कर्णाली प्रदेशमा सडक सुरक्षा योजना «

कर्णाली प्रदेशमा सडक सुरक्षा योजना

कर्णाली प्रदेश सरकारले सडक सुरक्षा योजनासम्बन्धी विशेष कार्यक्रम सुरु गरेको छ ।
समृद्धिका लागि सुरक्षा अभियान ‘सडक सुरक्षा कार्यक्रम’ नाम दिइएको सो कार्यक्रमको शनिबार प्रदेश राजधानी वीरेन्द्रनगरमा उद्घाटन गरिएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले अघि सारेको ‘समृद्धिका लागि सुरक्षा अभियान’ प्रदेशका १० वटै जिल्लामा सुरु भएको जनाइएको छ । अभियानको उद्घाटन गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सडक सुरक्षा कार्यक्रमले दुर्घटना न्यूनीकरण हुनेमा विश्वास व्यक्त गरे । मुख्यमन्त्री शाहीले समग्र शान्ति सुरक्षामा समेत यो अभियानले महत्वपूर्ण भूमिका खेल्नेमा आफू विश्वस्त रहेको बताए । अबको युग परिवर्तनको विकासको भएको बताउँदै मुख्यमन्त्री शाहीले पुरानो सोच, पुरानो कार्यशैली, पुरानो काम गर्ने तौरतरिका र चिन्तनहरू बदल्न जरुरी रहेको बताए । उनले सबैले आआफ्नो दायित्व पूरा गरे समृद्धि सम्भव भएको बताउँदै दायित्वबोध गर्न मतहतका निकायलाई निर्देशन पनि दिए । “जो जुन ठाँउमा जे काम गर्दैछ त्यही कामलाई राम्रोसँग गर्न सके समृद्धि टाढा छैन,” मुख्यमन्त्री शाहीले भने, “हरेक व्यक्तिले आफूले गर्न लागेको कामलाई सभ्य रूपमा सम्पन्न गरौं समृद्धि सम्भव छ ।”
प्रदेश प्रहरी प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) रणबहादुर चन्दले कर्णाली प्रदेशका मानिसको मृत्युको कारका रूपमा रहेको सडक दुर्घटना न्यूनीकरणका लागि सडक सुरक्षा कार्यक्रम लागू गरिएको जानकारी दिए । उनले कार्यक्रमअन्तर्गत कर्णाली राजमार्ग, छिन्चु–दैलेख सडक खण्ड, कपुरकोट–रुकुम सडक खण्डलगायतमा हाई–वे प्रहरी गस्ती गरिने जनाए । यस्तै चालक, नागरिक तथा सडक प्रयोगकर्ताहरूका लागि सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिने उनले बताए । कार्यक्रमको उद्घाटनमा आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी, उपसभामुख पुष्पा घर्ती, प्रदेश सरकारका मन्त्रीहरू, उच्चपदस्थ अधिकारी, प्रदेशसभाका सांसद, राजनीतिक दलका प्रमुख, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख उपप्रमुखलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्