सूर्य नेपालले कान्तिपथमा गर्यो अस्फाल्ट कालोपत्रे

काठमाडौं– सूर्य नेपालले काठमाडौंमा पहिलो पटक प्लास्टिकजन्य पदार्थ मिसाएर बनाइने अल्फास्ट प्रविधिबाट सडक कालोपत्रे गरेको छ । सूर्य नेपालको सहयोगमा कान्तिपथमा प्लास्टिक मिश्रित अस्फाल्ट सडक कालोपत्रे गरिएको हो ।
यो परियोजना नेपाल सरकारको सडक विभाग, गुणस्तर अनुसन्धान विकास केन्द्र र ग्रीन रोड नामक संस्थासँगको सहकार्यमा सम्पन्न भएको हो । सूर्य नेपालको सामाजिक उत्तरदायित्वअन्तर्गत सुरू भएको यो अनुसन्धान परियोजनाले भविष्यमा प्लास्टिकबाट बनाइने सडकको मापदण्ड सेट गर्न गुणस्तर अनुसन्धान विकास केन्द्र, सम्बन्धित संस्था र अनुसन्धानकर्तालाई महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
यस अनुसन्धानका आधारमा यो प्रयोग सफल भई मापदण्ड बनेमा नेपालमा पनि प्लास्टिकबाट निर्मित सडक निर्माणको लागि बाटो खुल्नेछ । विभिन्न अनुसन्धानले प्लास्टिक मिश्रित अस्फल्ट सडक परम्परागत सडक भन्दा अधिक टिकाउ, कम खर्चिलो र पर्यावरणमैत्री हुने देखाएको छ । भारतलागायत मुलुकमा यस सम्बन्धि मापदण्ड रहेकाले प्लास्टिक मिश्रित सडक निर्माण भइरहेका छन् ।