा प्रहार गरी बीभत्स हत्या गरेका थिए । घटना लगत्तै धर्मेन्द्र पक्राउ परेका थिए ।

उनलाई छुरा दिने स्थानीय रामवरण महतोका छोरा राकेश महतो लगायत आशुलाई घरबाट बोलाउन सहयोग गर्नेहरू अझै फरार छन् । गत चैत १३ गते पनि आशुकी आमा अर्चनासहित स्थानीयले सडक अवरुद्ध गरेर प्रदर्शन गरेका थिए ।

घटनाको दुई साता पुग्दा समेत उनीहरूलाई पक्राउ गर्न नसकेको भन्दै आशुकी आमासहित स्थानीयले आइतबार बिहानदेखि सडक अवरुद्ध गर्दै प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्