प्रधानमन्त्री रोजगार कार्यक्रम: रोजगार पाउनै सकस
रोजगार पाउनै सकस

रोल्पा– लुंग्री गाउँपालिका–४ की विरमा सुनारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि तीन पटकसम्म फाराम भरिन्, काम पाउन सक्नेको सूचीमा सूचीकृत भए पनि उनले हालसम्म काम पाएकी छैनन् । श्रीमान् वैदेशिक रोजगारीको शिलशिलामा साउदीमा रहेका उनको परिवारमा दुई जना छोराछोरी छन् । रोजगारीमा संलग्न भएर घरखर्च जोह गर्ने उद्देश्यले फाराम भरेकी थिएँ, तर भर्नेमात्र हुन्छ हामीले रोजगारी कहिल्यै पाउँदैनौ उनले भनिन् ।
त्यस्तै सुनछहरी गाउँपालिका–३ बाहिरी गामका नरजित कामी पनि रोजगारी पाइने आशामा दुईपटक सूचीकृत भए । तर उनले पनि हालसम्म काम पाएका छैनन् । ‘अघिल्लो वर्ष बजेट नपुगेको भनेर काममा लगाएनन् यस वर्ष के गर्छन् हेरौं,’ कामीले भने । यी त प्रतिनिधिमूलक पात्रमात्र हुन् । वर्षेनी रोजगारी पाउने आशामा फाराम भर्ने तर रोजगार नपाउने धेरै मात्रामा छन् । स्थानीय सरकारको उदासिनताले गर्दा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी भएको छैन ।
बेरोजगारी समस्याले जेलिएका रोल्पाली युवा सुरुवातमा रोजगारी पाउने आशाले यो कार्यक्रमप्रति आशावादी देखिएका थिए । रोजगारीका लागि धेरैले आवेदन दिए पनि अवसर थोरै हुँदा यहाँका युवामा कार्यक्रमप्रति विश्वास घट्दै जान थालेको हो । यो कार्यक्रम रोल्पाका १० मध्ये चारवटा पालिकामा आव २०७५/०७६ मा र ६ वटा पालिकामा २०७६/०७७ मा सुरु भएको थियो । अघिल्लो सालसम्म रोजगारी पाउन ५२ हजार ५३५ जनाले नाम दर्ता गराएका थिए । तीमध्ये १० हजार ५०६ जना अर्थात् २० प्रतिशतले रोजगारी पाए ।
रोजगारीका लागि सूचीकृत भएका सबैले काम पाएका छैनन् । सुनछहरी गाउँपालिकाका अध्यक्ष धनबहादुर पुन प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि बजेट कम आउने भएकाले सूचीकृतमध्ये थोरैले मात्रै काम पाउने गरेको बताउँछन् । ‘माग धेरै र बजेट कम हुँदा कार्यक्रमलाई प्रभावकारी बनाउन सकिएको छैन,’ उनले भने, ‘हरेक वर्ष रोजगारीमा पुरानै मान्छे दोहोरिने जनगुनासो थियो, त्यसलाई हामीले कडाइ गरेका छौं ।’ राजनीतिक आस्थाकै आधारमा रोजगारी दिने र रोजगारीबाट वञ्चित गरिएको पाइए पालिकामा उजुरी गर्न सकिने अध्यक्ष पुनको भनाइ छ ।
स्थानीय सरकारको रोजगारी सिर्जना चुनावी नारामात्र
रोजगारी सिर्जना गर्ने भन्दै जिल्लाको एकमात्र नगरपालिका रोल्पा नगरपालिकाले ‘रोल्पा नगर, एक घर एक रोजगार’ को नारा अघि सार्यो । सो नारालाई कार्यान्वयन गर्न नगरपालिकाले नगरवासीलाई प्राविधिक शिक्षा अध्ययन गराउने कार्यक्रम ल्यायो । कृषि, भेटेरिनरी, इन्जिनियरिङ लगायतका विषय पढ्न उसले बितेका पाँच वर्षमा अघिल्लो आर्थिक वर्षसम्ममा ३४१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्यो ।
यसबाट सिभिल इन्जिनियरिङतर्फ २२५ जना, पशु विज्ञानतर्फ ५० जना, बालि विज्ञानतर्फ ३५ जना, सूचना प्रविधितर्फ २८ जना, स्टाफ नर्सतर्फ दुई जना र वन विज्ञानतर्फ एक जनाले लाभ पाए । यसका लागि उसले दुई करोड २० लाख रुपैयाँ लगानी गर्यो । अघिल्लो आर्थिक वर्षसम्म ४६ जना दिक्षित भइसकेका भए पनि रोजगार पाउने निकै कम छन् ।
‘हामीले पढाएकामध्ये कति रोजगारीमा छन् भनेर हेरेका छैनौ, थोरैले मात्र काम पाएका होलान्,’ रोल्पा नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख कर्णबहादुर पुनले भने । रोल्पा नगरपालिकाबाहेक जिल्लामा अन्य पालिकाले रोजगारी सिर्जना गर्ने गरी ठोस कार्यक्रम अघि सार्न सकेका छैनन् । रोजगारी नहुँदा जीविकोपार्जनका लागि भारत तथा खाडी मुलुक जाने युवायुवतीको चाप बढ्दै जान थालेको छ ।
कृषि र पशुक्षेत्रको व्यवसायीकरणमार्फत रोजगारी सिर्जना गर्ने काम थालेको भए पनि यसले अपेक्षाकृत सफलता पाउन नसकेको लुंग्री गाउँपालिका अध्यक्ष भरतकुमार थापाले बताए । ‘रोजगारी सिर्जना गर्नका लागि कृषि र पशु क्षेत्रमा लगानी बढाइरहेका छांै, परिणाम भने देखिन बाँकी छ,’ अध्यक्ष थापाले भने । गाउँमा रोजगारी सिर्जना नहुँदा वैदेशिक रोजगारीमा जानेको संख्या घटाउन नसकिएको थापाले बताए ।
नागरिकलाई देशमै स्वरोजगार बनाउन पालिकाले विभिन्न उत्पादनमूलक कार्यक्रमलाई जोड दिएको, प्रत्येक वडाले कृषि क्षेत्रलाई प्राथमिकता दिएर काम गरेको सुनिलस्मृति गाउँपालिका अध्यक्ष मणिराम बुढाथोकीको दाबी छ । बुढाथोकीले दाबी गरेजस्तो उत्पादनमा युवाको आकर्षण भने देखिँदैन । व्यावसायिक कृषिमा संलग्न एकाध युवा पनि उत्पादित वस्तुले उचित बजार नपाउँदा निरास भएर विदेशिने गरेका छन् ।