Logo

बैंकको औषत आधार दर ६.४८

काठमाडौं– पछिल्ला दिनमा वाणिज्य बैंकहरुको आधार दर निरन्तर ओरालो लागेको छ । पछिल्लो एक महिनामै वाणिज्य बैंकहरुको औसत आधार दर ०.१४ प्रतिशत विन्दुले घटेको छ ।

आधारदर झरेपछि बैंकहरूको ब्याजदर पनि घट्दै जाँदा कर्जा लिन झनै सहज हुँदै गएको छ । अर्थतन्त्रमा आएको सुस्तताका कारण कर्जाको माग बढ्न नसकेको समयमा बैंकहरूको आधार दर (बेस रेट) निरन्तर घट्दै गएको हो । यही कारण ब्याजदर पनि क्रमशः कम हुँदै आएको छ । ब्याजदरको प्रमुख निर्धारक आधार दर हो ।

तथ्यांकअनुसार पछिल्लो एक महिनामै २० वाणिज्य बैंकको औसत आधार दर ०.१४ प्रतिशत बिन्दुले घटेको छ । चैत महिनाको लागि बैंकहरुको औसत आधार दर ६.४८ प्रतिशत निर्धारण भएको छ । फागुनमा औसत आधार दर ६.६२ प्रतिशत थियो । अहिले ४ बैंकको आधार दर ६ प्रतिशतभन्दा कम छ । सबैभन्दा कम आधार दर स्ट्याण्डर्ड चार्टर्ड बैंकको ५.०३ प्रतिशत छ ।

त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकको आधार दर ५.२८ प्रतिशत र एभरेष्टको ५.४६ प्रतिशत र नेपाल बैंकको ५.९६ प्रतिशत छ । १४ बैंकको आधार दर ७ प्रतिशतभन्दा कम छ । सबैभन्दा धेरै बेस रेट हुनेमा एनआइसी एसिया बैंक रहेको छ । यसको यस्तो रेट ७.४१ प्रतिशत छ ।

यस्तै, प्राइम कमर्सियल बैंकको औसत आधार दर ७ प्रतिशत रहँदा लक्ष्मी सनराइजको ६.९३ प्रतिशत, कुमारीको ६. ९९ प्रतिशत, प्रभु बैंकको ६.९३ प्रतिशत छ ।
नेपाल एसबिआई बैंकको आधार दर ६.८५ प्रतिशत हुँदा हिमालयनको ६.७७ प्रतिशत, सिद्धार्थको ६.६९ प्रतिशत, माछापुच्छ«ेको ६.६८ प्रतिशत छ ।

यस्तै, सानिमा बैंकको आधार दर चैत महिनामा ६.६ प्रतिशत हुँदा एनएमबी बैंकको ६.५९ प्रतिशत, ग्लोबल आइएमईको ६.५६ प्रतिशत, कृषि विकासको ६.५२ प्रतिशत, नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ६ प्रतिशत र नबिल बैंकको ६.०५ प्रतिशत छ ।

चैत महिनामा नेपाल बैंकसहित चार बैंकको आधार दर ६ प्रतिशतभन्दा कम छ । जसअनुसार नेपाल बैंकको आधार दर ५.९६ प्रतिशत रहँदा एभरेष्ट बैंकको ५.४६ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ५.२८ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकको ५.०३ प्रतिशत छ ।

बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलताको अवस्था आएसँगै बैंकहरुले धमाधम निक्षेपको ब्याजदर घटाउँदै आएका छन् । निक्षेपको ब्याजदर घटेसँगै बैंकहरुको आधार दर पनि तल झर्दै आएको हो । आधार दरमा निश्चित प्रतिशत प्रिमियम थप गरेर कर्जाको ब्याजदर निर्धारण हुने गर्छ । तसर्थ, आधार दर घट्दा कर्जाको ब्याजदर पनि घट्ने गर्छ ।

पछिल्लो ८ महिनाको तथ्यांकअनुसार वाणिज्य बैंकहरुको कर्जा प्रवाह विस्तारै बढ्न थालेको देखिन्छ । नेपाल बैंकर्स संघको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१–८२ को साउनदेखि फागुन मसान्तसम्ममा बैंकहरुको कर्जा प्रवाह ६.१२ प्रतिशतले बढेर ४८ खर्ब ५० अर्ब रुपैयाँ पुगेको छ । गत असार मसान्तसम्म वाणिज्य बैंकहरुले ४५ खर्ब ७० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

यता, चालु आर्थिक वर्षको ८ महिनामा निक्षेप संकलन ४.९० प्रतिशतले बढेर ६० खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ । असार मसान्तसम्म वाणिज्य बैंकहरुले ५७ खर्ब ५४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । जसअनुसार पछिल्लो ८ महिनामा निक्षेप संकलन २ अर्ब ८२ करोड र कर्जा लगानी २ खर्ब ७९ अर्ब रुपैयाँले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्