व्यावसायिक वातावरण नबन्दा लगानीमा संकुचन

दाङ– व्यावसायिक वातावरण बन्न नसक्दा व्यावसायिक क्षेत्रमा लगानी बढ्न नसकेको निजी क्षेत्रका अगुवाहरूले बताएका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघको २० औं साधारणसभामा वक्ताहरूले सो कुरा बताएका हुन् । राज्यको स्पष्ट नीति नहुँदा समस्या भएको उनीहरूको भनाइ छ ।
व्यावसायिक वातावरण नहुँदा स्वदेशी तथा विदेशी लगानी कर्ताहरूले लगानी नगरेको व्यावसायिक नेतृत्वले बताए । वातावरण नभएकै कारण अहिले पनि बैंकमा धेरै रकम जम्मा भएको उनीहरूको भनाइ छ । तुलसीपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष नरेशराज राजभण्डारीले जिल्लाको विकासका लागि साझा मुद्दा बनाएर अगाडि बढ्नु पर्ने बताए ।
सबै उद्योग वाणिज्य संघहरू मिलेर अगाडि बढेमा काम गर्न सहजता हुने उनको भनाइ थियो । एक्लै अगाडि बढ्दा समस्या हुने हुँदा सबै मिलेर अगाडि बढेको अवस्थामा काम गर्न सहज हुने उनको भनाइ थियो । राजभण्डारीले जिल्लाको आर्थिक विकासका लागि कोइलाबार भन्सार, टरिगाउँ विमानस्थल सञ्चालनमा प्रभावकारी रूपमा सञ्चालनमा ल्याउनु पर्ने बताए ।
देउखुरी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष केशव पोख्रेलले निजी क्षेत्रले उठाउँदै आएको मागको सुनाइ हुन नसकेको बताए । मागको सुनाइ नहुँदा निजी क्षेत्र अगाडि बढ्न नसकेको उनको भनाइ छ । ‘हामीले पटक पटक उठाउँदै आएका विषयहरू सुनाइ हुन सकेको छैन’ उनले भने ।
लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्व प्रदेश स्वास्थ्यमन्त्री राजु खनालले व्यावसायिक वातावरण निर्माण हुन नसकेको बताए । लगानीको वातावरण निर्माण नहुँदा अहिले बैंकमा धैरै रकम जम्मा भएको बताए । विदेशी तथा स्वदेशी लगानीसमेत भित्रिन नसकेको उनको भनाइ छ ।
‘राज्यले लगानी वातावरण निर्माणका लागि आवश्यक पर्ने नीति तथा कानुन निर्माणका ध्यान दिएको छ’ उनले भने,‘लगानीको वातावरण भएमा औद्योगीकरण हुनेछ’ । औद्योगिकीकरण भएमा देशका उत्पादन वृद्धिसँगै रोजगारी सिर्जना भई उत्पादित वस्तु निर्यात गरेर देशको आर्थिक स्थितिसमेत सुधार हुने उनको भनाइ छ ।
आर्थिक विकास नहुँदा अन्य क्षेत्रको समेत विकास हुन नसक्ने उनले बताए । ‘देशको विकासका लागि आर्थिक पक्ष बलियो हुन जरुरी रहेको छ’ उनले भने,‘यसलाई सरकारले ध्यान दिएर अगाडि बढेको छ ।’ आर्थिक विकासका लागि सरकार एक्लै अगाडि बढ्न नसक्ने यसका लागि निजी क्षेत्रको साथ र सहयोग चाहिने उनको भनाइ छ । ‘निजी क्षेत्र र सरकार मिलेर अगाडि बढेमा आर्थिक सुधार गर्न सकिन्छ’ उनले भने ।
दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले आर्थिक विकासमा निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको बताए । जिल्लामा धेरै सम्भावना बोकेको क्षेत्र भएकाले यसलाई ध्यान दिएर अगाडि बढ्नु पर्ने उनले बताए । जिल्लाको समग्र गुरु योजना निर्माण गरेर अगाडि बढेमा सहजता हुनेमा उनले जोड दिए ।