सुरु भयो चियाको पहिलो टिपाई

इलाम– चियाको पहिलो टिपाई सुरु भएको छ । चियाको राजधानी भनेर चिनिने इलाममा सिजनको पहिलो हरियो चिया पत्तीको टिपाई सुरु भएको हो । जिल्लाको तल्लो क्षेत्रमा चियाको टिपाई सुरु भएको हो । माथिल्लो क्षेत्रमा भने अझै चिया पलाएको छैन । गएको कात्तिक महिनादेखि बन्द भएको चियाको उत्पादन चैत महिना लागेसँगै मुना पलाएपछि टिपाई सुरु भएको किसान दीपक खतिवडाको भनाइ छ ।
चिया टिप्नु परेपछि किसान तथा चिया उद्योगी र श्रमिक चियाको काममा व्यस्त हुने दिन सुरु भएको छ । चियाको पहिलो टिपाईलाई फस्ट प्लग भन्ने गरिन्छ । पहिलो टिपाइबाट तयार हुने चिया उच्च गुणस्तरको हुने भएकाले महँगो मूल्यमा बिक्री हुन्छ । चिया किसानले हरियो पत्तीको मूल्यसमेत बढी पाउने गरेका छन् । यस सिजनको चियामा पानीको मात्रा कम हुने गरेकाले पनि यसलाई राम्रो चियाको रूपमा लिने गरिन्छ ।
जिल्लाको तल्लो क्षेत्र माई नगरपालिकाको दानाबारी, रोङ गाउँपालिकाको विभिन्न क्षेत्रमा चियाको टिपाई चैत सुरुबाट हुने गर्दछ । तर केही माथिल्लो स्थान तथा इलाम बजार क्षेत्रमा भने भर्खरै चिया पदाउन सुरु भएको छ । सन्दकपुर गाउँपालिकाको सुलुबुङ, माइजोगमाई गाउँ माथिल्लो क्षेत्रमा भने भर्खरै मात्र चियाको मुना बस्न सुरु भएको छ । टिपाई सुरु हुन अझै समय लाग्ने किसानको भनाइ छ ।
इलाममा हरियो पत्तीको टिपाई अर्थात् फस्ट प्लग चैत लागेसँग नै सुरु हुन्छ । सुरुवाति टिपाई भएकाले तयारी चियासमेत गुणस्तरीय उत्पादन हुन्छ । यस सिजनको चियाको मूल्य दोब्बरसम्म बढी हुने चिया किसानको भनाइ छ । चियाको उत्पादन सुरु भएसँगै चिया किसानसमेत काममा व्यस्त हुने गर्दछन् । साथै यहाँका चिया कारखानाले समेत प्रशोधन थालेका छन् । केहीले प्रशोधनको तयारी गरिरहेका छन् । जिल्लाको तल्लो क्षेत्रका किसानले चिया टिप्न थालेका छन् ।
प्राय: पहिलो टिपाईको चिया घरमा नै खान राखिने गरिएको छ । धेरै उत्पादन भएमा मात्र बेच्ने गरिन्छ । इलामलगायत पूर्वमा ११ हजार ५६९ हेक्टरमा चियाखेती भइरहेको तथ्यांक छ । १४ हजार ८९८ साना किसान चियाखेतीमा संलग्न छन् । तथ्यांकअनुसार एक करोड ८२ लाख केजी सिटिली तथा ४९ लाख किलो अर्थोडक्स चियाको उत्पादन भइरहेको छ ।