Logo

विवादरहित ठाउँबाट मोतिपुर औद्योगिक क्षेत्रको निर्माण सुरु गरिने

बुटवल– रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रको विवादरहित ठाउँबाट निर्माण सुरु गरिने भएको छ । यसको लागि २६८ बिघा जग्गाको सिमांकन गर्ने कार्य पूरा गरिएको हो । सुरुमा औद्योगिक क्षेत्रको लागि ८१३ बिघा जग्गा छुट्याइएको थियो । छुट्याइएको जग्गा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा कायम गरिएको छ । सो क्षेत्रभित्र बस्तीका साथै स्थानीयले जोतभोग गरेको जग्गा भएकाले विवाद हुँदै आएको थियो ।

विवादका कारण औद्योगिक क्षेत्र निर्माणको कामअघि बढ्न सकेको थिएन । अहिले विवादित जग्गालाई छोडेर औद्योगिक क्षेत्र निर्माणको कामअघि बढाउने स्थानीयसँग सहमति भएको छ । जसअनुसार २६८ बिघामा औद्योगिक क्षेत्र निर्माणको काम अगाडि बढाउन लागिएको हो । सिमांकन गरिएको यो जग्गामा पनि केही जोतभोगको जग्गा परेको छ । जोतभोग परेको जग्गा कसरी मिलाउने भनेर अहिले छलफल चलिरहेको औद्योगिक क्षेत्र व्यवस्थापन बुटवलका प्रमुख दीपक आचार्यले बताए ।

‘बुटवल उपमहानगरपालिकाको १७ र १८ वडामा पर्ने जग्गाको सिमांकन सकियो,’ उनले भने,‘त्यसभित्र जोतभोग गर्दै आएका किसानको जग्गा व्यवस्थापन कसरी गर्ने भन्ने विषय छ । अहिले व्यवस्थापन प्रक्रिया चलिरहेको छ ।’ यो ठाउँमा पाँच सात घर र केही जोतभोगको जग्गा रहेको अनुमान गरिएको छ । केही दिनअघि लिमिटेडका अध्यक्ष र महाप्रबन्धकले बुटवलमा स्थानीय र सरोकारवालासँग अन्तक्र्रिया गरेका थिए ।

बुटवलमा भएको कार्यक्रममा बुटवलका मेयर खेलराज पाण्डेसहित भूमि आयोगका अध्यक्ष, रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी, उद्योग वाणिज्य संघ, स्थानीय संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो । लिमिटेडको नाममा गएको आफूहरूको जग्गामध्ये केही जग्गा छाडेर औद्योगिक क्षेत्र बनाउन स्थानीय सहमत भएसँगै निर्माण कार्य अगाडि बढेको हो ।

लिमिटेडका अध्यक्ष बाबुराम पन्तसहितको टोलीले हालै मोतिपुर पुगेर प्रस्तावित औद्योगिक क्षेत्रको अवलोन गरेको थिए । बुटवल उपमहानगरपालिकाका नगर प्रमुख पाण्डेयले उपमहानगरपालिका, लिमिटेड र स्थानीयबीच पटकपटकको छलफलपछि औद्योगिक क्षेत्र बन्ने र स्थानीय जनता पनि विस्थापित हुनु नपर्ने गरी सहमति कायम भएको जानकारी दिए ।

हाललाई कम विवादित बुटवल १७ रानिगञ्ज क्षेत्रबाट स्थानीयको जग्गा सिमांकन सुरु भएको नगर प्रमुख पाण्डेयले बताए । लिमिटेडका अध्यक्ष पन्तले बुटवल उपमहानगरपालिकाको पहलमा पटकपटक स्थानीय तथा जनप्रतिनिधिबीच भएको छलफलबाट औद्योगिक क्षेत्र बन्ने र स्थानीय जनता पनि विस्थापित हुन नपर्ने गरी जग्गाको सिमांकन गर्ने कार्य सुरु गरिएको जानकारी दिए ।

सुरुमा स्थानीय र औद्योगिक क्षेत्रको जग्गा सिमांकन सुरु गरिएको भन्दै उनले जहाँ समस्या पर्छ त्यहाँ सम्बन्धित सरोकारवाला र स्थानीय जनप्रतिनिधिको रोहबरमा निकास निकाल्दै जाने बताए । १८ वडाको केही विवाद समाधान भएपछि औद्योगिक क्षेत्र निर्माणको कामअघि बढ्ने आचार्यले जानकारी दिए । यसअघि ८१३ बिघा क्षेत्रको डिपिआर गर्दा ए, बि, सी, डी र इ गरी पाँच वटा ब्लक छुट्याइएको थियो ।

अहिले बि ब्लकमध्ये विवाद नभएको क्षेत्रमा औद्योगिक क्षेत्र निर्माणको काम सुरु गर्न लागिएको हो । बि ब्लकमा रहेको रानिगञ्ज बस्तीलाई छोडेर दक्षिणतर्फ सिमांकन थालिएको छ । त्यहाँबाट दक्षिणतर्फ रहेको शुद्धोधन गाउँपालिकाको क्षेत्र सि र त्यसपछि डि ब्लकमा पर्छ । तिनाउ पारी तिलोत्तमा नगरपालिकाको क्षेत्र इ ब्लक पर्छ । बि र इ ब्लकमा विवाद कम छ । बाँकी ब्लक क्षेत्रमा जोतभोगको जग्गा पर्दा विवाद सिर्जना भएको छ ।

यसअघि ८१३ बिघाको डीपीआर भएको थियो । त्यसमा औद्योगिक क्षेत्र बन्न नसकेपछि सिमांकन भएको क्षेत्रको डीपीआर तयार हुन्छ । त्यसपछि औद्योगिक क्षेत्रको लागि सडक निर्माण गरेर कामअघि बढ्ने बताइएको छ । आचार्यले अहिले सिमांकन भएको ठाउँमा पूर्वाधार बनेमा कम्तीमा एक सयभन्दा बढी उद्योगहरू राख्न मिल्ने बताए । बुटवलमा नयाँ उद्योग स्थापना गर्ने ठाउँ अभाव भएपछि बुटवल उवासंघले मोतिपुर औद्योगिक क्षेत्रको अवधारणाअघि सारेको थियो ।

संघले करिब २ बिघा क्षेत्रमा औद्योगिक क्षेत्र बनाउनुपर्ने सरकारसँग प्रस्ताव गरेको थियो । २०७२ सालमा तत्कालीन सकरकारले सातै प्रदेशमा ठूला औद्योगिक क्षेत्र बनाउने भन्दै मोतिपुर औद्योगिक क्षेत्र बनाउने घोषणा गरेको थियो । स्थानीयले जोतभोग गरेको जग्गासमेत समेटेर ८१३ बिघा जग्गा लिमिटेडको नाममा पारिएको थियो ।

जोतभोग गरेको जग्गा औद्योगिक क्षेत्रको नाममा गएको र आफूहरूलाई विस्तापित गराउन खोजेको भन्दै स्थानीयले विरोध जनाउँदै आएका थिए । २०७७ साल फागुन २१ गते तत्कालीन अर्थमन्त्री एवं एमाले नेता विष्णु पौडेल र तत्कालीन उद्योगमन्त्री लेखराज भट्टले संयुक्त रूपमा औद्योगिक क्षेत्र शिलान्यास गरेका थिए । तर शिलान्यासलगत्तै स्थानीय विरोधमा उत्रिएका थिए ।

प्रतिक्रिया दिनुहोस्